संशोधन मण्डलको अमूल्य निधि कसले जोगाएर राखिदेला ?

संशोधन मण्डलको अमूल्य निधि कसले जोगाएर राखिदेला ?

मिथकीय पात्रलाई गौरवीकरण गर्दै छद्म राष्ट्रियताको प्रारूप तयार गर्ने पद्धतिलाई भत्काएर तथ्यमा आधारित इतिहास लेख्ने जग संशोधन मण्डलले निर्माण गर्यो। यसका प्रणेता गणितज्ञ नयराज पन्त हुन्।

वनारसमै अध्ययन गरेका पन्तले आधुनिक शिक्षा पद्धतिले भारतीय उपमहाद्विपको उन्नति हुँदैन भन्ने बुझेका थिए। संस्कृत शिक्षाको ज्ञानले मात्र पूर्वीय सभ्यताको उन्नति हुन्छ भन्ने मान्यता राख्ने नयराजले त्यस मर्म अनुरूप नै संशोधन मण्डलको स्थापना गरेका थिए।

सय पूर्णाङ्कमा ३२ अंक ल्याएर उत्तीर्ण हुने त्रिखण्डी प्रणालीले शिक्षाको उन्नति हुँदैन भन्ने नयराजको चिन्तन र तर्क थियो। संशोधन मण्डलको स्थापनाको विषयमा यसअघि पनि धेरै विद्वानहरूले चर्चा गरिसकेको हुँदा यहाँ त्यसको पुनरावृत्ति गरिरहनु सान्दर्भिक हुँदैन।

यस लेखमा नेपालको इतिहास लेखनमा संशोधन मण्डलको भूमिकाबारे संक्षिप्त चर्चा गरिएको छ।

संशोधन मण्डलभन्दा पहिले...
इतिहासको आधुनिक दर्शन अनुरूप व्याख्या र विवेचना गर्ने पद्धति पूर्वमा नभए तापनि इतिहासलाई पञ्चमवेद् भनिएको सन्दर्भले  इतिहासप्रति पूर्वको दृष्टिकोणलाई बोधार्थ गर्छ।

लगभग १५ सय वर्षको नेपालको प्रामाणिक इतिहासको थालनीमा अभिलेख राख्ने प्रवृत्तिले शासकहरूमा इतिहासप्रतिको चेत थियो कि भन्ने अनुमान गर्न सकिन्छ। वस्तुतः ती शिलालेखहरू इतिहासका उपकरण र आकर नै हुन्।

यसरी अभिलेख राख्ने प्रवृत्तिले शाह कालसम्म निरन्तरता पाए पनि इतिहासको आधुनिक दर्शनबारे समाज अञ्जान नै थियो।

तथ्यको आधारमा लेख्नु इतिहासकारहरूको नैतिक परिधि हो। निन्दा वा प्रशंसा गर्नु इतिहासकारको काम होइन। संशोधन मण्डललाई दरबारबाट आर्थिक सहयोग प्राप्त भएको कुरा ‘पूर्णिमा’ पत्रिकाहरूमा चर्चा परेकै छ। तर, यो दरबारमा पूर्णिमा पत्रिका पठाएबापतको पैसा थियो।

शाह कालको सुरुवाती दिनहरूमा नेपाल आएका कर्क प्याट्रिक, हेमिल्टन, शिल्भालेभी र हज्सन लगायतका विद्वानहरूले नेपालको इतिहासलाई पश्चिमी जगत्मा परिचित गराए।

नेपालको अध्ययनमा उनीहरूको नियतमा प्रश्न भए तापनि तात्कालीक दृष्टिकोणबाट हेर्दा उनीहरूको योगदानलाई अवमूल्यन गर्न भने मिल्दैन। अपरिचित भूगोल, भाषा, लिपि र संस्कृतिलाई छिचोलेर अध्ययन गर्नु सहज कर्म होइन, जुन उनीहरूको अध्ययनको सीमा पनि हो।

नेपालको इतिहास लेखनको प्रारम्भमा गोरा साहेबहरू हावी भए पनि यस किसिमको प्राज्ञिक हैकमवादलाई इतिहास संशोधन मण्डलले तोडेको यथार्थ हो। तर, इतिहास अध्ययनको क्षेत्रमा विदेशी विद्वानहरूले चासो राखी अध्ययन, अनुसन्धान गरी नेपालको इतिहासको केही पक्ष उजागर गरेपछि सो विषयप्रति स्वदेशी विद्वानहरूको पनि ध्यान केन्द्रित भई यसै विषयमा थप खोज अनुसन्धान गर्न आँखा उघारिदिएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन।

