रविले समाचार लुकाउन गरेको अनुरोध नमान्दा सिरोहियालाई पक्राउ गरिएको छोरा सम्भवको दाबी

रविले समाचार लुकाउन गरेको अनुरोध नमान्दा सिरोहियालाई पक्राउ गरिएको छोरा सम्भवको दाबी

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको समाचार लुकाइदिनका लागि गरेको अनुरोध नमान्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन्।

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनका छोरासमेत रहेका प्रबन्ध निर्देशक सम्भवले दाबी गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जालमामार्फत एक भिडियो जारी गर्दै उनले भनेका छन्, ‘रवि लामिछानेको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नु भएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो।’

बुवा कैलाश नौ सन्तानमध्ये कान्छो भएको र उनको जन्म हुँदा हजुरबुवा घासिरामले नेपालको नागरिकता प्राप्त गरिसकेकाले बुवाले वंशजको नागरिकता पाएको सम्भवको जिकिर छ।

‘कैलाश सिरोहिया, हामीजस्तै नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो। दाइहरू जन्मँदा हजुरबुवाले नागरिकता प्राप्त गर्नुभएको थिएन। नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो। यति सामान्य कुरालाई के-के न जस्तो हल्ला गरियो’, उनले भनेका छन्।

नागरिकता ऐन २०२० ले यो ऐन जारी भएपछि नेेपालमा जन्मिएका र जन्मको बेलामा उनको बुबा नेेपाली नागरिक भएको अवस्थामा बंशज नागरिकता पाउने प्रावधान छ। यो ऐन २०२० फागुन १६ मा जारी भएको हो।

तर नागरिकतामै सिरोहियाको जन्म मिती २०१९ उल्लेख छ। यसले सम्भवकै दाबीले नि नागरिकताको प्रकारमा भने कैफियत देखिन्छ।

प्रहरीले कैलाशसँगै उनका दाजुहरूको नागरिकतालाई पनि छानबिनको दायरामा ल्याएको छ। कैलाश सिरोहियाको दुई दाइले जन्मसिद्ध नागरिकता प्रयोग गरेको बारेमा समेत धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ। सिरोहियासँगको बयानमा उनको नागरिकताको प्रकार र दाइहरूको नागरिकताको प्रकारबारे समेत प्रश्न सोधिएको देखिन्छ।

२०३३/०३४ को धनुषामा रहेको बालिग रेकर्डमा विदेशी बाबुबाट जन्मिएका सन्तानको सूचिमा कैलाशसहित उनका दुई दाइ र एक दिदीको नाम उल्लेख छ। सो रेकर्डमा उनका दाइ र दिदीको अङ्गीकृत र कैलाश सिरोहियाको जन्मसिद्ध लेखिएको छ।

बयानमा कैलाशले आफू विदेशी नागरिकको सन्तान नभई नेपाली बाबु आमाको सन्तान भएको र जन्मसिद्ध नभई वंशज भएको दाबी गरेका छन्। तर सम्भवको भिडियोमा कैलाश सिरोहियाको दाइ र दिदी जन्मँदा कैलाशका बाबु घासिरामसँग नेपाली नागरिकता नभएको देखिन्छ।

शिरोहियाले पनि बयानमा बाबुको नागरिकताको प्रतिलिपि रहेको तर प्रकार र जारी मिति प्रस्ट नभएको दाबी गरेका थिए।

ढड्डामा उमेर मात्रै रहेको तर नागरिकतामा जन्ममिती राखिएको, नागरिकता लिएको मिति र जन्ममितीबीचको अन्तर नागरिकता प्राप्त गर्न चाहिए तत्कालीन उमेर १८ वर्ष भन्दा कम भएको विषयमा प्रहरीले किर्तेमा अनुसन्धान गरिरहेको छ।

सम्भवले भिडियोमा किर्ते गरेको दाबी समेत झुट भएको प्रमाणित भइसकेको दाबी गरेका छन्। फरक फरक कम्पनीको लगतमा फरक फरक नागरिकता नम्बर हुनु टाइप मिस्टेक भएको उनको दाबी छ।

नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ परेका थिए। उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते खोजेको बखत उपस्थित हुने सर्तमा छोरा सम्भवको रोहवरमा  हाजिर जमानीमा छाडेको थियो।

सम्बन्धित समाचार

जेठ २५, २०८१ शुक्रबार १०:४९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।