सशस्त्र प्रहरी अस्पतालको खरिदमा बदमासी : साढे १९ लाखको उपकरण खरिदमा मिलेमतो, टेन्डर स्पेशिफिकेशनमा कम्पनीको क्याटलग
काठमाडौँ : सशस्त्र प्रहरी बल अन्तर्गतको सशस्त्र प्रहरी अस्पतालले निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरी साढे १९ लाखको खरिद प्रक्रिया अगाडि बढाएको खुलेको छ।
सशस्त्र प्रहरी अस्पताल खरिद शाखाले मंसिर ९ मा १९ लाख ६० हजार रुपैयाँमा एक सेट ‘स्किन–सिओटु लेजर’ मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो। तर सो टेन्डर स्वतन्त्र प्रतिस्पर्धा गराउने गरी ननिकाली स्पेशिफिकेशन नै लक्ड गर्दै चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढाएको उकेराको खोजमा खुलेको छ।
‘स्किन–सिओटु लेजर’को टेन्डरका लागि एपिएफ अस्पतालले बनाएको स्पेशिफिकेशनका प्राविधिक मापदण्डहरू दक्षिण कोरियाको मेसिन उत्पादक कम्पनी आइडीएस लिमिटेडको ‘स्म्याक्सेल’ मोडलको मेसिनको क्याटलगमा रहेको मापदण्डसँग ठ्याक्कै मिलेको छ। यसले एपिएफका अधिकारीहरूले आइडीएसको नेपाली सप्लायर्सलाई सो टेन्डर दिनेगरी मिलेमतोमा प्रक्रिया अगाडि बढाएको देखियो।
यो टेन्डरमा कोरियन कम्पनी आइडीएसको ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगसँग मिल्ने गरी स्पेशिफिकेशन बनाएकाले उसैको नेपाली एजेन्टले पाउने करिब निश्चित नै देखिन्छ।
स्किन–सिओटु लेजर’को टेन्डरको प्राविधिक स्पेशिफिकेशन स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखामा लामो समय करारमा काम गरेकी मिलेमतोमा बदनाम बायोमेडिकल इन्जिनियर पद्यमा मिश्राले बनाएको पुष्टि भएको छ।
सशस्त्र प्रहरी अस्पतालकी प्रवक्ता एसएसपी डा. मिना कुँवर जोशीले स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्राले नै ‘स्किन–सिओटु लेजर’ मेसिनको प्राविधिक स्पेशिफिकेशन बनाएको पुष्टि गरिन्। विभागमा बायोमेडिकल इन्जिनियर पठाइदिन अनुरोध गर्दै पत्र लेखेपछि विभागले मिश्रालाई पठाइदिएको र उनले नै स्पेशिफिकेशन बनाएको उनले बताइन्।
सशस्त्र प्रहरी अस्पतालकी बायोमेडिकल इन्जिनियर डिना केसी अध्ययनका लागि विदेश गएकी छन्। त्यसैले अस्पतालले विभागसँग बायोमेडिकल इन्जिनियर मागेको थियो।
‘स्वास्थ्य सेवा विभागलाई एक जना (बायोमेडिकल इन्जिनियर) खटाइ पठाउनु भनेर, सरकारी नै उहाँ (पद्यमा मिश्रा) बायोमेडिकल इन्जिनियर हो,’सशस्त्र अस्पतालकी प्रवक्ता डा. एसएसपी डा. कुँवर जोशीले भनिन्,‘स्किन–सिओटु लेजरको स्पेशिफिकेशन स्वास्थ्य सेवा विभागबाट खटी आउनु भएकी बायोमेडिकल इन्जिनियरले बनाउनु भएको हो। हेर्नचाहिँ (अस्पताल) प्रमुख ज्यूले, उपप्रमुख, प्रकुमेन्ट सबैले हेर्छौँ।’
‘स्किन–सिओटु लेजर’ छालाजन्य समस्या भएको अवस्थामा लेजर प्रविधिबाट उपचार गरिने एक किसिमको प्रविधि (मेसिन) हो। सशस्त्र प्रहरी अस्पतालका प्रमुख डिआइजी डा. रूपक महर्जन छाला रोग विभागका प्रमुख समेत छन्।
उनी विभागीय प्रमुखसँगै अस्पताल प्रमुख समेत भएकाले ‘स्किन–सिओटु लेजर’को खरिदमा डा. महर्जनको समेत प्रत्यक्ष भूमिका हुन्छ नै। सुरक्षा निकायको अस्पतालको टेन्डर पनि किन लक्ड गरेर मिलेमतो गरेको ? यसबारे बुझ्न डा. महर्जनसँग पटक पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आएनन्।