नेपालका पछिल्ला चरणका उत्खननहरूका सन्दर्भमा महेशराज पन्तले भने जस्तै गोरा साहेबहरूको हालीमुहाली भन्ने वाक्यांशलाई भने स्वीकार गर्न अलि सकिँदैन। (अन्नपूर्ण पोष्ट, इतिहासको भविष्य, गोविन्द न्यौपाने, मिति २०७६ मंसिर ७ मा प्रकाशित)

यिनै सीमाका कारण नेपालको इतिहासबारे उनीहरूले लेखेका पुस्तकमा त्रुटीहरू भेटिन्छन्। सीमित सामग्री र समयमा रहेर काम गर्नुपर्दा त्यस खालका त्रुटीहरू हुनु स्वभाविक पनि मान्न सकिन्छ। विशेषतः तिनै त्रुटीहरूलाई खण्डन र मण्डन गर्ने क्रममा संशोधन मण्डलको स्थापना भएको ऐतिहासिक पृष्ठभूमि हो।

नेपालको इतिहास नेपालीले नै लेख्नुपर्छ भन्ने मान्यतालाई संशोधन मण्डलले बलियो बनायो। संशोधन मण्डल स्थापनाको आसपासमै इतिहास शिरोमणि बाबुराम आचार्य र  योगी नरहरिनाथले नेपालको इतिहासको परिशीलनमा लागेका थिए, जसबारे संशोधन मण्डलले ‘पूर्णिमा’का विभिन्न अंकहरूमा प्रकाशित पनि गरेको छ।

विशेषतः संशोधन मण्डलले विदेशी विद्वानहरूको मात्र होइन की, स्वदेशी विद्वानहरूले लेखेका त्रुटीहरूलाई पनि खण्डनमण्डन गर्ने अभियान चलायो। यसकारण राइट्स साहेबले सम्पादन गरेका वंशावलीमा आधारित रही इतिहास लेखनको मठाधीश बन्न खोज्ने केही विद्वान कहलिएका समूहले नै संशोधन मण्डलको पद्धति विरुद्ध लाग्यो, जबकी त्यो समूह इतिहास अनुसन्धानका लागि चाहिने उपकरण र आकरहरूबारे नै जानकार थिएन।

अप्रामाणिक चरित्र र मिथकीय पात्रलाई गौरवीकरण गरेर पञ्चायती राष्ट्रवादको स्तुतिगान गर्नु नै उनीहरूको इतिहास लेखनको मूल प्रवृत्ति थियो। वस्तुतः पहिले जस्तो राइट साहेबले तयार गरेको वंशावलीमा भर परेर इतिहासमा काम गर्नुपर्छ भन्ने मान्यतालाई संशोधन मण्डलले तोडेकै हो। इतिहास लेखनमा मूल सामग्रीमै गएर काम गर्नुपर्छ भन्ने मान्यता यसले स्थापित गर्यो।

परिधि र परिवेश
काठमाडौं उपत्यकाको इतिहास लेखनमा विशेषतः संस्कृत र नेवारी भाषा र त्यसलाई अभिव्यक्त गर्न प्रयोग गरिएका प्राचीन र मल्लकालीन लिपिहरूको ज्ञान हुनु आवश्यक छ। गुरु नयराजबाट प्रशिक्षित व्यक्तिहरू यी दुवै विषयमा दक्षता हासिल गरेका हुनाले  इतिहास लेखनमा उनीहरूको योगदान अतुलनीय रह्यो।

अभिलेखहरूको खोजी, प्राप्ती, लिप्यन्तरण, भाषान्तरण र व्याख्या इतिहास लेखनको पहिलो महत्त्वपूर्ण काम हो, जुन कामको लागि संशोधन मण्डलले लगभग ७० वर्ष बिताएको छ। अझै पनि राष्ट्रिय अभिलेखालयमा रहेका हजारौं दस्तावेजहरूको  परिशीलन हुन बाँकी नै छ, त्यस कामका लागि पछिल्लो पुस्ता तयार नहुनु  दुःखद् हो।

इतिहास लेखनका लागि चाहिने उपकरण र आकर अर्थात प्राचीन भाषा तथा लिपिहरूको ज्ञान दोस्रो पुस्तामा त छँदै छैन, यस क्षेत्रमा लागेका व्यक्तिहरूमा पनि सो ज्ञानको दक्षता नदेखिँदा नेपालको इतिहास लेखनको भविष्य त्यति राम्रो छैन भनि ठोकेरै भन्न सकिन्छ।

