२० वर्षपछि चक्रेले पाए न्याय , हात काट्ने दीपक मनाङेको पाँच वर्ष कैद सजाय सर्वोच्चबाट सदर
काठमाडौँ : अदालतमा मुद्दा विचाराधीन रहेकै बेलामा पटक-पटक मन्त्री बन्दै पदकै बेइज्जत हुने व्यवहार गर्दै आएका गण्डकी प्रदेशका प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने प्रयास गरेको अपराधमा सर्वोच्च अदालतबाट दोषी ठहर भए।
सोमबार न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको दोषी ठहर गर्दै पाँच वर्ष कैद तोक्ने फैसला सदर गरेका हुन्।
पहिलो पटक प्रदेश सांसद निर्वाचित भएसँगै उनी हत्या प्रयासको अभियोगमा दोषी ठहर भए पनि कारागार चलान नभएको खुलेपछि फरार भएका थिए। फरार रहेका उनी २०७५ पुस पक्राउ परे।
उनले फागुन ३ मा सर्वोच्चमा उच्चको फैसला विरुद्ध पुनरावेदन दिएपछि सर्वोच्चले उनलाई धरौटीमा राखेर थुनामुक्त गराउँदै बाहिर बसेर पुनरावेदन गर्ने सुविधा दिएको थियो।
त्यही सुविधा अनुसार उनी पहिलो सांसदको कार्यकाल बिताए। दोस्रो कार्यकालमा लागि समेत निर्वाचित भएर पटक पटक मन्त्री भएका थिए। सर्वोच्चबाट उच्चको फैसला सदर भएसँगै अब उनको जेल यात्रा सुरु हुने भएको छ।
कसलाई मार्न खोजेका थिए मनाङेले ?
काठमाडौँको सङ्गठित अपराधबारे जानकारहरूका लागि दीपक मनाङेको दुस्मन नयाँ हैन, उही चक्रे मिलन। मनाङेले ठमेल क्षेत्रलाई आफ्नो अपराधको आधार क्षेत्र बनाउँदा उता चक्रे मिलन भनिने मिलन गुरुङले भने काठमाडौँको चक्रपथ क्षेत्रलाई आफ्नो अपराधको आधार क्षेत्र बनाए। दुबैबीच दुस्मनीको सम्बन्ध थियो।
समूहका सदस्यहरूबिच मारपिट चलिरहन्थ्यो। प्रहरी हैरान थियो। तर उनीहरूले एकले अर्कालाई सिधै आक्रमण भने गरेका थिएनन्। त्यो सीमा पनि पार गर्दै मनाङेले चक्रेमाथि तरबारले हाने। आक्रमणमा उनको हातै छिन्यो। चिकित्सकहरूले उनको हात त जोडिदिए तर पहिलाको अवस्थामा फर्किन सकेन।
यो २०६१ को घटना भए पनि लामो समय कानुनी लडाई चलिरह्यो। दुबैबीचको दुस्मनी कायमै थियो। मनाङेसहित उनका समूहका सदस्यमाथि प्रारम्भमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चल्यो।
चक्रेमाथि आक्रमणमा संलग्न रहेको भन्दै मनाङेसँगै गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामा प्रतिवादी बनेका थिए। लामा अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। जिल्लाले हत्या प्रयासमा हैन कुटपिटमा दोषी ठहर गर्दै मनाङेलाई २ वर्ष कैद सजाय तोक्यो।
सरकारी पक्ष उच्च अदालत पाटनमा पुनरावेदन गर्न गयो। उच्चले जिल्लाको फैसला उल्टाएर कुटपिट नभई ज्यान मार्ने उद्योग भएको ठहरसँगै मनाङेलाई ५ वर्षको जेल सजाय तोक्यो। अन्य आरोपीले भने सफाइ पाए।
मनाङेको हकमा त्यसै छाडेर सरकारीपक्ष पुन सफाइ पाएका लामासहितको प्रतिवादी विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न गयो। यता दोषी ठहर भएका मनाङे पक्राउ नै परेनन्।
उनी प्रदेश सांसदमा निर्वाचित भएपछि अदालतबाट पाँच वर्ष कैद सजाय तोकिए पनि कैद भुक्तान नगरेका दोषी रहेको सार्वजनिक भयो। पुनरावेदन गर्ने म्याद सकिइसकेको छ। तर उनले फैसलाबारे आफूलाई कुनै औपचारिक जानकारी नआएको, पत्र नपाएको भन्दै सर्वोच्चमा पुनरावेदन लिएर पुगे। र सोमबार उनी सर्वोच्चबाट पनि दोषी ठहर भए।
कात्तिक २०, २०८१ मंगलबार १८:५०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।