‘युवा आइकन’ पारसको ‘जुवा आइकन’ यात्रा, एनपिएलमा जुवाको प्रचारमा नियामकको निष्क्रियतामा विज्ञ छक्क
काठमाडौँ : नेपाल प्रिमियर लिग(एनपिएल) का खेलमा आधारित रहेर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलिले मंसिर १७ मा त्रिवि क्रिकेट मैदानबाटै दुई भारतीय नागरिक पक्राउ गर्यो।
पक्राउ परेका सुनिल घोष र अनित यादव एनपिएलको खेलमा आधारित रहेर मैदानबाटै अनलाइन जुवा खेलाउन १ महिना अघिदेखि भारतबाट काठमाडौँ आएर बसेको ब्युरोको दाबी थियो। ब्युरोका प्रमुख एआइजी दीपक थापाका अनुसार अनुसन्धानबाट उनीहरूको खाताबाट ८ करोड बराबरको जुवाको कारोबार भएको तथ्य समेत फेला परेको थियो।
यसरी नै त्रिवि क्रिकेट मैदानबाट अनलाइन जुवा खेलाइरहेको आरोपमा ९ जना पक्राउ परिसकेका छन्।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको अनलाइन जुवा खेलाएको र सट्टेबाज गराएको आरोपमा ३ वर्षभित्र देशका विभिन्न जिल्लाबाट १ सय ६३ जना एजेन्ट पक्राउ गरिसकेको देखिन्छ। तीमध्ये ५३ जना विरुद्ध अदालतमा मुद्दा समेत पुगिसकेको प्रहरीको तथ्याङ्कले देखाउँछ।
आर्थिक वर्ष २०७८/०७९ मा अनलाइन जुवा खेलाएको भन्दै प्रहरीले २२ जनालाई पक्राउ गरेको थियो। तीमध्ये ७ जना विरुद्ध मुद्दा चल्यो। त्यसपछिका वर्षहरूमा अनलाइन मार्फत जुवा खेलाउने युवाको सङ्ख्या बढ्दै गयो।
आर्थिक वर्ष २०७९/०८० मा ५० जनालाई प्रहरीले समायो भने २० जनाविरुद्ध मुद्दा चलायो। त्यस्तै, आर्थिक वर्ष २०८०-०८१ को साउनसम्म आइपुग्दा ९१ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्यो। यीमध्ये २६ जनाविरुद्ध मुद्दा चल्यो। यी सबैमाथि नेपालमा अनलाइन मार्फत जुवा खेलाउने एजेन्टको काम गरेको आरोप रहेको देखिन्छ।
एनपिएलको मैदानमा पक्राउ परेकाको सङ्ख्याले प्रहरी अहिले पनि खेलमा आधारित अनलाइन जुवा रोक्न सक्रिय देखिन्छ। तर त्यही मैदानमा आयोजक क्रिकेट एसोसिएसन अफ नेपालले भने अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन राखेर जुवाको प्रचार प्रसार गरिरहेको छ।
वुल्फत्रिपलसेभेनसहितका तीन कम्पनीका सरोगेट विज्ञापन एनपिएलको मैदान र तीन वटा फ्रेन्चाइज टिमको जर्सीमा देखिन्छ।
एनपिएलको मैदानमा जुवाको प्रचार भएको भन्दै त्यसलाई रोक्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पुग्यो। परिषद्ले क्यानलाई स्पष्टीकरण पत्र पठायो। तर एनपिएलको अवधि आधा सकिँदासम्म विज्ञापन उस्तै छ। मैदानबाट हटेको छैन।
कोरोनासँगै फैलिएको जुवाको प्रकोप
क्रिकेट, फुटबलको विश्वकपदेखि राष्ट्रिय लिगसम्ममा अनलाइनको माध्यमबाट जुवा खेलाउनेक्रम सुरु भयो। केही देशहरूमा खेलमा आधारित यस्तो जुवा र सट्टा वैध पनि छ।
