रमेश कोइरालाको हिजोको कुरा : त्योबेला अहिले जस्तो जे पायो त्यही गीत बन्दैन थिए, बुबा प्रधानपञ्च हुँदा म पञ्चायत विरूद्धको आन्दोलनमा

रमेश कोइरालाको हिजोको कुरा : त्योबेला अहिले जस्तो जे पायो त्यही गीत बन्दैन थिए, बुबा प्रधानपञ्च हुँदा म पञ्चायत विरूद्धको आन्दोलनमा

गीतकार रमेश कोइराला उमेरले ५८ वर्ष लागे। भोजपुरमा जन्मिए पनि उनी ४ वर्षको उमेरमा झापा आए। त्यहीं उनको बाल्यकाल बित्यो। भोजपुरमा प्रगति गर्न नसकेका उनका बुबा झापा आएपछि गाउँको प्रधानपञ्च भए। रमेशले आमासँग घरमै बसेर ४० सालमा गौरीगञ्ज हाइस्कुलबाट एसएलसी पास गरे। केही समय विराटनगरमा बसेर पढेपछि उनी काठमाडौं आए। 

काठमाडौंको ल क्याम्पसमा पढ्दै गर्दा ४६ सालको आन्दोलनमा होमिए। तीन दिन हिरासतमा बसेर फर्किए। यतिबेलासम्म उनले केही गीतहरू रेकर्ड गरेका थिए। उनले ४५ सालतिर ‘मेरो पहिलो रचना बटुलेर सास पनि बाँचिदिउँला’ गीत रेकर्ड गराएपछि चर्चामा आएका थिए। त्यसपछि उनका लगातार ‘छोपेर आँखा पनि हाँसिदिउँला’लगायत थुप्रै गीतहरू सार्वजनिक भएका छन्। 

नेपालका चर्चित गायक गायिकाहरूसँग उनले आफ्नो गीत रेकर्ड गराए। त्यतिबेलाका चर्चित गायिका तारादेवी, अरुणा लामा, भुपेन्द्र रायमाझी, आनन्द कार्की लगायतसँग उनी नजिक थिए। 

उनै गीतकार कोइरालाले उकेराको कोलम हिजोका कुरामा आफूले देखेका भोगेका र अनुभव गरेका यसरी साटेका छन् :

000

त्यसपछि कहिल्यै पनि भोजपुर फर्केको छैन 
मेरो जन्म वि.सं. २०२३ सालतिर भोजपुरमा भएको हो। म चार वर्षकोहुँदा हाम्रो परिवार झापाको गौरीगञ्जको कोरोबारीमा बसाइँ गरेर आयौं। मेरो बाल्यकाल त्यहीं गौरीगञ्ज गाउँमा बित्यो। यो नेपालको कुनो र भारतसँग सिमाना जोडिएको ठाउँ हो। हामी झापा आएपछि कहिल्यै पनि भोजपुर फर्केको छैन। त्यसैले पनि होला, मेरो सबै बाल्यअवस्था र परिवार नै यता भएपछि उताको कुराहरू सम्झना पनि छैन। म भोजपुर नफर्किए पनि भोजपुरका साथीभाइहरूसँग भने कुराकानी हुन्छ।
 
मैले थाहा पाउँदा मेरो बुबा कोरोबारी गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो। उहाँले २० वर्ष प्रधानपञ्च भएर काम गर्नुभयो। मेरो बुबा प्रधानपञ्च भएको ठाउँ विकट थियो र छ पनि। त्यतिबेला सर्पले टोक्यो भने औषधि गर्न पाइँदैन थियो। कति त् उपचार नपाएर यसै मर्थे। 

त्यहाँ एउटा किस्ने खोला भन्ने छ। त्यो खोला तरेर बर्खाको बेला स्कुल पढ्न जाने र आउने गर्न कठिन थियो। पढ्नका लागि निकै सकस थियो। २ घण्टाको बाटो पार गरेपछि स्कुल पुगिन्थ्यो। ८ सालमा बनेको गौरीगञ्ज हाइस्कुलमा पढ्न जाँदा हामीलाई पढाउने शिक्षक सिक्किम दार्जिलिङका हुन्थे। अहिले पनि मलाई धेरै कुराहरू याद छ। भएका शिक्षकहरू अब्बल दर्जाका हुनुहुन्थ्यो। स्कुलमा विद्यार्थीहरू असाध्यै धेरै हुन्थे,सायद त्यतिबेला अरु स्कुल नभएर पनि होला। केटाकेटीहरू सराबरी रुपमा नै स्कुल जान्थे। 

