‘विद्रोही चेत’की एमाले सांसद हर्कमायालाई लाग्छ- ‘ढाट्नु के छ र, अहिले पनि पार्टीभित्र विभेद छँदैछ’
त्यसबेला हर्कमाया विश्वकर्मा ३३ वर्षकी मात्र थिइन्। बिहे गरेको पनि १८ वर्ष बितेको थियो। २०६० सालमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुक उडे। त्यसको ठ्याक्कै एक वर्षपछि गाडी दुर्घटनामा श्रीमान्को निधन भयो। हर्कमायाको लागि सर्वस्व ढलेको कालो दिन थियो त्यो।
श्रीमान् विदेश जाँदा लिएको ॠणसम्म तिरिसकिएको थिएन। त्यसबेला पहिलो सन्तान (छोरा) कक्षा ९ मा पढ्दै थिए। उनी १४ वर्षका मात्रै थिए। अर्को छोरा ११ अनि कान्छी छोरी ७ वर्षकी थिइन्। अब तीनै सन्तानको रेखदेख हर्कमायाको काँधमा आइपुग्यो। तर, कत्ति पनि विचलित उनले आफ्नो जिम्मेवारी निभाइन् उनले।
श्रीमान् विदेश जाँदा घर बन्धकीमा राखेर गएकाले त्यहि समयमा उनले विर्तामोडस्थित आफूहरू बस्दै आएको घर र जग्गा बेचिन् अनि ॠण तिरिन्। त्यसपछि उनका जीवनका कठिन दिनहरू सुरू भए। त्यसपछि उनलाई लाग्यो- ‘मान्छेले महत्वाकांक्षा चैँ लिनुहुँदैन, तर बाँच्नु चैँ पर्छ।’
अधबैँशे उमेरमा श्रीमान् गुमाएकी थिइन्। सहाराका लागि कोही थिएनन्। तर, उनी रूँदै हिँडिनन्। हरेश मानिनन्। राजनीतिक गतिविधिमा निरन्तर सक्रिय भइरहिन्।
‘त्योबेला मैले खान पाइँन लौन भन्दै हिँडेको भए, त्यो गरिबीको फाइदा सबैले उठाउँथे,’ उनले सम्झिइन्, ‘रूँदै हिँडियो भने त दयाको पात्र भइन्छ, अधिकार कहाँ पाइन्छ र भन्ने लागेरै राजनीतिक कर्म गरिरहेँ।’
किनकि हर्कमायालाई थाहा थियो, अधिकार प्राप्ति गर्ने मजबुत अस्त्र राजनीति हो। अनि राजनीति लडेर हुन्छ, रोएर हैन।
०००
नेपाली समाजको पहिलो प्रमुख समस्या हो, पितृसत्ता अनि दोस्रो जातव्यबस्था। यी समस्याको समाधानको मूल जरो राजनीति। तर, पितृसत्ता अनि जातव्यबस्थालाई मलजल नै राजनीतिक दलहरूले गरेका छन्। जुन उनीहरूका व्यवहारले प्रमाणित गरेका छन्।
शीर्ष भनिएका दलहरूमा जातव्यबस्था जबरजस्त हावी छ। व्यवहारत: हेर्दा एमालेभित्र अझ ज्यादा छ। पछिल्लो पटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा मन्त्रिपरिषद्मा दलित समुदायलाई गरेको उपेक्षा होस् वा पटकपटक उनले दिएको आरक्षण प्रणाली विरोधी अभिव्यक्ति नै किन नहोस्, यसले एमालेभित्र जक्डिएको जात व्यवस्थालाई प्रमाणित गर्छ नै!