माल्टा, स्विडेन, फिनल्यान्ड, बेलायत, क्यानडा, अमेरिका र जर्मनी लगायतका देशमा अनलाइन जुवा वैध छन्। वैध भएका देशहरूले यसको नियमनका लागि निश्चित विधि र कानुन बनाएका त्यस्ता देशहरूमा अनलाइन जुवा र सट्टा खेलाउने कम्पनीहरू सार्वजनिक प्रचारमै सहभागी हुन्छन्।
विभिन्न लिगहरूमा उनीहरू प्रायोजक बन्छन् र आफ्नो कम्पनीको प्रचार गर्छन्।
रिसर्चगेटले गरेको एक अध्ययन अनुसार कोरोना महामारीको समयमा जब विश्वका अधिकांश देशमा सार्वजनिक रूपमा हिँडडुल गर्न रोक लाग्यो अनि लामो समय घरमै बस्नुपर्यो त्यो बेलामा एकाएक अनलाइन जुवा खेल्ने क्रम बढ्यो। यही व्यक्तिहरू घरबाहिर निस्कन नपाएको मौका छोपेर अनलाइन जुवा खेलाउने वेबसाइट र एपहरूले आफ्नो प्रचारलाई आक्रामक बनाए। उनीहरूले महामारीको समयमा खेल सम्बन्धी गतिविधि हुने साइटहरू, सामाजिक सञ्जाल लगायतका माध्यमबाट जुवाको प्रचार गरे र प्रयोगकर्ताहरू समेत बढाए।
कोरोना महामारी कम भएसँगै जब सार्वजनिक चहलपहल खुल्ला भयो उनीहरूले आफ्नो प्रचारलाई थप आक्रामक बनाउँदै खेलकुद सम्बन्धी प्रतियोगिता, लाइभ ब्रोडकास्टिङ लगायतकामाध्यमबाट आफ्नो प्रचारलाई तीव्र बनाए।
अवैध देशमा छद्म कम्पनीको प्रयोग
तर खेलका समर्थक रहेका तर कानुनी रूपमा अनलाइन जुवा र सट्टा गराउन प्रतिबन्ध रहेका भारत, पाकिस्तान अनि नेपाल लगायतका केही देशहरूमा अनलाइन जुवा खेलाउनेहरूले सिधै प्रचार गर्न सकेनन्।
उनीहरूले प्रारम्भमा सामाजिक सञ्जालमार्फत यस्ता देशमा आफ्नो कम्पनीको प्रचार बढाए। सामाजिक सञ्जाल लगायतकाबाट भएका प्रचारले जुवा खेल्नेहरूको सङ्ख्या नबढेपछि उनीहरू अनलाइन जुवा खेलाउन नपाउने देशहरूमा उस्तै नाम र लोगोको प्रयोग गर्दै प्राय खेल सम्बन्धी मिडियाको आवरणमा प्रचारमा उत्रिए। उनीहरूले भारत, पाकिस्तान अनि नेपाल जस्ता देशमा हुने राष्ट्रिय अनि अन्तर्राष्ट्रिय मात्र हैन, खेलसम्बन्धी घरेलु प्रतियोगितामा समेत कतै मिडिया पाट्नर त कतै स्पन्सर भएर छिरे। त्यही क्रममा उनीहरू नेपालमा समेत भित्रिए।
घरेलु प्रतियोगितामा समेत जुवाको प्रचार
नेपालमा अन्तर्राष्ट्रिय अनि राष्ट्रिय प्रतियोगिताका सङ्ख्या बढेसँगै खेल केन्द्रित अनलाइन जुवा खेलाउने र सट्टाबाजी गराउन खुलेका वानएक्सबेट, डाफाबेटसँगै अन्य अनलाइन जुवा खेलाउने र सट्टा गराउने कम्पनीका स्थानीय प्रतिनिधिहरू नेपालमा सक्रिय भए।
अन्तर्राष्ट्रियदेखि घरेलु प्रतियोगिताहरूमा समेत उनीहरूको प्रचार देखियो। क्रिकेटसम्बन्धी समाचार पोर्टलको आवरणमा वानएक्सब्याट र वानएक्सन्युजको नाममा जुवाको खेलाउने वानएक्सबेटको प्रचार गरे। डाफाबेट नेपाल लगायतका अनलाइन जुवा प्रतिबन्धित रहेको भारत र पाकिस्तानमा डाफान्युजको आवरणमा प्रचारमा उत्रियो।
नेपालमा अनलाइन जुवाको बजार राम्रो देखेपछि अहिले एनपिएलमार्फत वुल्फत्रिपलसेभेनले वुल्फत्रिपलसेभेनन्युजको आवरणमा खेलको जुवाको प्रचार गरिरहेको छ। योसँगै अहिले एनपिएलमा ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’ र ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’ को प्रचार भइरहेको छ।