यही स्कुलबाट मैले ४० सालतिर एसएलसी पास गरेको हो। त्यतिबेलाको पढाई आन्दोलनले नै खाइदिन्थ्यो। आन्दोलनले गर्दा एक वर्षको पढाई तीन वर्षसम्म पुग्थ्यो। अहिलेको जस्तो सजिलो थिएन नि, त्यतिबेला परीक्षा र रिजल्ट आउनलाई। कुर्नुपर्थ्यो। मैले ल क्याम्पसमा ४३ सालतिर डिप्लोमा गर्दा तीन वर्षको कोर्स थियो। तर, देशमा पञ्चायत र सरकारबीचको द्धन्द्ध र अनि विद्यार्थी आन्दोलनले गर्दा पाँच वर्षमा पुर्याएका थिए। त्यतिबेला सिएल २ वर्षको थियो, विद्यार्थी आन्दोलन र केकेले ३ वर्ष पुग्यो। त्यसकारण पनि पढ्नका लागि विद्यार्थीहरूलाई त्यतिबेला सहज थिएन। 

तारादेवीलाई गीत गाउन लगाउने सपना अधुरै
त्यो समयमा सञ्चारमाध्यमका रूपमा रेडियो नेपाल मात्र थियो। स्कूलबाट घर आउँदा रेडियोहरुको गीत बज्थ्यो। त्यतिबेला नै मेरो दिमागमा 'यो रेडियो नेपालमा गीत बजाउन पाए कस्तो हुन्थ्यो होला' भन्ने लाग्थ्यो। तर, गाउँमा हुनेहरूका लागि रेडियो नेपालमा गीत बजाउन के सम्भव हुन्थ्यो र! 

तरपनि मेरो परिवेश भने सांगीतिक नै थियो। स्कुलमा पनि कार्यक्रमहरू भइरहन्थे। दशैं तिहारमा पनि गीतसंगीतकै चर्चा हुन्थ्यो। नाटक खेल्ने, गीत गाउने, तिहारमा नाचगान गर्ने यस्तै-यस्तै माहोलले पनि मलाई संगीतमा तानेको होला। त्यही बेलादेखि गीत लेख्थें। यो क्रम पछिसम्म चलिरह्यो। 

एकजना हरिबहादुर थापा भन्ने हुनुहुन्थ्यो, गीतसंगीतमा एकदमै लगाव भएका। उहाँकै प्रभावले पनि होला, मैले ४५ सालमा पहिलो पटक गीत रेकर्ड गर्ने मौका पाएँ। त्यतिबेला रेडियो नेपालमा गीत रेकर्ड गर्ने अवसर त पाइँन तर, निजी रेकर्डिङ स्टुडियोमा भएपनि गरियो। ‘सिम्बोनी’रेकर्डिङ स्टुडियो थियो दीप तुलाधरको, उहाँको स्टुडियोमा पहिलो पटक ‘बटुलेर साथ पनि बाँचिदिउँदा’ भन्ने गीत रेकर्ड गरेको। यो गीत रेकर्ड गर्दा खुशीको कुनै सीमा नै थिएन। 

सँगैमा त्यतिबेला अर्को कुरा थियो भने, निजीमा गीत रेकर्ड गरेपनि शब्द सेन्सरका लागि रेडियो नेपालमै बुझाउनुपर्थ्यो। किनभने रेडियो नेपालले बाहिरको गीतलाई त्यति प्राथमिकता दिँदैन भन्ने थियो। त्यसकारण रेडियो नेपालमा गीतका शब्दहरु सेन्सर पास गरेर अन्त लैजान्थे। मैले त यी सबै कुराहरू बुझ्नै सकिँन। तर, पछि भने मज्जैले बुझें। 

पहिलो गीत रेकर्ड गर्दा  सुशिल विश्वकर्मा दाइ, नारायण गोपाल, तारा देवी, अरुणा लामा, आनन्द कार्की लगायत पुराना पुस्ताका गायक गायिकाहरूसँग मेरो चिनजान थियो। तारादेवीलाई गीत गाउन लगाउने मेरो ठूलो इच्छा थियो। भेट भएर कुराकानी पनि भएको हो, गीत रेकर्ड भने गर्न पाइएन। मैले गीत रेकर्ड गर्न लगाउने समयमा उहाँ निकै विरामी पर्नुभयो। त्यसपछि उहाँलाई गीत गाउन लगाउने कुरै भएन। 

मौका नजुरेकै कारण होला, तारादेवीपछि मेरो अरुणा लामासँग थियो। तर, उहाँसँग पनि मेरो गीत गाउन लगाउने चाहना अधुरै रह्यो। त्यो समयका अधिकांशसँग मेरो राम्रो सम्बन्ध थियो। ओम बिक्रम बिष्ट, दीप श्रेष्ठ, दीप तुलाधर, भुपेन्द्र रायमाझीसँग नजिक थिएँ। यो यात्रा फर्केर हेर्दा, अहिलेसम्म मैले लेखेका १ सय भन्दा बढि गीतहरू रेकर्ड भइसकेछन्। 

