सम्भवको दाबीजस्तै शिवजी तेलीले रवि गृहमन्त्री भएको केही महिनापछि नागरिकताको प्रतिलिपि लिएका हुन् ?

सम्भवको दाबीजस्तै शिवजी तेलीले रवि गृहमन्त्री भएको केही महिनापछि नागरिकताको प्रतिलिपि लिएका हुन् ?

काठमाडौँ : कान्तिपुर ग्रुपका म्यानेजिङ डाइरेक्टर सम्भव सिरोहियाले आफ्ना बाबु तथा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता नम्बर मिलेका शिवजी साहु तेलीको प्रतिलिपि रवि लामिछाने गृहमन्त्री भएको केही महिनामा जारी भएको दाबी गरे।

शुक्रवार सार्वजनिक भएको भिडियो सन्देशमा उनले भनेका छन्'जोसँग कैलाश सिरोहियाको ४०-४५ वर्ष पुरानो नागरिकताको नम्बर मिलेको भनिएको छ त्यो मान्छेको प्रतिलिपि नागरिकता रविजी गृहमन्त्री भएपछि मात्र इस्यु भएको छ, केही महिना अगाडी।'

उनले भिडियोमा सिडिओ गृह मन्त्रालय अन्तर्गतको रहेको र सिडिओको सुरक्षामा भएको लाखौँ नागरिकतामध्ये कैलाश सिरोहियाको नम्बर मिलेको रास्वपाको कार्यकर्ताको हातमा कसरी पुग्यो? भन्ने प्रश्न गर्दै शङ्का गरेका छन्' नम्बर मिलेको हो कि मिलाइएको हो।'

सम्भवको प्रश्न गम्भीर थियो। उकेराले तेलीको नागरिकताबारे यथासम्भव खोजबिन गर्यो। उकेराको खोजमा तेलीले पहिलो प्रतिलिपीलिँदाको मिति २०७६ देखियो जुनबेलामा रवि गृहमन्त्री त के राजनीतिमा समेत प्रवेश गरेका थिएनन्।

उकेराले प्राप्त गरेको तथ्य अनुसार तेलीले २०३६ भदौ २० गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता लिएको देखिन्छ। उनको नागरिकताको प्रमाण पत्र मात्रै हैन उकेराले जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको नागरिकताको ढड्डा समेत फेला पारेको छ जहाँ उनको नागरिकता नम्बर र उनको प्रमाण पत्रमा रहेको नागरिकता नम्बर एकै छ।

उनले नागरिकताको पहिलो प्रतिलिपि २०७६ माघ २६ गते निकालेका थिए। प्रशासकीय अधिकृत दीपककुमार कर्णले उनको नागरिकतामा हस्ताक्षर गरेका छन्।

तेलीको नागरिकताको ढड्डाको विवरणसहित प्रथम र दोस्रो प्रतिलिपी निकालेको मिति। सँगै निर्वाचन आयोगले जारी गरेको मतदाता पत्र।तेलीले नागरिकताको दोस्रो प्रतिलिपि २०८० पुस २० गते निकालेका थिए। उनको दोस्रो प्रतिलिपिमा प्रशासकीय अधिकृत रश्मि किरणले हस्ताक्षर गरेकी छिन्। 

रवि पहिलो पटक २०७९ पुस ११ मा उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको ठहर गरेपछि उनको मन्त्री, सांसद र पार्टी अध्यक्षको पद माघ १३ मा एकै पटक गएको थियो। उनी दोस्रो पटक २०८० फागुन २३ मा गृहमन्त्री नियुक्त भएका थिए।

उकेराको खोजमा तेलीको नागरिकता विवरण मात्रै हैन २०५७ जेठ ३१ गते निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय पत्र समेत फेला पर्यो जसमा उनको नागरिकता नम्बर उही छ।

कैलाश सिरोहियाले सार्वजनिक गरेको विवरणमा उनले तेलीले भन्दा पाँच दिन पछि नागरिकता लिएको देखिन्छ। तेलीले भदौ २० मा नागरिकता लिएको देखिन्छ भने सिरोहियाले भदौ २५ मा नागरिकता लिएको देखिन्छ।

सिरोहियाले पहिलो प्रतिलिपि २०५७ असोज २९ गते निकालेको देखिन्छ। तर उनले पहिलो पटक नागरिकता कुन मितिमा लिए, कुन प्रकारको नागरिकता, के आधारमा लिए भन्ने प्रमाणहरू प्रहरीले फेला पारेको देखिएन।

सम्भवले भिडियोमा दुई व्यक्तिको नागरिकताको एकै नम्बर मिल्नु सामान्य घटना र प्रमुख जिल्ला अधिकारीले नै सच्याउन सक्ने विषय भएको दाबी गरेका छन्।

उकेराले प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका केही अधिकारीहरूसँग कुरा गर्दा नागरिकता लिँदा सबै प्रमाण पुगेको, कुनै शङ्कास्पद कागजपत्र नरहेको तर नम्बर मात्र अर्को व्यक्तिसँग जुधेको अवस्थामा नम्बर जुधेका नागरिकताको नम्बरमा क, ख वा अर्को नम्बर राखेर संशोधन हुने गरेको खुल्यो।

सम्बन्धित समाचार

जेठ २५, २०८१ शुक्रबार १६:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।