घरेलु लिगमा बढ्दो जुवाको प्रभाव
नेपालमा जुवा प्रतिबन्धित भए पनि यसको प्रचार भित्र्याउन फुटबल सम्बन्धी संस्था एन्फा र क्रिकेट सम्बन्धी संस्था क्यानकै पदाधिकारी सक्रिय देखिन्छन्।
केही सदस्य राष्ट्रमा खुल्ला अनि केहीमा प्रतिबन्ध भएकाले फिफा हुन् या आइसिसी जस्ता खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूले खेलको माध्यमबाट हुने जुवाको प्रचारलाई प्रतिबन्ध लगाएका छैनन्।
खेल सम्बन्धी अन्तर्राष्ट्रिय नीति बाहेक प्रतियोगिता जुन देशमा हुने हो त्यसबारेको कानुन त्यही देशको लागु हुने भएकाले अनलाइन जुवा खुल्ला भएका देशमा हुने प्रतियोगितामा यस्ता प्रतियोगितामा अनलाइन बेटिङ गराउने कम्पनी प्रायोजक र मिडिया पाट्नरका रूपमा आउनु वैध नै भयो। तर नेपाल लगायतका देश जहाँ यस्ता गतिविधि कानुनले प्रतिबन्ध लगाएको छ त्यसमा भने उनीहरू मूल कम्पनीको ब्रान्ड नबोकी भिन्न उद्देश्य देखाएर सरोगेट कम्पनीबाट भित्रिए।
एन्फा र क्यानको प्रतियोगितास्थलमा मुख्य त वानएक्सबेट र डाफाबेटको सरोगेट ब्रान्डको प्रचार सुरु भयो। क्यान र एन्फाका पदाधिकारीले यो त समाचारबारेको साइट भनेर झुक्क्याए। नियमनकारी निकाय मौन बस्यो।
अनि स्थानीय प्रतियोगितामा पनि यिनीहरूको प्रवेश भयो। गत वर्ष मंसिर ८ देखी दशरथ रङ्गशालामा सञ्चालन भएको नेपाल सुपर लिगको दोस्रो संस्करणमा अन्तर्राष्ट्रिय मिडिया पार्टनरको रूपमा वानएक्सबेटको सरोगेट कम्पनी वाएनक्सन्यूज ल्यायो।
यसबारे उकेराले समाचार प्रकाशित गरेपछि आयोजकले वानएक्सन्युजको प्रचार सामाग्री हटाए। लिगको लाइभ गर्ने टेलिभिजनबाट समेत यसको प्रचार भइरहेको छ। उकेराको समाचारपछि टेलिभिजनमा पनि रोकियो।
२०८० माघ ५ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको दोस्रो संस्करणको नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा डाफाबेटको सरोगेट कम्पनी डाफान्यूजको प्रचार सामाग्री देखियो। क्यानको अनुमतिमा भएको उक्त प्रतियोगितामा प्रतियोगिताभर डाफान्युजबाट जुवा खेलाउने कम्पनी डाफाबेटको प्रचार गरियो। यसबारे नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि वास्ता गरेन। जुवाको प्रचार रोक्न प्रहरी पनि सक्रिय भएन।
अब अहिले त एनपिएलमा टीयू क्रिकेट मैदानमै क्यानले नै वुल्फत्रिपलसेभेनन्युजको आवरणमा अनलाइन जुवा खेलाउने कम्पनी वुल्फत्रिपलसेभेनको प्रचार गरिरहेको छ।
सट्टा र म्याचफिक्स गराउन लिग नै आयोजना
यस्ता कम्पनीले आर्थिक फाइदाका लागि खेललाई कतिसम्म दुरुपयोग गर्छन् त्यसको उदाहरण हो, २०७९ पुस ९ गतेदेखि २७सम्म त्रिवि क्रिकेट मैदानमै क्यानसहितको सहभागितामा भएको नेपाल टी–२० लिग।