काठमाडौं उपत्यकामै रहेका ऐतिहासिक सामग्रीहरूमा काम गर्न बाँकी नै रहेको अवस्थामा काठमाडौं उपत्यकाभन्दा बाहिरको ऐतिहासिक सामग्रीहरूको संकलन, संरक्षण र अनुसन्धान गर्न बाँकी नै छ, जबकी क्षेत्रीय इतिहास लेखनमा यी सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। राष्ट्रिय अभिलेखालयले केही हदसम्म ऐतिहासिक सामग्रीहरूको संकलन गरेको देखिन्छ, जुन निकै कम प्रयास हो।

संशोधन मण्डल सम्बन्धी सामग्री

संशोधन मण्डललाई काठमाडौं उपत्यकामा मात्र केन्द्रीत रहेको आरोप लाग्छ। एक त, काठमाडौं उपत्यकाको ऐतिहासिक सामग्रीहरूको परिशीलन गरेर नसकिएको सन्दर्भमा बाहिर जान नसक्नु स्वभाविक नै हो। फेरि एउटा सानो संस्थाले देशैभरीका ऐतिहासिक सामग्रीहरूमा पहुँच राख्न पनि सक्दैन। त्यसकारण संशोधन मण्डललाई उपत्यका केन्द्रित रहेको भनि आरोप लगाउनु कुतर्क मात्र हो।

यद्यपि धनबज्र बज्राचार्य जस्ता हस्तिहरूले कर्णाली प्रदेशको ऐतिहासिक सामग्रीहरूको परिशीलन  गरेका छन्। त्यस्तै  नुवाकोट, गोरखा, धादिङ र दोलखा भेकका ऐतिहासिक सामग्रीहरूको अध्ययन संशोधन मण्डलका सदस्यहरूले गरेका छन्। महेशराज पन्तले  मुस्ताङ जिल्लाको थाकसभ्यतामा रहेका ऐतिहासिक सामग्रीहरूको अनुसन्धान गरेका छन्।

छलफल तथा आलोचना
नेपालको इतिहास लेखनमा प्रकाशनमा आएका धेरै कुराहरूको निरूपण गर्न बाँकी नै छ। एक त काठमाडौं उपत्यकाको इतिहासलाई आधार मानी सिंगो नेपालको इतिहास भनेर पढ्नु पढाउनु अवैज्ञानिक छ। यस प्रसङ्गलाई इतिहासकार प्रा. डा. रमेश ढुंगेलले पनि खण्डन गरेका छन्। बुझ्नुपर्ने कुरा के हो भने नेपालको इतिहासको सन्दर्भमा काठमाडौं उपत्यकालाई मात्र नेपालको इतिहास भनेर बुझ्ने पद्धतिमाथि प्रश्न गर्न जरुरी छ।

काठमाडौं उपत्यका बाहिरका क्षेत्रीय  इतिहासको कथित मुलधारे भनिने काठमाडौं उपत्यकाको इतिहासमा के-कस्तो सम्बन्ध रहेको छ ? र त्यसले पारेका प्रभावहरूको छलफल हुन जरुरी छ। त्यस्तैगरी नेपालको इतिहासका काल विभाजनबारे पनि थप छलफल हुनु जरुरी छ।

काठमाडौं उपत्यकालाई आधार मानेर लिच्छवि, मल्ल र शाह भनी गरिएको एकरेखीय कालविभाजन अवैज्ञानिक छ, जसले समग्र नेपालको प्रतिनिधित्व गर्न सक्दैन। यस विषयमा इतिहासकार योगेशराजले आफ्नो इतिहासमा संक्रमणवाद नामक पुस्तकमा चर्चा गरेका छन्। माथि उल्लिखित विषयमा संशोधन मण्डलले अहिलेसम्म आफ्नो धारण व्यक्त गरेको छैन।

काठमाडौं उपत्यकाको इतिहासको काल विभाजनको कुरा गर्दा केही सन्दर्भ उठाउन सकिन्छ।  गोपालराज वंशावलीले चर्चा गरेको तीन जना मात्र महिषपालहरूलाई एउटा वंशको रूपमा व्याख्या गरिएको छ, जबकी १२ जना बढी भएका वर्मावंशी शासकहरूलाई एउटा कालखण्डको रूपमा परिचर्चा हुनुपर्ने हो, तर भएको छैन।

