कमेडी च्याम्पियनबाट जोक काटिएपछि हिमेश पन्तले भने, ‘कैलाश सिरोहियाको मुटु र नागरिकता दुईटै कमजोर छ’

कमेडी च्याम्पियनबाट जोक काटिएपछि हिमेश पन्तले भने, ‘कैलाश सिरोहियाको मुटु र नागरिकता दुईटै कमजोर छ’

काठमाडौं : कमेडी च्याम्पियनका विजेता एवं कमेडियन हिमेश पन्तले कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलास शिरोहियाको सार्वजनिक जीवनमाथि गरिएको जोक काटिएको बताएका छन्।

तेस्रो संस्करणको कमेडी च्याम्पियनमा पन्तले आफ्नो प्रस्तुति दिएका थिए। उनले प्रस्तुति दिएको उक्त शो बिहीबार प्रसारण भएको थियो। कार्यक्रममा उनलाई अतिथि कलाकारको रूपमा बोलाइएको थियो। शोमा उनको १५ मिनेटको प्रस्तुति समावेश गरिएको छ।

प्रस्तुतिमा कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलास शिरोहिया र प्रबन्ध निर्देशक समेत रहेका उनका छोरा सम्भव सिरोहियामाथि कुनै पनि जोक समावेश छैन। कान्तिपुर टेलिभिजनबाटै प्रसारण हुने भएकाले आफ्नो जोक काटिएको हुनसक्ने पन्तले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘कान्तिपुरमा अनएयर भएर होला, कमेडी च्याम्पियनको सेटमा सिरोहियाको बाउ-छोराको सार्वजनिक जीवनमाथि गरेको जोक नै काटिदिएछन्,’ उनले भने, ‘बीचमा एउटा लाइन थियो, नभन्दै त्यसले सार्थकता पायो– कैलाश सिरोहियाको मुटु र नागरिकता दुईटै कमजोर छ।’

सिरोहियाले दोहोरो नागरिकता प्रयोग गरिरहेको उजुरीपछि धनुषा जिल्ला अदालतको अनुमतिमा उनी जेठ आठ गते पक्राउ परेका थिए। पक्राउ परेको केही दिनपछि मुटुको समस्या आएको भन्दै उनलाई एयरलिफ्टमार्फत काठमाडौं पठाइएको थियो।

हिमेश पन्त गतवर्षको आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए। उनी विजयी हुन नसके पनि त्यहाँका स्थानीयले १२ हजार ४६ मत भने दिएका थिए।

सम्बन्धित समाचार

असार ६, २०८१ शुक्रबार ११:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।