त्यसमा पनि दुईतिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले दलित उत्थानको निम्ति के गरे? अथवा ओलीकै नेतृत्वमा रहेको तत्कालीन नेकपाको सरकारले दलित ऐन किन बनाएन? आफूहरूसँग स्पष्ट बहुमत हुँदासमेत समान प्रतिनिधित्व हुनेगरी दलित समुदायलाई मन्त्रिपरिषद्मा किन अटाएनन्? अरू त अरू ओलीकै नेतृत्वकालमा सरकार भएको बेला रुकुम नरसंहार भयो, त्यसमा ओलीले एक वचन सम्बोधनसमेत गरेनन्।
रुपा सुनार प्रकरणमा आफ्नै नेतृत्वको सरकारको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदमाथिको कसूरकी अभियुक्त घरबेटी सरस्वती प्रधानलाई हिरासतबाट सरकारी गाडीमा छुटाएर लगे। ओलीले मौन समर्थन गरिदिए।
हालको एमालेभित्र भएका विभेद त कति हो कति। यो सबै हेरेर पनि जोकोहीलाई बाहिरबाट हेर्दा लाग्छ, एमाले र खासगरी यसको नेतृत्वमा जातीय अहंकारवाद उच्च छ। यस्तै लाग्दो रहेछ, एमालेकी प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मालाई पनि।
त्यसैले त ती सबै गोलमोटल प्रश्नको एकै वाक्यमा जवाफ दिइन्- ‘ढाट्नु के छ र, अहिले पनि पार्टीभित्र विभेद छँदैछ।’
०००
हर्कमाया झापाको लखनपुर-३ मा जन्मिएकी हुन्। परिवार निम्न मध्यम वर्गीय थियो। तर, पनि उनले पढ्ने कुरामा सम्झौता गरिनन्। स्थानीय मंगलदेवी प्राविमा कक्षा तीन सम्मको पढाइ गरिन्। त्यसपछि श्री वाणी प्रस्तावित निम्न माविबाट ८ सम्म पढ्दै थिइन्। त्यहीबेला विवाह भयो, ०४२ सालमा। विवाहपछि एक वर्ष माइतमै बसेर पढिन्। ९ कक्षासम्म अध्ययन गरेपछि उनले औपचारिक पढाइलाई बिट मारिन्।
कक्षा ६ मा पढ्दा उनी ११ वर्षकी मात्र थिइन्। एमालेको त्यसबेलाको प्रारम्भिक कमिटीमा रहिन्। तर, त्यो सुझबुझपूर्ण राजनीतिक कर्म चैँ थिएन।
०४२ मा विवाह गरेकी हर्कमायाको ०४५ मा छोरा जन्मियो। एक वर्षको छोरालाई काखमा च्यापेर ४६ को आन्दोलनमा सहभागी भइन्। सामान्य परिवारमा हुर्किएकी उनलाई व्यवस्थासँगै अवस्था पनि परिवर्तन हुने ठूलो आश थियो। त्यसैले काखमा एकवर्षे छोरा रहेको हेक्का नराखी पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सशक्त उपस्थिति जनाइन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाज (उजाउ) ०५१ सालमा गाउँ कमिटीमा रहेपछि उनको औपचारिक राजनीतिक यात्रा सुरू भयो। ०५१ देखि निरन्तर उजाउमा काम गरेकी उनी इलाका कमिटी अध्यक्ष हुँदै ०६२ सालमा उजाउको झापा जिल्ला सदस्य बनिन्। त्यसपछि उजाउकै राष्ट्रिय परिषद सदस्य बनिन्।
यता, मूल पार्टीतर्फ भने ०६१ मा अनारमनी गाविसको ३ नम्बर वडा कमिटी हुँदै गाउँ कमिटीको उपसचिव भइन्। ०६४ सालमा जिल्ला कमिटी सदस्यसम्म बनिन्। तर, पनि पार्टीको सदस्यता भने ढिलो गरेर लिइन्। यसको पनि आफ्नै कारण छ।
‘हामीलाई त कसैले भन्दैनथ्यो पार्टीको सदस्यता लिनुपर्छ भनेर। किनभने हाम्रो समुदायका नेता थिएनन् अनि अरू समुदायले हामीलाई सदस्य बन्न भन्ने कुरै थिएन’, उनले सुनाइन्।
उनका अनुसार धेरै दलित समुदायले ०६४ आसपासको समयमा मात्र एमालेको सदस्यता लिए।
अहिले उनी पार्टीको कुनै जिम्मेवारीमा छैनन्। मुक्ति समाजको केन्द्रीय सदस्य र महिला विभागको सचिवमा छिन्। प्रतिनिधिसभा सदस्य भइसके पनि उनलाई मूल पार्टीमा भने कुनै जिम्मेवारी दिइएको छैन। तर, पार्टीप्रति गर्नुपर्ने समर्पणमा कुनै कसर बाँकी राखेकी छैनन्।
उनले भावुक हुँदै प्रश्न गरिन्, ‘पार्टीको समर्पण के सोध्नुहुन्छ तपाईं, एउटी आमाले छोरा गुमाएको भोलिपल्ट पनि पार्टीकै काममा निस्किन सक्छे भने त्योभन्दा ठूलो समर्पण केही हुनसक्छ र?’
