प्रहरी पोसाक लगाएर सामाजिक सञ्जालमा भिडियो राख्ने १२० सशस्त्र प्रहरीमाथि कारबाही

काठमाडौँ : निर्देशन विपरीत टिकटक लगायतका सामाजिक सञ्जालमा सङ्गठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो राखेको भन्दै सशस्त्र प्रहरी बलले एक सय २० जना कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ।
बलका अनुसार चार प्रहरी नायब निरीक्षक, पाँच सहायक निरीक्षक, छ वरिष्ठ हवल्दार, तीन हवल्दार, नौ सहायक हवल्दार, ९१ जवान र दुई परिचरलाई कारबाही गरेको हो। उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए।
सङ्गठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको न्यौपानेले जानकारी दिए। सशस्त्र प्रहरी बलले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशनसमेत दिएको छ।
फागुन ६, २०८१ मंगलबार १८:२३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।