यसको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले लिएको थियो। यो कम्पनी खेलको बिचमै भाग्यो, कारण थियो स्पट फिक्सिङ्ग।
खेलको आयोजकले नै स्पट फिक्सिङ गराउन खोजेको खुलेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गर्यो।
कलाकारदेखि खेलाडीसम्म बेटिङ्गमा
२०८० पुस १९ मा नेपाल टी २० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले आफ्नो फेसबुकमा मार्फत खेलमा स्पट फिक्सिङ भएको दाबीसहित भिडियो सार्वजनिक गरे।
त्यस लगतै सीआईबीले प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थाल्यो। सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी स्पट फिक्सिङ्गमा सहभागी भएको निष्कर्ष निकाल्यो।
२०७९ माघ ९ गते मेहबुब आलम र आदिल अन्सारीलाई ब्युरोले पक्राउ गर्यो। त्यस्तै, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध सीआईबीको अनुसन्धानको आधारमा मुद्दा नै दायर भयो। नवीन र रवि फरार भए।
निकै विवादास्पद नेपाल टी–२० लिगमा नवीन काठमाडौँ किंग्सका मालिक थिए। नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोटर्सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई प्रतियोगिताको बिचैबाट भारत फरार भए।
आलमले जतिनलाई अन्य खेलाडीहरूसँग पनि सम्पर्क गर्न सहयोग गरेको प्रहरी अनुसन्धानमा देखियो। सट्टेबाजी (बेटिङ) बाट असुली गर्ने उद्देश्यले यो खेल मिलेमतोको प्रयास भएको थियो तर सबैतिर कुरा फैलिएपछि स्पट फिक्सिङ मात्रै सम्भव भयो।
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु स्पष्ट फिक्सिङ हो।
खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरूलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नै स्पट फिक्सिङ्गको खुलासा गरेका थिए। त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एन्टी करप्सन युनिटलाई जानकारी दिएको थियो।
त्यस्तै, २०८० जेठ ३२ मा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जुवा खेलाउने कम्पनीको प्रोमोकोड राखेर प्रचार गरेको भन्दै कलाकार लगायतलाई पक्राउ गर्यो। जसमा कलाकारहरू बल्छी धुर्बे, राजु मास्टर, जलन घर्तिमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पक्राउ गरेको थियो।
सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाइ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको थियो। यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार थिए। उनीहरूले युट्युब र टेलिभिजनमा वानएक्सबेटको प्रोमोकोडको प्रचार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
२०८० असार २७ मा काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई धरौटीमा छोड्न आदेश दिएको थियो। त्यसपछि भने केही कलाकारहरूले अनलाइन जुवा खेलाउने कम्पनीको प्रचार रोकिएको थियो। अहिले यसलाई क्यान आफैँ लागेर प्रचार खुला गरायो।