०००
मध्यम वर्गीय परिवारमा हुर्केकी उनी जब बिहेपछि सासुससुराबाट अलग्गै बस्न थालिन्, तब नाजुक आर्थिक अवस्थाको सामना गर्नुपर्यो। श्रीमान्ले गाडी चलाउने काम गर्थे र जीविका चलेको थियो। तर, अब त्यो पनि नहरे पनि हर्कमायाले संघर्ष छाडिनन्। छोरालाई स्नातक सम्मको पढाइन्। बुहारीलाई पनि पढाइन्। अहिलेसम्म पनि भाडाकै घरमा बस्छिन्।
श्रीमान्को मृत्युपछि घरमा गाई, बंगुरपालन गर्न थालिन्। घरको काम सकेर उनी सामाजिक र राजनीतिक काम गर्थिन्। राजनीतिक रूपमा एक तहको शक्ति हुँदासमेत उनले श्रीमान्को मृत्यु भएपछिको क्षतिपूर्ति पाउन सकिनन्। भलै, त्यसका लागि उनले कम मेहनत गरेकी भने होइनन्।
‘संघर्ष हो जीवन, जीवन संघर्ष हो भन्ने बुझेको थिएँ’, उनले भनिन्।
छोराको पनि दुर्घटनाबाट मृत्यु भयो। ०७१ सालको दशैंको टीकाकै दिन। यी सबै कुराको बादजुद पनि उनी कहिल्यै विक्षिप्त बनिनन्। एकल महिलाका रूपमा समाज र राजनीति दुवै क्षेत्रमा उनले अनेकन् आक्षेपहरू ब्यहोर्नुपर्यो।
त्यसैले त उनलाई लाग्यो- ‘पितृसत्तात्मक समाजमा महिला चेपिएका छन्। तर, महिलाकै कारण हामीजस्ता एकल महिला थप पीडामा छौँ। त्यै भएर पितृसत्ता भत्काउन पहिला महिलाले महिलालाई बुझ्नुपर्छ।’
०००
‘तपाईं त दलित पनि, आर्थिक रूपमा विपन्न पनि, महिला पनि अनि त्यसमा पनि एकल महिला। यी कुराहरूले राजनीतिमा कस्तो प्रभाव पार्ने रहेछ?’
उनलाई लाग्छ- ‘सबैभन्दा प्रभाव जातले पार्छ। म जतिसुकै पढेलेखेको भए पनि, पार्टीको लागि जति मरिमेटेको भए पनि मेरो जात केहो भन्नेले माने राख्छ। आज हर्कमाया घिमिरे थियो, दाहाल थियो, ओली थियो भने त्यसले स्पेश पाउँथ्यो। तर, म दलित महिला। अरू केही भनिरहनुपर्यो र अब?’
सानैदेखि थुप्रैखाले विभेद झेलेर आएकी हर्कमाया कम्युनिस्ट पार्टी भएकाले त्यहाँ विभेद हुँदैन भन्ने सुनेर एमालेमा लागेकी रहिछन्। एमालेभित्र वर्गीय विभेद हुँदैन, जातीय विभेद हुँदैन, लैंगिक विभेद हुँदैन, समानताको कुरा अनुभूत गर्न पाइन्छ भनेर एमालेमा लागेको उनले सुनाइन्। तर, अहिले पनि पार्टीभित्र जातीय विभेद भोगेको उनको तीतो अनुभव छ।
‘पार्टीभित्र जातव्यबस्था हावी छ भन्ने यो साहस त राख्नुभयो, यसको मूल्य महंगो पर्ला नि पार्टीमा?’
