कलाकार शिवहरि नेपालको हिजोको कुरा : कलंकीका आन्दोलनकारीलाई प्रहरीले चाबहिल लगेर छाडिदिन्थ्यो

कलाकार शिवहरि नेपालको हिजोको कुरा : कलंकीका आन्दोलनकारीलाई प्रहरीले चाबहिल लगेर छाडिदिन्थ्यो

६० को दशकमा टेलिभिजन हेर्ने दर्शकका लागि शिवहरि नेपाल (बैरागी) नौलो नाम होइन। नामले नचिने पनि उनले बोल्ने थेगो भनेपछि त्यो समयमा टेलिभिजनका दर्शकले मज्जैले चिन्छन्। उनी विशेषतः ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ थेगोका कारण चर्चित छन्।

वि.सं. २०२० मा सिन्धुपाल्चोकमा जन्मिएका उनी अझै कलाकारितमा सक्रिय छन्। उमेरले ६० कटेका उनले ‘जिरे खुर्सानी’मा सांसदको भूमिका निर्वाह गरे। बाल्यकालदेखि नै कलाकारितामा रुचि राख्ने उनले आफ्नो साढे तीन दशक लामो कलाकारितमा दर्जनौं सिरियल, फिल्म र विज्ञापनमा अभिनय गरिसकेका छन्।

कलाकारिता मात्र होइन, एक समय राजनीतिमा पनि सक्रिय रहे उनी। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघबाट विद्यार्थी राजनीतिमा होमिएका उनी पटक-पटक जेल परे। बलात्कारपछि हत्या भएको एउटा विषयमा आन्दोलन चर्काउँदा उनी लगातार १७ पटकसम्म जेल परेका थिए।

विद्यार्थी नेताबाट कलाकार हुँदै उनी अहिले औषधि व्यवसायमा संलग्न छन्। काठमाडौंमा टिक्नकै लागि साइकलमा औषधि बेच्ने काम गरेका उनले आफ्नो छ दशक लामो जीवनको व्यक्तिगत र व्यावसियक अनुभवलाई उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सुनाएः

बाह्रखरी पढ्दै चिठी लेख्न सिकाइन्थ्यो
तत्कालीन ठूलो सिरुबारी गाविस र अहिलेको चौताराचौगढी नगरपालिकामा मेरो जन्म भयो। गाउँकै साँगाचोक प्राविबाट मेरो अक्षरारम्भ भयो। अहिले त्यो विद्यालय भवानी शंकर माविको नाममा छ। त्यतिबेला बाह्रखरी पढ्नै तीन/चार वर्ष लाग्थ्यो।

२४ सालतिर मैले बाह्रखरी पढ्न सिकेको। त्यतिबेला बाह्रखरी पढ्ने बेलामै अड्डा अदालतमा दिने निवेदन र चिठी लेख्न सिकाइन्थ्यो। तीन कक्षाको परीक्षा सुरु हुनु तीन दिनअघि भान्दाइले मलाई अचानक काठमाडौं लिएर आउनुभो। किन लिएर आउनुभो मैले थाहै पाएको थिइनँ।

पछि बनकालीको नेपाल वेद विद्याश्रममा पढ्ने, खाने र बस्नेको व्यवस्था मिलाएपछि मात्र थाहा पाए। त्यसका लागि उहाँले तत्कालीन राजपरिवारको सचिवलाई बिन्तीभाउ बिसाउनुभएको रहेछ। मैले पढ्न त पढेँ तर त्यसको प्रमाणपत्र पाइनँ। त्यो पढाइ मेरा लागि ‘पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ’ भनेजस्तै भयो। पढेर पनि प्रमाणपत्र नपाउँदा नरमाइलो लाग्यो।

हाम्रो पढाइले मान्यता नपाएपछि ३६ सालमा मेरै अगुवाइमा आन्दोलन भयो। छ महिना त हडताल नै गरियो। त्यही बेलातिर नारायणहिटी राजदरबारमा रुद्रि पाठ लगाउने क्रममा नेपाल वेद विद्याश्रमका विद्यार्थीलाई रुद्रि पाठ गर्न लिएर गए। त्यो विद्यार्थीको समूहमा म पनि थिएँ। त्यो समयमा हामी सबैले सल्लाह गरेर बिन्ती पत्र पनि बोकेर गएका थियौँ।