हार्नेहरूको पनि इतिहास हुन्छ भन्ने ऐतिहासिक यथार्थलाई स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ भन्नेमा नै संशोधन मण्डलको दृष्टिकोण रहेको देखिन्छ।

वस्तुतः किराँतहरू लिच्छविहरूबाट होइन की वर्माहरूबाट पराजित भएको अध्ययता रमेश ढुंगेलको तर्क छ। लिच्छवि शासनमा वर्माहरूको वर्चश्व देखिँदा ढुंगेलको तर्क वस्तुवादी देखिन्छ। तर, संशोधन मण्डल लगायत इतिहासकारहरूले यस विषयमा छलफल गरेको देखिँदैन।

काठमाडौं उपत्यकामा मल्लहरूको पराजयको सन्दर्भमा पृथ्वीनारायण शाहले नेपालको ऐकीकरण गरेकी गोरखा राज्यको विस्तार गरे भन्ने प्रश्न पनि छलफलको विषय छ। कतिपय आलोचकहरूले संशोधन मण्डललाई दरबारीया इतिहासकार भनी आरोप लगाएको देखिन्छ।

तथ्यको आधारमा लेख्नु इतिहासकारहरूको नैतिक परिधि हो। निन्दा वा प्रशंसा गर्नु इतिहासकारको काम होइन। संशोधन मण्डललाई दरबारबाट आर्थिक सहयोग प्राप्त भएको कुरा ‘पूर्णिमा’ पत्रिकाहरूमा चर्चा परेकै छ। तर, यो दरबारमा पूर्णिमा पत्रिका पठाएबापतको पैसा थियो।

त्यस्तै इतिहासकार दिनेशराज पन्तले गोरखा राज्यको इतिहास लेख्दा राजा विरेन्द्रबाट आर्थिक सहयोग प्राप्त भएको कुरा सोही किताबमा लेखिएको छ। तर, संशोधन मण्डलले कहिल्यै पनि राजसंस्थाको चाकडी र प्रशस्ति गाएन।

हाम्रा राजा तरंगी, कलुषित, चरिता, राजपत्नी हुनाले,
धेरै दुःख पाए मुलुकमा पनि भताभूंग बढ्दो छ अहिले,

भनेर गुरुनयराजले यो लेख्दा नारद घिमिरे, माधव घिमिरे, बालकृष्ण पोखरेल, ढुण्डीराज भण्डारी,  विजयबहादुर मल्ल,  भूपि शेरचन जस्ता व्यक्तिहरू मिलेर उनको त्यस लेखको विरोध गर्नुको साथै, प्रज्ञामा लेखिएको लेख च्यातियो। जुन उनको जीवनकै पहिलो र अन्तिम घटना थियो।

तर, गुरु नयराजले पनि राजाको गुणदोष केलाएर लेख लेखेको अर्को वर्ष सरकारी पुरस्कार प्राप्त गरेको प्रसङ्ग राजकुमार दिक्पालले लेखेका छन्, उनका पुत्र दिनेशराज पन्तले पनि एक प्रसङ्गमा यो कुरा गरेका थिए।

वास्तवमा संशोधन मण्डल राजाको विरोधी पनि होइन, समर्थक पनि होइन। यसले तथ्यको आधारमा मात्र लेख्छ। गुरु नयराज पन्तले पनि जंगबहादुरको पालाको राजा राजेन्द्रको प्रसङ्गमा यो लेखेका हुन्। दलहरू च्याउ झैँ उम्रन्छन् भनी  लेख्दा नयराजलाई  बहुदलको विरोधी आरोप पनि लाग्यो।

गोरखा राज्यको इतिहास लेख्दा आर्थिक सहयोग गरेकै कारण दरबारबाट कुनै दबाब नआएको कुरा स्वयं लेखक बताउँछन्। त्यसकारण दरबारिया इतिहासकार भनी लगाइएको आरोप गलत हो भन्ने देखिन्छ।

संशोधन मण्डलले लिच्छविकाललाई स्वर्णयुग भनेर कहिल्यै लेखेन र भृकुटीको गौरवगान पनि गाएन। तथ्य प्रमाणलाई अगाडि सारेर इतिहास लेख्ने संशोधन मण्डलले इतिहासको निमर्म आलोचना गरेको देखिन्छ।