पहिला चतुर हतियार अहिले पारस
नेपाल टी–२० लिगमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनरको आवरणमा सेभेन थ्री स्पोटर्स भित्र्याएका थिए।
एनपिएलमा नेपाल क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का आफैँ जोडिए। उनले ब्रान्ड लजिकको आवरणमा वुल्फत्रिपलसेभेनलाई एनपिएलमा भित्र्याए।
खेलको मैदानबाट जुवाको प्रचार सामाग्री हटाउन प्रहरीले पारससँग पटक-पटक आग्रह गरिसकेको छ। तर उनी अनेक बहाना बनाएर विज्ञापन राखिनै रहेका छन्। प्रारम्भमा वुल्फत्रिपलसेभेनन्युजमा एनपिएलको कुनै समाचार प्रकाशन भएको थिएन।
एनपिएलको उद्घाटनको समाचार समेत थिएन। वुल्फत्रिपलसेभेनन्युजको आवरणमा वुल्फत्रिपलसेभेनको प्रचार भएको सार्वजनिक भएसँगै अहिले उसले लिगको समाचार राख्न थालेको छ। उता वुल्फत्रिपलसेभेनले एनपिएलका खेलमा आधारित जुवा पनि खेलाइरहेको छ।
खेलमा यस्ता सरोगेट कम्पनीले पार्ने प्रभावबारे जानकार रहेका पारस अनि क्यानका पदाधिकारी वुल्फत्रिपलसेभेनन्युज अनलाइन जुवा खेलाउने वुल्फत्रिपलसेभेनको सरोगेट कम्पनी भए पनि क्यानको उद्देश्य जुवा खेलाउने नभएको कुतर्क गरिरहेका छन्
निरीह प्रहरी, उत्साहित प्रचारक
एनपिएलको मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको प्रचारबारे उकेराले एनपिएलको उद्घाटन हुनु अघिल्लो दिन समाचार प्रकाशित गरेको थियो।
प्रहरी प्रवक्ता दानबहादुर कार्कीले मंसिर १९ गते उकेरासँग प्रहरीले अनुगमन गर्दा एनपिएलको खेल मैदानमा अनलाइन जुवाको प्रचार भएको देखिएपछि गृह मन्त्रालयमा पत्र पठाएको बताएका थिए। पत्र पठाएको एक साता बित्दासम्म प्रहरी थप सक्रिय देखिएको छैन।
मंसिर २३ गते आइतबार राष्ट्रिय खेलकुद परिषद्ले क्यानलाई एनपिएलको मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनीको प्रचार गरेकोबारे पत्र पठाएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पत्र पाएको र सो पत्र सचिव पारस खड्कालाई पठाएको बताएका थिए।
तर शुक्रवार एनपिएलको खेल हुँदा समेत टियू क्रिकेट मैदानमा अनलाइन जुवाको प्रचार कायम छ। क्यानले नै एनपिएलमा जुवा खेलाउने कम्पनी भित्र्याएपछि निष्क्रिय रहेका यूट्यवुर र कलाकार पुन प्रोमोकोड राखेर वानएक्सबेटको प्रचारमा सक्रिय भइसकेका छन्।
कमेडियन तथा रोस्टर सजन महर्जनले वानएक्सबेटको सरोगेट कम्पनीको आवरणमा एनपिएलमा आधारित रोस्ट भिडियो बनाएर आफ्नो युट्युब च्यानलबाट जुवाको प्रचार गरिरहेका छन्। प्रहरी नदेखेझैँ बसिरहेको छ।
खेलको आवरणमा जुवाको तलमा फसाउँदै