राजासँगको साक्षात्कारको क्रममा मैले राजा विरेन्द्रलाई बुझाउन लाग्दा एडिसी राजालाई सिधै बिन्तीपत्र बुझाउन पाइँदैन खोस्यो। त्यो देखेपछि राजा विरेन्द्रले के थियो बिन्तीपत्रमा भनेर सोध्नुभयो। मैले आफू अध्ययनरत विद्यालयबाट प्रमाणपत्र दिने व्यवस्था नभएको भन्दै त्यसको व्यवस्था गर्न बिन्ती बिसाए।

त्यसपछि उहाँले ‘नारायणहिटीको पश्चिमपट्टी मेरो सचिवालय छ, त्यहाँ पत्र दिनु, यो विषय समाधान हुन्छ’ भन्नुभयो। त्यो बिन्तीपत्रले काम पनि गर्यो। त्यसपछि हामीले त्यहाँ पढेको प्रमाणपत्र पनि पायौं। मेरै पहलमा वेद विद्याश्रमका विद्यार्थीलाई प्रमाणपत्र दिने व्यस्था भएको हो।

त्यहाँको अध्ययन सकेपछि दरबार हाइस्कुलको कान्छो स्कुल संस्कृत माध्यमिक विद्यालयमा भर्ना भएँ। तर अब मलाई खान र बस्न समस्या भयो। बनकालीमाको विद्याश्रमका पढ्दा खान र बस्न त्यहिँ व्यवस्था थियो। त्यसपछि मैले धेरैको घरमा भाँडा माझेर बिताए। पछि विद्यालयको होस्टेल खुलेपछि भने त्यहिँ बस्न थालेँ।

त्यहि क्रममा नाटकमा पनि चाख लाग्न थाल्यो। दरबार हाइस्कुलमा पढ्ने भए पनि ध्यान राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानतिर नै हुन्थ्यो। त्यसैले गर्दा मेरो पढाइ पनि बिग्रियो। एसएलसीको समेत सर्टिफिकेट छैन।

कलाकारितामा बुवाको प्रभाव 
मलाई कलाकारितामा बुवाको प्रभाव बढी पर्यो। गाउँमा बुवाले मानिसहरू जम्मा पार्ने र हसाउँने गर्नुहुन्थ्यो। जात्रा, भोज भतेरमा उहाँको खोजी हुन्थ्यो। मेरो दाजु पनि असाध्यै रमाइलो मान्छे। उहाँहरूको प्रभाव मलाई पनि परेको हुनुपर्छ।

विद्याश्रम पढ्दा म दिउँसो एक बजेको समयमा साझा बस चढेर रत्नपार्क जान्थेँ। त्यतिबेला राजाको मान्छे भन्दा सहचालकले पैसा माग्दैनथ्यो। गाडीमा राजाको मान्छे भने पनि रत्नपार्क पुगेपछि चटक देखाउँथे अनि औषधि पनि बेच्थेँ।

३८ सालमा अन्तर माध्यमिक विद्यालय नाटक प्रतियोगिता भयो। त्यतिबेला महिलाहरूले नाटकमा अभिनय नगर्ने भएकाले मैले महिलाको भूमिका निर्वाह गरेँ। त्यसमा मैले पहिलो पुरस्कार पाएँ। त्यसपछि नै हो मलाई नाटकको भूत सवार भएको अनि पढाइ बिग्रन थालेको।

त्यसपछि त जताजता नाटक हुन्छ, उतैउतै दौडिन थालेँ। खान र बस्नको ठेगान नभए पनि नाटक चाहिँ गर्नुपर्छ भन्ने लाग्यो। त्यतिबेला म प्राय उत्तम केसीकोमा बस्थेँ। एक जनालाई राखेको भात आधा-आधा त कयौं पटक खायौँ। राति त्यहाँ सोफामा सुत्थेँ म अनि भोलिपल्टै नाचघरमा पुगिहाल्थ्यौँ।