विभूतीय पात्र भिमसेन थापामाथि महेशराज पन्तले गरेको तर्कबाट पनि यस कुराको प्रमाणित हुन्छ। लिच्छविकालमा चलेका संवत् सम्बन्धी विवादबारे लिच्छविसंवत्को निष्कर्ष नामक पुस्तक नै लेखेर निरूपण गरेको ४० वर्ष भैसक्दा पनि यस विषयमा कहिलेकाहिँ तर्कवितर्क सुनिन्छ। तर, यो आधिकारिक रूपमा निरूपण भैसकेको विषयमा विवाद गर्नु बेकार हो।

कमलप्रकाश मल्ल र महेशराज पन्तबीचको प्राज्ञिक विवादमा कसले हार्यो वा कसले जित्यो भन्ने प्रश्नमा अल्झिनु भन्दा त्यस छलफलले प्राज्ञिक जगतमा के प्रभाव पार्यो भन्ने विषयमा छलफल हुनु जरुरी छ। संशोधन मण्डलमाथि सकारहरू प्रशस्ति गानमै रमाएको देखिन्छ भन्ने आरोप लागेको देखिन्छ। यस आरोपलाई संशोधन मण्डलले आफ्ना लेखहरूमर्फत खण्डन गरेको देखिन्छ।

तर, युग पाठकले भने झैँ वर्तमान सन्दर्भमा भृकुटीको विभूति गाथा गाएर मात्र समकालीन सन्दर्भमा इतिहासलाई फरक कोण र समीकरणबाट व्याख्या र विमर्श गर्ने प्रयास गरिएको देखिन्छ। अभिलेखहरूको लिप्यान्तरण र रूपान्तरण गरी प्रमाणको कसीमा घोटेर इतिहास लेखनमा संशोधन मण्डलले दिएको योगदानको माथि नै चर्चा परिसकेको छ।

वस्तुत: इतिहासकारको काम त्यसको साथसाथै समकालीन सन्दर्भहरूमा तुलना गरी इतिहासवाद र हर्मेन्युटिक्स दृष्टिकोणबाट विवेचना गर्नुपर्छ। तर, संशोधन मण्डलका इतिहास छल्ने दिन गइसकेको छ। ‘आर्य सभ्यता’को महत्व र सत्ताको बार्दलीबाट तल झर्नैपर्छ भन्ने सत्यलाई स्वीकार गर्नैपर्छ।

बौद्ध, कर्णाली, किराँत आदि सभ्यतासँग सहकार्य गर्नुको विकल्प छैन (पाठक, ०४३,  ८८ )। मांगेनाले उठाएको यस किसिमको सवाल्ट्रन प्रभाव केही मात्रामा संशोधन मण्डलमा देखिन्छ।

इतिहासका पुराना पात्र र तत्कालीन सन्दर्भलाई अहिलेको आँखाले हेर्ने र सराप्ने र इतिहासलाई सोही समयको विश्व सन्दर्भबाट हेर्नुपर्छ भन्ने दुवै अतिवादी सोचलाई संशोधन मण्डलले अस्वीकार गरेको देखिन्छ।

हार्नेहरूको पनि इतिहास हुन्छ भन्ने ऐतिहासिक यथार्थलाई स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ भन्नेमा नै संशोधन मण्डलको दृष्टिकोण रहेको देखिन्छ (महेशराज पन्त, ‘यो भ्रम नै भ्रमको देश हो’)।

ऐतिहासिक प्रमाणभन्दा पनि मिथकीय पात्रलाई पुज्ने नेपालको प्राज्ञिक परम्परामा विमति जनाउँदै बुटवल जितगढ किल्लामा अंग्रेजलाई हराउने उजिर सिंहको योगदानलाई बिर्सने तर युद्ध हारेका अमर सिंह र बलभद्र कुँवरहरूको गुणगान र तारिफ गर्ने नेपालको प्राज्ञिक परम्परामा विमति जनाएर आफूलाई सवाल्ट्रन अध्यताका रूपमा चिनाएका छन्।

मुलुक गुमाउने भीमसेन थापालाई विभूषित गर्ने र मुलुक थप्ने जंगबहादुरलाई बिर्सने प्रवृत्तिले इतिहासको अवमूल्यन गरिएकोप्रति विरोध गरेर आफूलाई सवाल्ट्रन इतिहास लेखकका रूपमा प्रस्तुत गरेका छन् (ऐजन)।

तर, के इतिहासको उत्खनन गर्ने क्रममा हामी इतिहास लेखिनुअघिको मिथकीय समयसँग साक्षात्कार गर्न सक्छौँ त ?  (सञ्जीव उप्रेती, सिद्धान्तका कुरा, २०६८, पृ ३४) भन्ने प्रश्नलाई इतिहास लेखनमा ध्यान दिनु जरुरी छ।

