ज्योति कोइरालाको हिजोको कुरा : दाइको मृत्युपछि फाप्दैन भनेर पढ्न पाइनन्, ८६ वर्षमा रेकर्ड गर्दैछिन् ७० वर्ष पुराना लोकभाका

ज्योति कोइरालाको हिजोको कुरा : दाइको मृत्युपछि फाप्दैन भनेर पढ्न पाइनन्, ८६ वर्षमा रेकर्ड गर्दैछिन् ७० वर्ष पुराना लोकभाका

पाल्पाको धारापानीमा जन्मिएकी गायिका तथा सर्जक ज्योति कोइराला उमेरले ८६ वर्ष पार गरिसकिन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनी अहिले ७० वर्ष पुराना लोकभाका रेकर्ड गर्न व्यस्त छिन्।

गीत गाउने सोख बाल्यकालदेखिकै भए पनि छोरीले गीत गाउन र अपरिचितसँग बोल्न पनि निषेध हुने अवस्थामा तीजमा गीत गाएरै सोख पुरा गरिन्। तीज बाहेक अन्य बालमा लुकेर गीत गाउनुपर्ने अवस्था अहिलेका पुस्ताका लागि किंवदन्ती समाज लाग्न सक्छ।

त्यतिबेला सुनेका र आफूले गाएका केही लोकभाकामध्ये ‘म घर आएको’,‘गैरी खेत’गरी चार वटा गीत रेकर्ड गराइसकेकी छिन् उनले। उनै कोइरालाले उकेराको हिजोको कुरा स्तम्भका लागि बाँडेको हिजोका कुराहरू :

लुकी लुकी गीत गाइन्थ्यो

पहिला छोरीहरूलाई गीत गाउन अनुमति थिएन। मैले थाहा पाउँदा मेरो दिदीहरूले अलिअलि गुनगुनाउनु हुन्थ्यो। अरुबेला भन्दा पनि तीजमा उहाँहरूले गाउनुहुन्थ्यो।

अरू बेलामा गीत गाउन त परको कुरा,कसैसँग बोल्न पनि पाइँदैनथ्यो। अझ विशेष गरेर केटाहरूसँग बोल्नै हुँदैनथ्यो। उनीहरूसँग बोल्यो भने,‘त्योसँग किन बोलिस्,के थ्यो बोल्ने काम भन्दै बुबा-आमाले थर्काउनुहुन्थ्यो। अहिलेकाहरुलाई हैन होला भन्ने लाग्न सक्छ। तर त्यतिबेलाको समय त्यस्तै थियो।

तीजमा दिदीहरू डाँडामा गएर गीत गाउनुहुन्थ्यो। त्यहिबेला हामीहरू पनि साथी साथी भएर गीत गाउँन्थ्यौ। अरू बेला भनेको धान रोप्दा,बुबा आमा कसैले नसुन्ने गरी कुनै काम गरेको समयमा गाउनुपर्थ्यो। नत्र गाली खाइन्थ्यो।

छोरीहरूलाई गीत गाउन प्रतिबन्ध समान थियो। गीत गाउन मन लाग्थ्यो। तर डरले गीत गाउन सकिएन। दिदीहरूले गाएको गीत सुनेर म कण्ठ पारेको थिएँ।

अहिले यो ८६ वर्षको उमेरमा पनि त्यो बेलामा कण्ठ गरेको गीतहरू याद छ। त्यतिबेलाको लोकभाका लोप नहोस् भनेर अहिले रेकर्ड गरिराखेको छु।

बिहे गर्दा श्रीमानसँग बोलचाल भएन

मेरो विवाह १३ वर्षको उमेरमा भएको हो। दिदीहरूको विवाह अलिक चाँडै भएको थियो। मेरो मात्रै हो १३ वर्षको हुँदा विवाह भएको। त्यतिबेलाको चलनमा श्रीमानको अनुहार हेर्न पाइँदैनथ्यो। किनभने विवाहको दिन घुम्टो लगाएर हिँडाइन्थ्यो। रुँदै रुँदै बेहुलाको घर पुगिन्थ्यो। मैले मेरो श्रीमानको अनुहार झलक्क डोली बोकेर लैजाँदा बाटोमा देखेको थिए। नत्र अहँ कहाँ देख्नु।

त्यतिबेला एउटा गीत थियो ‘ए आमा म रुँदा रुँदै,हाले सिन्दूर उज्यालो नहुँदै’। त्यतिबेला यो गीत खुब सुनिन्थ्यो,गाइन्थ्यो। त्यस्तै भयो मेरो बिहे पनि। उज्यालो नहुँदै सिन्दूर हालेर लगे डोली चढाएर।