उनले खँदिलो जवाफ दिइन्, ‘हामीले यो कुरा बोल्ने आँट गरेनौँ भने, ढाट्यौँ भने आउने पुस्ताले सराप्छ हामीलाई। यथार्थ के हो हामीले बताउनुपर्छ। फेरि यो कुरा लुकाएर लुक्दैन पनि। अहिले हाम्ले ढाट्ने हो भने आउने पुस्ताले दु:ख पाउँछ।’
हुन त पार्टीमै रहेर पद आर्जन गरौँ भन्ने लोभ पनि छैन हर्कमायामा। अनेकन् संघर्षका बाबजुद पनि अघि बढेर समाजमा स्थापित हुन सकेकोमा प्रेरणाको स्रोत बन्ने र यहीँ समाजमा रहने उनको चाह छ। त्यसैले पनि पार्टीभित्रको विभेद्बारे बोल्न हिच्किच्याउँदिनन् उनी।
नेपालको कुनै एउटा त्यस्तो क्षेत्र बाँकी नहोला, जहाँ जातव्यबस्था हाबी नभएको होस्। फरक यत्ति हो, कहिँ कम कहिँ बेसी होला। त्यसो हुँदा राजनीतिक दलभित्र जातव्यबस्था नहुने कुरै भएन। तर, त्यो दलभित्र भएका जातव्यबस्थाले तल पारेका जनजाति, दलित लगायतले भन्नै सक्दैनन् कि- हाम्रो पार्टीभित्र जातीय विभेद छ। हर्कमाया विश्वकर्माले भने भन्न सकिन्।
किनकि पार्टी वा पार्टीबाहिर संघर्ष गर्दै आएको उनको लामो इतिहास रहेछ। हाम्रो बुझाइमा उनी विद्रोही चेत भएकी महिला रहिछन्, त्यसकारण पनि बोल्न सकेकी हुँदी हुन्।
मुक्ति समाजमा काम गर्दैगर्दा ०५१ सालमा गठन भएको उत्पीडित अधिकार मन्च भन्ने एनजीओमा रहेर काम गरिन् हर्कमायाले। त्यसैको कारण विभिन्न क्षमता विकासका तालिममा सहभागी हुने, संविधान सभा, संघीयता, दलित तथा उत्पीडित समुदायको मुद्दालाई बुझ्ने मौका मिल्यो। त्यसैको प्रभावले हुनसक्छ, दलित लगायतका उत्पीडितका मुद्दामा उनी खरो उत्रिने कोसिस गर्छिन् आजसम्म पनि।
०००
दक्षिण एसियायी समाजमा महिलाहरूलाई सामाजिक गतिविधि अनि राजनीति गर्न थुप्रै कुराको बाधा आइपर्छन्। बिहे नहुन्जेल पितृसत्ताले लादेको चुलोचौकाको सीमित घेरा, बिहेपछी गृहस्थी जीवन, परिवार, छोराछोरी अनि अरूअरू। अझ त्यसमा पनि बिहेपछि फरक राजनीतिक विचार भएको परिवार पर्यो भने? यस्तै भयो हर्कमायालाई पनि।
उनको विवाह मोरङमा भएको भए पनि उनी श्रीमान्सँग झापाकै विर्तामोडमा घर बनाएर बस्न थालिन्। र, त्यहीँबाट राजनीतिक यात्रा पनि अघि बढिरह्यो। तर, त्यसअघि सासु-ससुरासहित मोरङमै रहँदा भने उनको राजनीति निस्सासियो। किनभने उनको श्रीमान्मा घरमा सबै जना कांग्रेस समर्थक हुनुहुन्थ्यो। त्यसो हुँदा हर्कमायाले आफ्नो क्रियाशील राजनीति गर्न पाइनन्/सकिनन्।