पछिल्लो कालमा लगभग पारिवारिक विरासतको रूपमा  सञ्चालित यो संस्थाले निरन्तरता पाउनु निकै ठूलो योगदान हो। त्यस्तै आफ्नो सिंगो जीवन नै इतिहास अनुसन्धानमा लगाउनुलाई कम आँकलन गर्न मिल्दैन।

संशोधन मण्डलले प्रकाशन गरेको श्री ५ पृथ्वीनारायण शाहको उपदेश नामक पुस्तकमा टिप्पणी गर्दै कमलप्रकाश मल्लले संशोधन मण्डललाई चाकडीवाजको आरोप लगाएका छन् (कमलप्रकाश मल्ल, कन्ट्रिव्युसन्स टु नेप्लीज स्टडिज, २०४०)।

यस आरोपलाई संशोधन मण्डलले लामो लेखमार्फत खण्डन गरेको देखिन्छ (पूर्णिमा, अंक ५८)। मल्लले संशोधन मण्डलका अर्का सदस्य धनवज्र बज्राचार्यको पनि आलोचना गरेको देखिन्छ (कमल प्रकाश मल्ल, नेपालको इतिहास संशोधकहरूको उत्थान र पतन, नेपाल संवत् १११५)। पछि वि.सं. २०२८ मा बज्राचार्यले संशोधन मण्डलबाट राजीनामा दिएपछि मल्लले धनवज्रसँग मिलेर काम गरेको देखिन्छ।

सारमा हेर्दा यी दुवै समूहका विद्वानहरू आ-आफ्ना विषय र क्षेत्रमा अब्बल छन्। यिनीहरूले एकअर्कामाथि लगाएका आरोपको खण्डन गर्न सक्दो प्रयास गरेका छन्।

यी दुवैका वादविवादलाई आलोचनाको कसीमा राखेर व्याख्या विश्लेषण गर्न सकेमा सामाजिक इतिहासको क्षेत्रमा नवीन सिद्धान्त स्थापना गर्न सकिन्छ (हिमाल खबर, विसं. २०७७-६-५ मा प्रकाशित)।

निष्कर्ष
वास्तवमा इतिहासको मूल सामग्रीमा गएर इतिहासको परिशीलन गर्नु संशोधन मण्डलको विशेषता हो। भावूकताभन्दा माथि उठेर तटस्थ व्याख्या गर्नु यसको प्राधिकार हो।

७० वर्षको इतिहास लेखनमा लगभग ७० प्रतिशत इतिहास यसले लेखेको कतिपय विद्धानहरू बताउँछन्। इतिहासको कुनै एक आकरमा पारङ्गत हुँदैमा इतिहास लेखनमा लाग्न सकिँदैन।

इतिहास लेखनमा विशेषगरी प्राचीन लिपि र भाषा र ज्योतिष र गणित विज्ञानको समेत ज्ञान हुनुपर्छ। यी सबै ज्ञानमा संशोधन मण्डलको एकाधिकार थियो। त्यसकारण नेपालको इतिहास लेखनमा यो संस्था आजपर्यन्त जबरजस्त स्थापित छ।

पछिल्लो कालमा लगभग पारिवारिक विरासतको रूपमा  सञ्चालित यो संस्थाले निरन्तरता पाउनु निकै ठूलो योगदान हो। त्यस्तै आफ्नो सिंगो जीवन नै इतिहास अनुसन्धानमा लगाउनुलाई कम आँकलन गर्न मिल्दैन।

आज नेपालका दर्जनभन्दा बढी विश्वविद्यालयहरूमा इतिहासको पढाइ शून्यप्राय भएको अवस्थामा संशोधन मण्डलले आफ्नो सान्दर्भिकतालाई प्रमाणित गरेको छ।

संशोधन मण्डलको दुई सदस्यको शारीरिक अशक्ततासँगै त्यस विरासतको अन्त्य हुने निश्चित प्राय नै छ। इतिहासको लागि राज्य नै उदासीन भएको अवस्थामा यस संस्थाले संकलन र संरक्षण गरेको अमूल्य निधि अर्थात इतिहासका आकर र उपकरणलाई कसले जोगाएर राखिदेला ? यो प्रश्न इतिहासप्रेमी पाठकहरूलाई।

पुष २९, २०८१ सोमबार १७:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।