मैले मेरो श्रीमानसँग विवाह भएको ४ वर्षपछि बोलेको हो। त्यो भन्दा अघि हाम्रो बोलचाल नै भएन। श्रीमान् होइन,सासू ससुरा कसैसँग पनि बोलचाल हुँदैनथ्यो। जेठाजुहरूलाई खाना पकायो,थालमा राखेर खान ठिक्क पारेपछि आफू बाहिरियो। अनि अब के चाहियो होला भनेर फेरि सोध्न आउनुपर्थ्यो। जेठाजुले खाउन्जेल भान्सामा बस्न पाइँदैनथ्यो।

त्यतिबेलाको जमानामा नियम कडा थियो। बोलचाल पनि छैन,मुखमा हेर्नु पनि छैन। त्यतिबेला जेठाजु,सासू ससुरा अगाडि पर्दा कपाल छोप्नुपर्थ्यो। लोग्ने मान्छेको अनुहार हेर्न र बोल्न पाइँदैनथ्यो। निकै कडा नियम थियो।

हाम्रो समयबाट भने अलिअलि परिवर्तन भएको हो। त्यसबेला राज्यबाट त्यस्तो केही पनि थिएन तर घरपरिवार र समाजको नियम कडा थियो।

त्यतिबेलाको विवाहमा फर्सी तरकारी

कोही कोहीको विवाह बाजा बजाएरै गर्थे। रमाइलो पनि हुन्थ्यो। तर प्राय राती विवाह हुन्थ्यो। दिउँसो विवाह गर्ने चलन थिएन। यो दिउँसो गर्ने चलन त भर्खर भर्खर आएको हो। दिउँसो विवाह भएको त मैले जम्मा १,२ वटा मात्रै देखेको थिए। नत्र जति पनि बिहे हुन्थेँ, रातीकै हुन्थ्यो।

साँझमा बेहुलीको घरमा पुग्थेँ,अनि कति बजेको लगन छ,त्यही अनुसारको लगन गाँठो पार्ने र बिहानको उज्यालो,घामको पहिलो झुल्कोमा अन्माएर पठाइदिन्थेँ डोलीमा राखेर।

त्यतिबेलाको भोज भतेर बारीमा बसेर टपरीमा दिने गर्थे। मेरो विवाहमा पनि त्यस्तै थियो। पहिलो भात र दाल अनि दोस्रोमा फर्सीको तरकारी दिन्थेँ। फर्सी चाहिँ बिहेमा अनिवार्य जस्तै नै हुन्थ्यो। किनभने टिपेर राख्दा बिग्रँदैनथ्यो। लामो समयसम्म टिक्ने हुनाले फर्सी पकाउने चलन थियो। त्यसबाहेक कसै कसैले खसी काट्थेँ।

त्यतिबेला विवाह गर्नेको पनि स्तर हेरेर हुन्थ्यो। आर्थिक अवस्थाले सम्पन्न भएकाले त्यही अनुसारको बुहारी खोज्थेँ। अलिक नहुनेले त्यही अनुसारको हेर्थे। आफ्नो क्षमता अनुसारको जोडा मिलाउने  चलन थियो। अहिले त मन पर्यो भने जोसँग पनि विवाह गर्ने चलन छ। त्यो समयमा कहाँ यस्तो हुनु।

दाइ बितेपछि फाप्दैन भनेर बुबाले पढाउनु भएन

मेरो जेठो दाइ हुनुहुन्थ्यो,हामी तीन दिदीबहिनी माथिको। दाइले त्यतिबेला पण्डित पढ्दै हुनुहुन्थ्यो। अब दाइ ६ महिनामा पण्डित हुने भन्ने कुरा थियो। तर दाइ ६ महिना अघि नै बित्नुभयो। दाइ बितेपछि हामीलाई पढाई फापेन भनेर छोराछोरी कसैलाई पनि पढाउनु भएन।

भाइहरूलाई यसो अक्षर चिनाउने बनाउनुभयो तर फाप्दैन भने अगाडि पढ्नै दिनुभएन। भाइहरूले वेद अनि चण्डीसम्म पढे। मेरा चार भाइ हुन्। दिदी ३ बहिनी हौँ। दिदीहरू बितिसक्नुभयो।

हाम्रोमा मात्र होइन। हाम्रो अलिक परको एउटा दिदी पर्ने हुनुहुन्थ्यो। उहाँको श्रीमान् गोसाईंकुण्ड जाँदा बिरामी भएर बित्नुभयो। उहाँ बिधुवा हुनुभयो। उहाँले अलिअलि पढ्नुभएको थियो। उहाँले पढेर नफापेको भन्ने कुरा चल्यो। पछि फेरि उहाँले दोस्रो विवाह गर्नुभएको थियो। पढाइमा मान्छेले त्यति चासो राख्दैनथे।

सरकारले नपढाएको भन्दा बुबा आमाहरूले पढाउन चाहनुहुन्न थियो । सरकारले नपढ भनेको सुनिएन। त्यतिबेलाको समयमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना बाबुआमा लगायत समाजमा नै थिएन। घरमा पढेको कोही मान्छे बित्यो भने नफापेको भन्ने गरिन्थ्यो।

