कांग्रेसको बैठकमा नेताहरूले नेतृत्वलाई नेपालमा पनि बङ्गलादेशमा जस्तै आन्दोलन हुनसक्ने चेतावनी दिए

कांग्रेसको बैठकमा नेताहरूले नेतृत्वलाई नेपालमा पनि बङ्गलादेशमा जस्तै आन्दोलन हुनसक्ने चेतावनी दिए

काठमाडौँ : नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले बङ्गलादेशमा निर्वाचित सरकारको प्रधानमन्त्री देश छाडेर भाग्नु परेको घटना नेपालमा पनि हुनसक्ने भन्दै सचेत हुन नेतृत्वलाई सुझाव दिए। 

संस्थापनइतर समूहका नेता शेखर कोइरालादेखि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसम्मले जनतामा बढ्दो आक्रोश सम्बोधन हुनेगरी सरकारले काम नगर्ने हो भने बङ्गलादेशमा जे भयो नेपालमा पनि दोहरिसक्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।

बङ्गलादेशमा सरकारको आरक्षण नीतिको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनलाई सरकारले दमनको प्रयास गर्दा बङ्गलादेशकी निर्वाचित प्रधानमन्त्री शेख हसिना देश छाडेर भाग्न बाध्य भएकी थिइन्। अहिले त्यहाँ सल्लाहकार परिषद् गठन भएको छ।

संस्थापनइतर समूहका नेता शेखर कोइरालाले आइतबारको बैठकमा दक्षिण एसियामा राजनीतिक हलचल छाउँदा निर्वाचित सरकारमाथि धावा बोलिएको तर्क गरेका थिए।

‘जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिँदै छ। अर्थात् दक्षिण एसिया अन्तर्राष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने सम्भावना बढेको छ’ उनले भने। 

दक्षिण एसियाको राजनीतिक द्वन्द्वले नेपाल र नेपालीको मनोभावमाथि प्रभाव परेको भन्दै उनले यसमा यो केन्द्रीय कार्यसमिति गम्भीर हुनुपर्ने बताए। मुलुक नसोचिएको सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता छाएको दाबी गर्दै उनले राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र नभई अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि रजाइँ गर्न पछि नपर्ने बताए।

उनले बङ्गलादेशको घटनाले सबैलाई उद्वेलित गरेको र नेपालमा बङ्गलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्य पद्धति र नैतिक पक्ष सशक्त हुनुपर्नेमा जोड दिए।

‘नेता र राजनीतिप्रति जनताको वितृष्णा बढ्दो छ। राजनीतिक दल, नेता, प्रणाली र संविधानमाथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा वेभ सृजना गर्न खोजिँदै छ,’ उनले भने‘यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको असङ्गति र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो दल भएको नाताले गम्भीरतापूर्वक सोचौँ।’

उनले छिटो-छिटो सरकार गठन र विघटन भइरहँदा विकासका गति अगाडि नबढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए। वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको र दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिने उनको तर्क थियो।

आइतबारकै बैठकमा अर्का केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बहुमतको दम्भ, निरङ्कुशता, तानाशाही, दमनकारी नीति तथा सुशासन कायम नगरी भ्रष्टाचार रोक्ने हो भने  निर्वाचित सरकार भए पनि पलायन हुन बाध्य हुने घटनाक्रम बढेको भन्दै पार्टी नेतृत्वलाई सचेत गराएका थिए।

उनले जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुल बाहिर लामखुट्टे कराएको जस्तो नठानी सुनुवाइ गर्ने संयन्त्रको विकास जरुरी रहेको अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुनसक्ने उल्लेख गरेका थिए।

बैठकमा उनले २०७८ साउनमा अफगानिस्तानबाट राष्ट्रपति असरफ घानीको पलायन, २०७९ असारमा श्रीलंकाबाट महिन्द्रा राजापाक्षको पलायन र  २०८१ साउनमा बङ्गलादेशबाट शेख हसिना वाजेदको पलायनलाई उदाहरणको रूपमा उल्लेख गर्दै उनले दक्षिण एसियामा द्वन्द्वको खतरा र सङ्कटजन्य अवस्था मडारिरहेको लेख्दै शासकहरू एकपछि अर्को पलायन भएको र यसका कारक पक्ष र पृष्ठभूमितर्फ राज्य र राजनीतिक दलहरूले सूक्ष्म विश्लेषण र अध्ययन गर्दै समयमै चनाखो हुनु जरुरी रहेको उल्लेख गरेका छन्।

साउन २६, २०८१ आइतबार १८:५०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।