रिसर्चगेट केन्यामा खेलमा आधारित अनलाइन जुवाको प्रभावबारे अनुसन्धान गरेर सन् २०२१ सेप्टेम्बर १९ मा तयार पारेको प्रतिवेदनमा अनलाइन जुवाले युवाहरूमाझ ऋणमा डुबेको, पारिवारिक कलह बढेको, सम्बन्धविच्छेदको घटना बढेको, युवाहरूमा मानसिक समस्यासँगै आत्महत्याको दर समेत बढाएको उल्लेख छ।
अनुसन्धानमा अनलाइन जुवाको लतमा अधिकांश युवा वर्ग फसेको र केही विद्यार्थीले जुवाबाट अध्ययन खर्च जुटाए पनि अधिकांशले भएको सम्पत्ति समेत सकेको खुलेको छ।
नेपाल प्रहरीका पूर्व प्रहरी डिआइजी पीताम्बर अधिकारी नेपालमा पछिल्लो समय सङ्गठित रूपमा जुवा खेलाउने कम्पनीको प्रभाव बढिरहेको देखिएको बताउँछन्। उनले यस्ता गतिविधि रोक्न कानुनलाई प्रभावकारी बनाउनुपर्ने र कानुन उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
‘अहिलेका युवाहरूलाई एनपिएल लगायतका लिगहरूले जुवा खेल्न प्रोत्साहन गरेको देखिन्छ। यसलाई रोक्नु पर्छ’ ‘उनी भन्छन्, ‘युवाहरूलाई पैसा छिटो कमाउँ भन्ने छ। त्यसैले पनि जुवाको लतमा फस्न सक्छन्। नेपालमा पछिल्लो समय जुवाको प्रचार सङ्गठित रूपमै चलेको देखिन्छ। यसलाई रोक्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’
त्यस्तै, साइबरक्राइमका जानकार डा. राजीव सुब्बा एनपिएल जस्तो लिगमा प्रायोजकको रूपमा आउने स्पन्सर कस्तो हो भनेर नहेरी विज्ञापन राख्नुमा बदनियत देखिने बताउँछन्।
‘जुवा ऐन २०२० ले नेपालमा जुवा खेल्न, खेलाउन बन्देज लगाएको कुरा स्पष्ट छ। कुनै खेलमा कुनै स्पन्सर आए त्यो कस्तो कम्पनी हो भन्ने हेर्नुपर्ने थियो,’ उनले भने ‘एउटा विदेशी फिल्म नेपालमा छायाँकनको लागि आउँदा डाइलग देखाउनु पर्छ भने यत्रो लिगमा आएको विदेशी कम्पनी कस्तो हो भन्ने कुरा जानकारी विज्ञापन बोर्डले पनि राख्नुपर्थ्यो।’
उनले एनपिएलमा विभिन्न आवरणमा जुवा खेलाउने कम्पनीको प्रचार गरेको सबैतिर छरपस्ट हुँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको बताए।
‘मिडियामा पनि यो विषय आएको छ। यसमा सरकारले कारबाही गर्नुपर्ने थियो। तर अझैसम्म कारबाही भएको छैन’ उनले भने।
त्यस्तै, पूर्व राखेप सदस्य सचिव रमेशकुमार सिलवालले नेपालको कानुन विपरीत जुवा खेलाउन प्रतिबन्ध लगाएकोले यस्तो कार्य गर्न गराउनेलाई कारबाही हुनुपर्ने बताए।
‘जुवा खेलाउने कम्पनी पहिला पनि आएको हो। त्यसलाई मैले स्वीकृत दिइन्। उसको पुँजी जम्मा १ करोडको थियो। तर हामीलाई ३५ करोड दिन्छु भनेर आएको थियो’ उनी भन्छन्, ‘अब यस्ता कम्पनीले पैसा कमाउने गैर कानुनी काम गरेर नै हो। त्यसैले स्पोन्सरशिप लिँदा नेपालको कानुन अनुसार नै लिनुपर्छ।’
उनले यस्तो जुवा खेलाउने कम्पनी लिगमा आउँदा खेल मिलेमतो हुने जोखिम मात्र बढाउने बताए।
‘अझै क्रिकेटमा त बलको आधारमा बेटिङ्ग गराउँछ। कानुन विपरीत कसैले काम गरे कारबाही गर्नुपर्छ’ उनले भने।
मंसिर २८, २०८१ शुक्रबार २०:२०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।