पहिला गीतमा क्वालिटी,अहिले छरपस्ट 
मैले गीत रेकर्ड गर्दाको समयमा अहिले जस्तो जे पायो त्यही गीत बन्दैन थिए। अघि मैले भनेजस्तै एउटा गीत रेकर्ड गर्नका लागि शब्द पास हुनुपर्थ्यो। गीत पास गराउनका लागि गीतकारहरूले मेहनत गर्थे। अन्त गीत रेकर्ड गरिएपनि रेडियो नेपालले गीतका शब्द पास नभएसम्म बजाउँदैन थियो। त्यसका लागि पनि गीतकारहरू गीतमा घोत्लिन्थे। गीतकारहरूको छुट्टै चार्म थियो। 

गायक-गायिका, संगीतकार र गीतकारहरू खूब मिल्थे। अहिले त त्यस्तो छैन। समय परिवर्तन भएको छ। यसो एक लाइन शब्द कोर्यो भने भोलिपल्ट नै गीत रेकर्ड गर्न तम्सिन्छन्। जे शब्द मन लाग्यो त्यही गाएका छन्। त्यसकारण पनि पछिल्लो समय गीतहरूको महत्व मर्दै गएको हो की भन्ने लाग्छ। 

गीत एउटा राष्ट्रलाई परिचयात्मक गराउने चीज पनि हो। त्यस्तो कुरालाई छताछुल्ल पाराले गाउँदा अहिले हाम्रो स्तर कहाँ पुग्यो? यसको सेन्सर गर्ने हो भने राम्रा सिर्जनाहरू आउँथे कि भन्ने मलाई लाग्छ। अर्को कुरा, त्यतिबेलाका गायकहरूमा पनि 'गीत रेकर्ड गरौँ भन्दा गमक्क पर्ने, नबोल्ने स्वभाव' चाहिँ थिए। मैले केही गायकहरूमा त्यस्तो व्यवहार देखें, भेटें। 

बुबा प्रधानपञ्च, छोरो पञ्चायत विरुद्धको आन्दोलनमा
३० को दशक सुरू भएपछि नेपालमा बहुदल कि निर्दल भन्ने कुराले उग्ररुप लियो। मेरो बुबा गाउँको प्रधानपञ्च। कांग्रेसका कार्यकर्ताहरूसँग प्रधानपञ्चहरू डराउनुपर्ने अवस्था थियो। तर, मेरो बुबा डराउनु हुन्नथियो। किनभने मेरो बुबा त्योबेला प्रधानपञ्च भएपनि पन्चायतले प्रतिबन्ध लगाएको पार्टी नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग उहाँको राम्रो सम्बन्ध थियो। भोजपुरमा रहँदाखेरि मेरो बुबा पनि कांग्रेसको पार्टी संगठन बिस्तारमा लाग्नु भएको थियो। 

तर, झापा झरेपछि भने बुबा कांग्रेसमा नै लागेका कारणले घरमा बस्न सक्ने स्थिति रहेन। त्यही भएर उहाँले पञ्चायत रोज्नु भयो। अनि प्रधानपञ्चमा निर्वाचन जित्नु पनि भयो। त्यसपछि विभिन्न पक्षको डरका कारण उहाँ घर नजिकैको बोर्डर सिलिगुडीमा बस्न थाल्नुभयो। समय बित्दै गएपछि उहाँको राजनीतिक दलसँग घुलमिल बढ्यो। 

बुबा प्रधानपञ्च भएपनि म भने नेपाली कांग्रेसको आन्दोलनमा सहभागी भएर एक दुई पटक थुनामा परेको छु। विराटनगरमा पढ्दाखेरि एक पटक प्रहरीले थुन्यो अनि अर्कोपटक ल क्याम्पस पढ्दा तीन दिन जति थुन्यो। आरआर क्याम्पस र ल क्याम्पसमा हानाहान नै पर्थ्यो। हामी कक्षा कोठामा बसिरहेको हुन्थ्यौँ, बाहिर इटा हानाहान चल्थ्यो। 

एकदिन के भयो भने, जुलुसमा गइयो। जुलुसमा जाँदा रत्नपार्कमा प्रहरीले भेट्यो। अनि पक्रेर ल्याएपछि सिंहदरबारबाट भद्रकाली जाने बाटो मुनिको गोदाममा हामीलाई थुन्यो। त्योबेला म लगायत थुप्रैलाई थुनेको तीन दिनपछि सबैलाई आइन्दा आन्दोलनमा नआउनु भनेर कागज गराएर छोड्यो। त्यसपछि मलाई समाएन।

यो ४६ सालको कुरा हो। बुबा गाउँको प्रधानपञ्च, म यहाँ प्रजातन्त्र आउनुपर्छ भनेर आन्दोलनमा उत्रिएको थिए। 

असोज १०, २०८१ बिहीबार २०:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।