‘उहाँहरू कांग्रेसको भएकाले मलाई एमालेमा क्रियाशील भएर लाग्न त बन्देज नै थियो’, उनले सम्झिइन्।
तर, पनि एमालेका सभा-समारोहहरूमा सहभागी हुन, सामान्य उपस्थिति जनाउन भने लचक भएको उनले बताइन्। घरपरिवारलाई बिगारेर आफूलाई एमालेको सक्रिय राजनीति गर्न उनको मनले मानेन। अनि नचाहेरै निष्क्रिय रहिन्।
०००
एमाले अध्यक्ष ओलीले खुलेआम समानुपातिक प्रणाली र आरक्षणको विरोध गरेको हर्कमायालाई पनि चित्त बुझेको छैन। त्यसैले त्यो अभिव्यक्तिको आफूले पनि आलोचना गरेको उनले सुनाइन्।
तर, पछिल्लो समय भने त्यसलाई मनन गर्दै जाँदा अध्यक्ष ओलीले आरक्षण मात्र भन्दा पनि क्षमता पनि बढाउनुपर्छ भन्ने तरिकाले बोलेको भन्दै ओलीले जवाफ दिएपछि आफू चुप बसेको भन्दै ओलीको बचाउ गरिन्।
‘उहाँ (ओली)को बुझाइ पढ्नुपर्छ, सक्षम हुनुपर्छ, योग्य हुनुपर्छ भन्ने रहेछ। पार्टीकै कुरामा पनि अरूको तुलनामा समावेशी स्थान दिने पार्टी एमाले नै हो’, उनको दाबी छ।
त्यतिमात्र हैन, उनको थप अर्को दाबी छ। दलितको मुद्दा स्थापित गर्न एमालेभित्र विभिन्न छलफल तथा अन्तर्क्रिया भइरहेको छ।
‘स्थानीय तहदेखि प्रदेश हुँदै संघसम्म दलितलाई स्थान दिने पार्टीमा एमाले अगाडि रहेको छ, तर सँगैमा जे हुनुपर्ने हो त्यो पक्कै छैन’, उनले भनिन्।
ओलीको बचाउ गरे पनि पार्टीभित्र हुने विभेदबारे उनी थप खुलिन्। पार्टीका नेताहरूले अन्य नेतासँग बोल्ने र दलित नेतासँग बोल्ने तरिकामै विभेद रहेको उनी बताउँछिन्।
गएको संसदीय निर्वाचनमा हर्कमाया समानुपातिक सांसदको रूपमा भोट माग्न खटिइन्। तर, त्यसबेला पनि दलित समुदायकै भएको कारण नमीठो विभेद महसुस गरिन् कयौंपटक। भोट माग्न जाँदा प्रत्यक्ष तर्फका उम्मेदवारलाई खादा, माला, अबिर पहिरिएर सम्मान गर्थे। युवापंक्तिहरू फोटो खिच्ने, टिकटक भिडियो बनाउने गर्थे।
तर, समानुपातिक उम्मेदवार हुनु त्यसमा पनि म फलानो विश्वकर्मा भएको बताएपछि टीका, माला लगाइदिनै हिच्किच्याए। फोटो खिच्नु त परको कुरा।
यी सबै नियाल्दै गर्दा हर्कमायालाई बेलाबेला त दिक्क नलागेको पनि होइन। तर, समाजको यथार्थलाई नजिकबाट नियालेकी उनले ती सबैकुरा ढटेर सामना गरिन्।
पैसा नहुनु पनि राजनीतिमा अर्थ राख्छ हैन त?
उनले सहज भएर भनिन्- ‘मसँग गाडी छैन, कार्यकर्तालाई पेट्रोल हाल्दिन सक्दिनँ भने त राजनीति कहाँ सम्भव छ र?’