महर्जन यस अगाडि पनि अस्पतालको खरिदमा विवादमा तानिँदै आएका चिकित्सक हुन्। उनी डिएसपी तहदेखि नै अस्पतालमा छन्। उनी अहिले डिआइजी र अस्पताल प्रमुख हुन्।
बुँदा बुँदामा लक्ड गरेर सेटिङ
सशस्त्र अस्पतालले टेन्डर आह्वान गरेको ‘स्किन–सिओटु लेजर’को ठेक्का (आइएफबी) नम्बर ‘एपीएफएच-एनसीबी-जी-०३-२०८१-०८२-००६’ हो।
सशस्त्र अस्पतालमा खरिद प्रक्रियामा रहेको ‘स्किन-सिओटु लेजर’को टेन्डरको प्राविधिक स्पेशिफिकेशनका मुख्य बुँदाहरू हेर्दा दक्षिण कोरियन कम्पनी आइडीएसको ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै कपिपेष्ट गरिएको छ।
सशस्त्र प्रहरी अस्पतालको खरिद प्रक्रियामा रहेको ‘स्किन-सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३’ मा राखिएको बुँदा हेर्दा दक्षिण कोरियन कम्पनी ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै कपिपेष्ट गरेर स्पेशिफिकेशन लक्ड गरेको प्रस्टै देखियो।
प्राविधिक स्पेशिफिकेशनको ‘३.२’ मा ‘कन्टिन्युस वेभ’ लेखिएको छ भने ‘३.३’ मा ‘नर्मल पल्स’ लेखिएको छ। त्यसैगरी ‘स्किन–सिओटु लेजर’ को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.४’ मा ‘सुपर पल्स’, ‘३.५’मा ‘सुपर पल्स कन्टिन्युस’, ‘३.६’मा ‘अल्ट्रा पल्स मोड’ र ‘३.७’ मा ‘स्मार्ट प्रोटोकल–जनरल सर्जरी’ उल्लेख छ।
सशस्त्र प्रहरी अस्पतालको खरिद प्रक्रियामा रहेको ‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनका यी दुवै बुँदा ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै सर्लक्कै कपिपेष्ट गरेर स्पेशिफिकेशन लक्ड गरिएको देखिन्छ। प्रविधि स्पेशिफिकेशनका बुँदा नै लक्ड गरिएकाले उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिने रणनीति अनुसार नै सशस्त्र प्रहरी अस्पतालको यो टेन्डर प्रक्रिया अगाडी बढेको प्रस्टै देखिन्छ।
सशस्त्र प्रहरी अस्पतालको खरिद प्रक्रियामा रहेको ‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४’मा भएका सबैजसो बुँदाहरू पनि ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको मेसिनको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै कपिपेष्ट गरेर स्पेशिफिकेशन लक्ड गरिएको छ।
‘स्किन–सिओटु लेजर’को ‘४.२’मा ‘इन अल्ट्रा पल्सः एटलिष्ट अप टु ९००माइक्रोसेकेन्ड’ उल्लेख छ भने ‘४.४’मा ‘सुपर पल्सः एटलिष्ट ५ मिलि सेकेन्ड टु २० मिलि सेकेन्ड अर बेटर’ लेखिएको छ। यी दुवै बुँदा ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको क्याटलगबाटै कपिपेष्ट गरेर लक्ड गरिएको छ।
त्यसैगरी ‘स्किन-सिओटु लेजर’ को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.५’मा ‘सर्जिकल मोड दी रिपिट टाइम-अफ, २ मिलि सेकेन्ड-५०० मिलि सेकेन्ड एडजस्टेबल, ५ मिलि सेकेन्ड टु ५०० मिलि सेकेन्ड’ उल्लेख छ। यो बुँदा पनि ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएको बुँदा नै कपिपेष्ट गरेर लक्ड गरिएको छ।
‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको ‘४.७’मा ‘हेड पिस–१ युनिट अफ ५० एमएम’ उल्लेख छ। त्यसैगरी बुँदा नम्बर ‘४.८’ मा ‘हेड पिस–१ युनिट अफ १०० एमएम’ उल्लेख छ भने ‘४.९’ मा ‘फ्राक्शनल हेड पिस (गाल्भानिक हेड पिस-स्क्यानर)-१ युनिट’ उल्लेख छ। यी दुवै बुँदा ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।
‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.७’, ‘४.८’, ‘४.९’मा भएका तीन वटै बुँदा ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ।
त्यसैगरी अस्पतालको खरिद प्रक्रियामा रहेको ‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको ‘५’, ‘५.१’, ‘५.२’, ‘५.४’, ‘५.५’, ‘५.६’लगायत अधिकांश बुँदा लक्ड गरिएको छ। उदाहरणका रूपमा ‘स्किन–सिओटु लेजर’को प्राविधिक स्पेशिफिकेशनको ‘५.४’मा ‘बिम साइज: मिनिमम २ ×२एमएम–अप टु २०×२०एमएम’ छ भने बुँदा नम्बर ‘५.५’मा ‘डेफ्त लेभल सुड बी अचिभ्ड इन :१-५ स्टेप’ र बुँदा नम्बर ‘५.६’ मा ‘रिपिट टायम–अफ, ०.५, १.५, २, २.५ मिलि सेकेन्ड’ उल्लेख छ। प्राविधिक स्पेशिफिकेशनको यी बुँदा लाजै मर्दो गरी ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै कपिपेष्ट गरेर स्पेशिफिकेशन लक्ड गरिएको छ।
यी त केही उदाहरण मात्रै हुन्। सशस्त्र प्रहरी अस्पतालको खरिद प्रक्रियामा रहेको ‘स्किन-सिओटु लेजर’ मेसिनको प्राविधिक स्पेशिफिकेशनको अन्य विभिन्न बुँदाहरू आइडीएसको ‘स्म्याक्सेल’ मोडलको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै कपिपेष्ट गरेर उसैको नेपाली सप्लायर्सलाई टेन्डर दिनेगरी लक्ड गरिएको प्रस्टै देखिएको छ।
यो मात्रै हैन, सशस्त्र प्रहरी अस्पतालले मेसिन, औजार तथा स्वास्थ्य सामग्री खरिदका लागि मंसिर ९ गते गरेको अन्य टेन्डर पनि शङ्कारहित भने छैनन्।
सशस्त्र प्रहरी अस्पतालले ‘स्किन–सिओटु लेजर’ खरिदका लागि मंसिर २४ गतेलाई प्रिबिड मिटिङ तोकिएको थियो। प्रि–बिड मिटिङपछि सप्लायर्स कम्पनीले चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। तर, यो टेन्डर भने सेटिङ अनुसार नै अगाडि बढेको देखियो।
टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस ९ गतेलाई तोकियो भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकियो। यो टेन्डरका लागि सप्लायर्स कम्पनीले टेन्डर समेत प्रस्ताव गरिसकेको देखिन्छ। टेन्डर प्रस्ताव गरिसकेपछि प्राविधिक र आर्थिक मूल्याङ्कन हुन्छ।
प्राविधिक मूल्याङ्कनमा छनोट भएपछि मात्रै आर्थिक मूल्याङ्कनको चरणमा जान्छ। प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएका सप्लायर्स कम्पनीले टेन्डर पाउँछन्। सशस्त्र प्रहरी अस्पतालका एक कर्मचारीले ‘स्किन–सिओटु लेजर’ मेसिनको प्राविधिक मूल्याङ्कनकै चरणमा रहेको जानकारी दिए। ‘मूल्याङ्कन कै प्रक्रियामा छ। टु इन्भेलाभ सिस्टमको हो,’स्रोतले भन्यो,‘प्राविधिक (मूल्याङ्कनको) पक्षमा नै छ। त्यही चरणमा छ। दुई वटा (सप्लायर्स)ले टेन्डर हाल्नु भएको छ। ’
तर, यो टेन्डरको सवालमा भने प्राविधिक स्पेशिफिकेशन नै मेसिन उत्पादक कम्पनी ‘आइडीएस को डट लिमिटेड’को ‘स्म्याक्सेल’सँग मात्रै मिल्नेगरी बनाइएकाले उसैको नेपाली सप्लायर्सलाई टेन्डर पर्ने निश्चित नै छ।
पुष २६, २०८१ शुक्रबार २१:५२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।