साई स्वागत सहकारीबारे भरत जङ्गमले भने ‘रविको कारण निकिता र म बदनाम भयौँ’

साई स्वागत सहकारीबारे भरत जङ्गमले भने ‘रविको कारण निकिता र म बदनाम भयौँ’

काठमाडौँ : साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत जङ्गमले रवि लामिछाने र उनको समूहका कारण आफू सहकारीमा जोडिन पुगेको भन्दै अब सहकारीलाई सक्रिय गराएर समस्या समाधान गर्ने बताएका छन्।

उनले उकेरासँग कुरा गर्दै न्युज२४ टेलिभिजनमा आफूले पनि कार्यक्रम चलाउँदा रविसँग चिनजान भएको र विवाहका लागि पैसा चाहिएको भनेर सहकारीमा लगेर आफूलाई जोडेको जङ्गमले दाबी गरे।

व्यक्तिगत रूपमा पैसा दिन नसक्ने भनेपछि रविले नै साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका ब्यक्तीहरु ल्याएर जोडेको र आफूलाई अध्यक्ष र निकितालाई उपाध्यक्ष बनाएर ५० लाख ऋण लगेको उनले दाबी गरे।

रविलाई दिन सहकारीमा पैसा नभएपछि आफूले सहकारीमा ५० लाख वचत गरेको र त्यसैबाट रविले ऋण लगेको उनले बताए।

‘त्यो बेलामा रवि र निकिताको विवाह भएको थिएन। अमेरिकामा रहेकी श्रीमतीसँग डिभोर्स पनि भएको थिएन,’ उनले उकेरासँग भने‘ समस्यामा परेछन् भनेर असल मनले सहकारीको अध्यक्ष भएर निकिताको नाममा २५ लाख र रविको नाममा २५ लाख ऋण दिएको हो। सहकारीबाट ५० लाख ऋण पाएको १५-२० दिनपछि रविले अमेरिकामा रहेकी श्रीमतीसँग डिभोर्स गरेर निकितासँग विवाह गरेका हुन्।’

केही समयका लागि भनेर रविले ऋण लिए पनि नतिरेको र सहकारीका व्यवस्थापक शङ्कर उपाध्यायलाई प्रहरी लगाउँछु भनेर थर्काउँदा उनी डिप्रेशनमा गएको र अहिले सम्पर्कहीन भएको भरत जङ्गमले दाबी गरे।

‘पैसा तिर्नुको साटो रविले उल्टो शंकरलाई थर्काउँदा सुसाइड नोट नै लेखेर रामहरि लगायतको नाम किटान गरेका छन्। यो त भएन भनेपछि मैले नै रविलाई लिएको ऋण तिर्नुपर्दैन भनेपछि जरिवाना मिनाहा मागेर साँवा ब्याजसहित ऋण तिरेका थिए’ उनले भने।

रविकै कारण आफू सहकारीमा जोडिए पनि कहिल्यै सहकारीको हिसाब नहेरेको र रवि समूहकै कर्मचारीहरूबाट बदमासी भएको भन्दै अहिले अदालतमा दुई वटा मुद्दा रहेको उनले बताए।

शङ्कर दाहाल र रामहरि अधिकारीसहितमाथि २ करोड २२ लाख अर्को ४० लाखको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले साई स्वागत सहकारीमा निकिता समेत निर्दोष रहेको उनले दाबी गरे।

‘साई स्वागतमा निकिताको दोष छैन। यो सबै काम रविको हो। रविकै मान्छेले पछि अब निकितालाई उपाध्यक्षमा नराखौँ भनेपछि साधारण सभाबाट राजीनामा स्वीकृत गर्ने गरी राजीनामा लिएका हौँ। तर साधारण सभाबाट त्यो पास भएको छैन’ उनले भने।

रविको कारण निकिता पीडित भएको र आफ्नो ८० लाख डुबेसँगै बदनाम समेत भएको उनले दाबी गरे।

‘अब सहकारी सक्रिय गर्छु’

काठमाडौँ महानगरपालिकाको सहकारी सम्बन्धी अध्ययन प्रतिवेदनमा सञ्चालक समितिमा अध्यक्ष र उपाध्यक्ष नै नयाँ राखे पनि सो कानुनसम्मत नभएको उल्लेख छ।

सहकारीको सदस्य नै नभएको व्यक्तिलाई अध्यक्ष बनाएको र साधारण सभामा उपस्थितै नभएको व्यक्तिलाई उपाध्यक्ष बनाएको महानगरको रिपोर्टमा उल्लेख छ।

जङ्गमले साधारण सभाबाट निकिताको राजीनामा स्वीकृत गर्ने गरि राजीनामा लिए पनि साधारण सभाबाट राजीनामा स्वीकृत नभएको स्वीकार गरे।

राजीनामा स्वीकृत नहुँदा उनी अहिले सहकारीको उपाध्यक्ष नै देखिएको भन्दै उनले अब सहकारीको साधारण सभा राखेर सञ्चालक समितिको अध्यक्ष आफैँ हुने र निकिताको राजीनामा स्वीकृत गर्ने बताए।

काठमाडौँ महानगरपालिकाले सहकारीलाई सक्रिय गराएर कानुन सम्मत रूपमा काम गर्न लिखित रूपमा भनेकाले अब आफैँ सो जिम्मेवारी लिने तयारीमा रहेको जङ्गमले बताए। उनले सहकारीको एक रकम नलिएको बरु आफ्नो ५० लाख बचत बढेर लिनुपर्ने ८० लाख पुगिसकेको दाबी गरे।

‘रविका कारण निकिता बदनाम भइन्। अब साधारण सभा राखेर उनको राजीनामा स्वीकृत गर्छु। सहकारीको नेतृत्व आफैंले लिएर उठाउनुपर्ने ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्ने काम अगाडि बढाउँछु। गैर कानुनी काम गर्नेहरुविरुद्ध कानुनी कारबाहीमा जान्छु’ उनले भने।

सम्बन्धित समाचार

कात्तिक १३, २०८१ मंगलबार १७:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।