०००
सांसद हुनुअघि सम्म हर्कमायालाई दलित सांसदहरूले आफ्नो मुद्दामा आवाज प्रखरित गर्न नसकेको जस्तो लाग्थ्यो। तर, यो डेढ वर्षको संसद्को यात्रामा उनले भिन्न महसुस गरिन्।
‘हामीलाई त संख्याको मात्र पो सांसद बनाएको रहेछ नि, हाम्रो त कुनै पावरै छैन’, फेरि निराश देखिइन् उनी।
एमालेको मात्र कुरा होइन, अहिले भएका सबै दलले संविधानले बाध्यकारी बनाएकाले मात्र दलित लगायतका उत्पीडितहरूलाई सांसद बनाएका हुन् भन्ने लाग्छ उनलाई।
दलित समुदायबाट प्रतिनिधित्व गर्ने १६ जना सांसदहरूको आवाज मधुरो रहेको देखिन्छ। तर, हर्कमायाले आफूहरूले पटक-पटक बोल्दा पनि सार्थकता नपाएको कारण बोल्नै मन लाग्न छोडेको सुनाइन्।
चालू आवको बजेटमा पनि सार्थकता नै नपाउने देखेपछि दलित मुद्दामा रहेर कुरा उठाउनै मन नलागेको उनले महसुस गरेकी थिइन्।
‘मैले पटक-पटक दलितको विषयमा कुरा उठाएँ, दलितको कला र सीपलाई आधुनिकीकरण गर्दै दलित प्राधिकरणमा जोडिनुपर्छ भनेर उठाएँ। तर, नीति तथा कार्यक्रममा आयो, बजेटमा आएन। अनि यो राज्य के चाहन्छ? किन संवेदनशील छैन दलितको मुद्दामा?’, उनले सुनाइन्।
दैनिकजसो जातीय विभेदका घटना घटिरहेको परिस्थितिमा आफूले अन्य विषयमा सदनमा आवाज उठाउन नपाएको उनको गुनासो छ।
‘कहाँ अन्तरजातीय बिहे गर्छ, दलित युवा मारिइन्छ, कहाँ दलितले गैरदलितलाई केटीलाई प्रेम गर्छ बलात्कारको केसमा त्यो केटो जेल जान्छ, कहाँ मन्दिर पस्न नपाएर दलित नै मारिइन्छन्। ती विषयमा अरू सांसद्ले किन बोल्दैनन्?’, उनले सोधिन्।
दलित विषय केन्द्रित घटना घटेको थाहा पाएपछि नेताहरूले नै यो विषयमा तपाईं बोल्नुस् न भन्छन् तर कहिल्यै पनि हामी बोल्छौँ भन्दै भन्दैनन्। तर, त्यो विषयमा गैरदलितले बोल्दा अझ प्रभावकारी हुन्छ भन्ने नबुझेको उनको गुनासो छ। यसैलाई विभेदको रूपमा महसुस गरेकी छन् हर्कमायाले।
यसै सन्दर्भमा एक महिनाअघि एमाले सांसद रघुजी पन्तले दलित केन्द्रित विषय उठाए। तर, यसको वास्तविकता भने अर्कै छ। रघुजी पन्त आफैँले सुझबुझपूर्ण रूपमा दलितको विषयमा बोलेका होइनन्। हुन पनि उनलाई दलितको मुद्दामा के लेनादेना? आफ्नो पटक-पटकको अनुरोधपछि पन्तले त्यो विषय उठाएको हर्कमायाले खुलाइन्।
०००
यतिबेला प्रधानमन्त्री ओलीकै नेतृत्वमा समानुपातिक समावेशीता हटाउनेगरी संविधान संशोधन गर्ने चर्चा छ। तर, निर्वाचन प्रणालीलाई अन्य तरिकाले फेतबदल गरियो भने दलित समुदाय पछि पर्ने पक्कापक्की रहेको हर्कमाया बताउँछिन्।