लेख पढ गर्नका लागि अहिलेको जस्तो कापी कलम हुँदैनथ्यो। घरमा नै पढाउने चलन थियो। कसरी पढ्थे भने धुलोमा औलाले कोरेर। काठको पाटी बनायो अनि रातो माटो मुछेर मसिनो पार्र्यो । पार्टीमा हातमा औलाले लेख्थेँ। अहिले मैले सम्झिएँ,‘त्यसलाई मान्छेहरूले धुलौटे भन्थेँ।’त्यसरी लेख पढ गर्थे त्यो बेलामा मान्छेहरू।

दिदीहरूको भन्दा मलाई घरमा अलिक सहज

त्यतिबेला बुहारीलाई दलाउने चलन थियो। सासू ससुराहरूले काममा बढी दलाउने गर्थे। बिहान ४ बजे नै उठेर,के के काम धन्दा लगायत सबै गरिसक्नुपर्थ्यो। बेलुका पनि १०–११ बज्थ्यो सुत्नलाई।

कहिले ढिकीमा धान कुट्दा कुट्दै अबेला हुन्थ्यो। त्यतिबेला रातको १,२ बज्थ्यो। त्यतिबेला झपक्क निदाउन पाएको हुँदैन,उठिसक्नुपर्थ्यो। कहिले गहुँ,कहिले मकै,कहिले कोदो पिन्नुपर्ने हुन्थ्यो। के-के गर्दागर्दै रात छिप्पिइसकेको हुन्थ्यो। आँखा झिरिक्क गरिसक्दा उज्यालो हुने। कहिलेकाहीँ अबेला उठेर दैलो यता उता लिप्न थालियो भने सासू ससुराले यति बेला उठ्छेस् भनेर गाली गर्ने, चिच्याउने गर्थे।

माघ बस्ने चलन

मैले थाहा पाउँदा बुहारीहरूलाई माघ महिनाभरि माइत पठाउने चलन थियो। म पनि माघ बस्न धेरै पटक माइत पुगेको छु। तर अरूको भन्दा म अलिक कम बस्न पाउँथे,किनभने जेठानी दिदीलाई पनि पालो दिनुपर्थ्यो।

घरमा अरू कोही थिएनन्। त्यसैले हामी १०-१५ दिन माइतमा बसेर फर्किन्थ्यौँ। माघ बस्ने भनेको कुरो के रैछ भने,वैशाखमा मकै छर्यो,असारमा धान रोप्यो,साउन भदौमा कोदो रोप्ने चलन थियो,अहिले पनि होला। अनि भदौमा बारीको मकै भाँच्ने गरिन्थ्यो।

विभिन्न बालीनाली मंसिर भित्रमा थन्क्याइन्थ्यो त्यतिबेला। धानको काम मङ्सिरमा नसकिए पुसमा सकिन्थ्यो। अनि अलिक धेरै दिन सबैका बुहारीलाई माइत पठाउने चलन थियो। मलाई लाग्छ उनीहरूलाई अरुबेला कामको चटारो हुन्थ्यो,माघमा भने कम काम हुने भएकाले माइत पठाउने गर्थे। त्यो हाम्रो मात्र होइन सबैमा त्यस्तो चलन थियो।

महिनावारी हुँदा कोठा बारेर राखिन्थ्यो 

महिनावारीमा गोठमा राख्ने चलन थियो। दिदीहरूलाई महिनावारी हुँदा गोठमा लगेर राखेका थिए। बस्ती अलिक ठुलो थियो। ठुलो दिदीलाई पहिलो पटक महिनावारी हुँदा गोठमा लगेर राखेको अहिले पनि म सम्झन्छु। तर मैले भने गोठमा बस्नु परेन।

मेरो त महिनावारी हुँदा बिहे गरेर दुलाहाको घरमा आइपुगिसकेको थिए। बिहे गरेर आएको हुनाले एउटा कोठा बारेर राख्नुभएको थियो। झ्यालढोका सबै बन्द गरेर सूर्यलाई नदेख्ने गरेर बारेको थियो।

पहिलो पटक महिनावारी हुँदा ७ दिनसम्म, सूर्यलाई हेर्न पाइँदैन थियो। कोठाको कोठैमा राखिन्थ्यो। तीन दिन,५ दिन,७ दिन,९ दिन हुँदै ११ दिनमा बल्ल बाहिर निस्किन पाइन्थ्यो। दोस्रो पटक महिनावारी हुँदा ९ दिनमा बाहिर निस्किन पाइन्थ्यो भने तेस्रो पटकमा भने ७ दिनमा। त्यसपछिदेखि मात्रै ५ दिनसम्म अनिवार्य रूपमा बारिन्थ्यो। 

२४ जेठ, २०८१, १९:२८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।