औषधि साइकलमा बोकेर दौडिन्थेँ
त्यतिबेला खेम शर्मा मेरो साथी थियो। अहिले अमेरिकामा बस्छ। उसले मलाई काम खोजिदियो, साइकलमा औषधि पुर्याउने। त्यो पुर्याए बापत पाँच सय रुपैयाँ पाउँथे। भाग्छ भनेर साहुले ५० रुपैयाँ काटेर राख्थे। मैले पनि ह्वस भनेर महिनाको चार सय ५० रुपैयाँमा काम गर्न थालेँ।

कामको समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको थियो। तर म राति १० सम्म पनि काम गर्थेँ। त्यो देखेपछि साहुले मेरो तलब महिनाको ६ सय रुपैयाँ बनाइदियो। त्यो समयमा क्षत्रपाटीको औषाधलयमा काम गर्थेँ म। त्यतिबेला त्रिभुवनको विश्वविद्यालयले सर्टिफिकेट लेबलको फार्मेसी पढाउथ्यो। म त्यो पढ्नका लागि योग्य थिइनँ।

त्यतिमात्र नभएर कम पढेकाहरूका लागि औषधि व्यवस्था विभागले होलसेलर भनेर तालिम दिन्थ्यो। त्यो तालिममा भने म पनि सहभागी भएँ। तालिमपछि मेरो हातमा प्रमाणपत्र आयो। प्रमाणपत्र पाए पनि मैले काम गरेको ठाउँ छोडिन, त्यहि ठाउँमा झण्डै २३ वर्ष काम गरेँ।

त्यसपछि वीपी स्मृति अस्पताल खुल्यो। अहिले त्यहीँ कार्यरत छु। त्यतिबेला विहान १० देखि साँझ ५ बजेसम्म क्षत्रपाटीको होलसेलमा र त्यसपछि बेलुका ५ देखि ९ बजेसम्म अर्को ठाउँमा काम गर्थेँ। लामो समय त्यसरी काम गरेँ मैले। अहिले पनि काम त गरिरहेकै छु तर आफ्नो अनुकुलले।
 
२५ वर्षसम्म टेलिभिजनमा बजेको त्यो विज्ञापन
नेपाल प्रज्ञा प्रतिष्ठानले त्यतिबेला गाईजात्रा गर्थ्यो, त्यो पनि सेन्सर गरेर। राजारानीले हेरेपछि मात्रै अरुले हेर्न पाइन्थ्यो। ४४ सालमा उत्तम केसी र मेरो जोडी भएर गाईजात्रा देखाइयो। त्यसमा मैले प्रशंसा पुरस्कार पनि पाएको थिएँ। त्यसअघि पनि गाईजात्रामा प्रस्तुतिको लागि निवेदन दिएको थिएँ तर सेन्सर पास भएको थिएन।

त्यसपछि भारतले नेपालमा ४६ सालमा नाकाबन्दी लगाएको बेला अन्तिम गाईजात्रा देखाइयो। त्यो गाईजात्रामा मैले सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड थापेको थिए। त्यसपछि मैले नाटकभन्दा बढी औषधिको कामतर्फ ध्यान दिन थालेँ। ४५ सालमा बिहे गरेकाले जिम्मेवारी थपियो। त्यसले मलाई अझ बढी काम गर्नुपर्छ भन्ने लाग्यो।

तर शैलेन्द्र सिम्खडा दाइले मलाई कलाकारिता छाड्न दिनुभएन। गाईजात्राकै लागि भने पनि मैले केही न केही गरिरहेकै हुन्थेँ। त्यतिबेला नेपाली फिल्ममा सिधै अभिनय गर्न पाइँदैनथ्यो। शाही नेपाली संस्थानमा अभिनयका लागि अडिसन दिनुपर्थ्यो। हामीले त चान्स पाउने सम्भावनै थिएन।

त्यहि झोकमा रवि गिरी, नरेन्द्र थापा लगायतका साथीहरूसँग सल्लाह गरेर भिडियो फिल्म ‘बन्धन’ बनायौँ। यो फिल्म भृकुटी मण्डपको तीन वटा हाइभिजन हलमा छ महिना चल्यो।