त्यसका लागि संसद्मा आफ्नो मुद्दा स्थापित गराउन १६ जना नै सांसद एकत्रित हुनुपर्ने उनको तर्क छ। दलित वर्ग फेरि एकपटक जुर्मुराएर जाग्नुपर्ने, संविधानलाई अझै प्रगतिशील बनाउनुपर्ने, भएका दलित शसक्तिकरणका कानुनहरू प्रभावकारी बनाउँदै अरू थप गर्नुपर्ने उनले सुझाइन्। र, त्यसका लागि सबैभन्दा पहिला पार्टीभित्र आन्तरिक संघर्ष गर्नुपर्नेमा उनको जोड छ।
१६ जना सांसदहरू यहीँ समाजलाई भोगेर गएका पात्रहरू छन्। उनीहरू सबैले कहिँ न कहिँ दलित भएकै कारण विभेद भोगेका पक्कै छन्। त्यसैले पनि यो मुद्दामा उनीहरू दृश्य वा अदृश्य रूपमा एक ठाउँमा रहेको र दलित समुदायमाथि प्रतिगमन हुनेगरी संविधान संशोधन हुँदै नहुने भयो भने प्रतिवाद हुने उनले चेतावनी दिइन्।
०००
संविधानले उत्पीडितलाई समावेशी अधिकार दिएको छ। तर, यसको व्यावहारिक पाटो निकै कहालीलाग्दो छ। जस्तो कि, प्रत्येक स्थानीय वडामा एकजना दलित महिला अनिवार्य निर्वाचित हुने व्यवस्था छ। निर्वाचित हुन्छन् पनि।
तर, व्यावहारिक रूपमा चुनाव जितेपछिको ५ वर्ष भूमिकाविहीन बनाइन्छन् उनीहरू। एकाधलाई छोड्ने हो भने वडामा रहेका अधिकांश महिला र दलित महिला सदस्यलाई कार्यापालिकामा ताली बजाउन र हस्ताक्षर गर्ने मात्र जिम्मेवारी दिइन्छ।
०७४ मा विर्तामोड नगरपालिका ५ नम्बर वडामा दलित महिला सदस्यमा चुनाव जितेर काम गरेकी हर्कमायाले पनि यस्तै अनुभव सङ्गालिन्।
निर्वाचन आयोगको क्रम हेर्दा मेयर, उपमेयर, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य दुई सदस्य निर्धारण गरेको छ। तर, विर्तामोड नगरपालिकाको कार्यापालिका बैठकहरूमा मान्युट लेख्दा दलित महिला सदस्यहरूलाई सबैभन्दा मुनि राखियो।
कार्यापालिका सदस्यसमेत निर्वाचित भएकी हर्कमायाले दुईपटक सहिन्। तर, अर्कोपटक भने उनलाई सहिबस्न मन लागेन।
त्यसपछि उनले नगरसभामा सोधिन्, ‘दलितलाई चैँ पछाडि लेख्नुपर्छ भनेर तपाईंहरूलाई कसले सिकायो? निर्वाचन आयोगभन्दा माथि हो तपाईंहरू?’
त्यसपछि प्रत्येक वडा अध्यक्ष, सचिवहरू बाध्य भएर त्यसयता सुधार गर्न थाले।
०००
जातव्यबस्था भत्काउने अन्तिम अस्त्र राजनीति हो। जातव्यबस्थाले सबैभन्दा पिँधमा परेको समुदाय दलित समुदाय हो। त्यसैले पनि दलित समुदाय राजनीतिमा जबर्जस्त उपस्थित हुनुपर्छ।
तर, यही कुरा आफ्नो समुदायलाई बुझाउन नसकेकोमा हर्कमाया चिन्तिन छन्।
‘हामीले जतिसुकै सामाजिक कुरा गरे पनि, एनजीओ/आईएनजीओको कुरा गरेपनि, शिक्षा र सचेतनाका कुरा गरे पनि देशको राज्यसत्ता हत्याउने अस्त्र राजनीति नै हो, त्यहाँबाट मात्र वास्तविक मुक्तिको मुद्दा स्थापित गराउन सकिन्छ, यत्ति कुरा दलितहरूले बुझाउन सके धेरै प्राप्ति हुनसक्छ’, उनले भनिन्।
जातका कुराका यसअघिका अंक
साउन ४, २०८१ शनिबार १०:११:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।