३६ वर्षअघि कुबेर गर्तौलाले निर्माण गरेको हजुरबा र नातिनीको वार्तालाप भएको पोलियो थोपासम्बन्धी विज्ञापन थियो। यो विज्ञापन टेलिभिजनमा दैनिक १० देखि १५ पटक २५ वर्षसम्म चल्यो। त्यसले मलाई धेरै चर्चामा पुर्यायो। बाटोमा हिँड्दा पनि मान्छेले मलाई चिन्थे।

राजनीतिमा लाग्दा १७ पटक जेल
४२ सालमा म सेन्ट्रल जेल परेँ। तीनधारा पाठशालाको छात्रवासका विद्यार्थीले देशको हरेक परिवर्तनमा प्रमुख भूमिका निर्वाह गरेका छन्। म पनि त्यहिँ बस्थेँ।

त्यहिँका विद्यार्थीको कमान्डमा आन्दोलन हुन्थ्यो। त्यहाँ बसेपछि मलाई पनि राजनीतिले छोयो। नमिता सुनिता हत्या काण्डको विरोधमा नै म १७ पटक जेल पुगेको छु। उनीहरूलाई पोखरामा बलात्कारपछि हत्या गरिएको थियो।

त्यसलाई दरबारले दबाउन खोजेको भनिएको छ। यो सुनेपछि विद्यार्थीहरूले आन्दोलन चर्काएका थिए। त्यसपछि हामी पनि उत्रियौँ। यति मात्र होइन, सुरज हत्याको विरोधमा पनि हामी आन्दोलनमा उत्रिएका थियौँ।

सुरज भनेको रुपन्देहीमा गिरिजाप्रसाद कोइराला बसेको घरमा प्रहरीले आक्रमण गर्दा मारिएका थिए। त्यो गोली खासमा गिरिजालाई हानेको भए पनि सुरजले छाती थापेपछि उनी मारिएका थिए।

आन्दोलनपछि प्रहरीले आन्दोलनकारीलाई समाउँथ्यो, त्यो पनि एकैपटक सात/आठ सय। जेलहरू पनि निकै ठूला थिए त्यो समय। सबै साथी-साथी भएकाले जेल पनि जेलजस्तो लाग्दैनथ्यो। त्यहिँ क्रान्तिकारी गीत र कविता भन्ने गरिन्थ्यो।

प्रहरीले आन्दोलनकारी एक ठाउँमा भेला नहुन् भनेर ठाउँ-ठाउँमा लगेर छोडिदिन्थ्यो, त्यो पनि सोधी सोधी। कलंकीमा बस्न मान्छेलाई चाबहिल अनि चावहिलमा बस्नेलाई कलंकी। त्यतिबेला गाडी पनि कम चल्ने हुनाले आन्दोलनकारी हिँडेरै थाक्थे।

तीन वर्ष पुरानो कोट लगाएर बिहे
मेरो बिहे नौ हजार रुपैयाँ खर्च गरेर ४४ सालमा भयो। त्यतिबेला सुन तोलाको ३७ सय रुपैयाँ थियो। मैले डेढ तोला सुन किनेँ। बेहुलीका लागि अलिकति उधारो कपडा लिएँ। आफूले त तीन वर्ष पुरानो कोट लगाएँ।

त्यतिबेला म थापाथलीमा कालमचन घाट नजिकैको घरमा बस्थेँ। त्यहाँ जोगीलाई भात पकाउने, मन्दिरमा पूजा गर्ने अनि स्कुल पढ्न जाने गर्थेँ। त्यहाँ बस्दा बस्दै अहिले मेरो काका ससुरा पर्नेले गाउँमा एउटा केटो छ। त्यसलाई पनि काममा राख्दिनुपर्यो भन्ने कुरा गर्नुभयो। मैले राखिदिएँ।

छोरालाई भेट्न ती केटाका बुवा आउने। म त्यतिबेला क्षत्रपाटीबाट औषधि लिएर पसल-पसलमा पुर्याउथेँ। बेलुका आउँदा त्यो पैसा कति भयो भनेर गन्थेँ। हिसाब त भोलिपल्ट बुझाउनुपर्ने हुन्थ्यो। अहिलेका मेरा ससुराबा त्यसमै झुक्किएछन् र छोरी दिनुभयो। बिहेबारी अहिलेसम्म राम्रै चलिराछ।

भदौ २७, २०८१ बिहीबार २३:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।