कैलाश सिरोहियाको दाबी : म विरुद्धको प्रपञ्च समाप्त भएपछि हाजिरी जमानी भन्दै रिहा गरियो

कैलाश सिरोहियाको दाबी : म विरुद्धको प्रपञ्च समाप्त भएपछि हाजिरी जमानी भन्दै रिहा गरियो

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले आफूलाई पक्राउ गरेको उल्लेख गरेका छन्।

जिल्ला अदालत धनुषाको आदेशको आधारमा स्वास्थ्य उपचारकालागि धनुषाबाट ललितपुर आइपुगेर बुधवार हाजिर जमानीमा न्यायिक हिरासतमुक्त भएका उनले विज्ञप्ति निकालेर यस्तो उल्लेख गरेका हुन्।

नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी ९ दिनदेखि थुनामा राखिएकामा आज हाजिरी जमानीमा रिहा गरिएको भन्दै विज्ञप्तिमा जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले मलाई फौजदारी कार्यविधि संहिताको दफा १५(१) अनुसार 'थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने' भन्दै रिहा गरेको उल्लेख गरेका छन्।

'मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शङ्का रहेन' विज्ञप्तिमा लेखिएको छ।

अरू कोही व्यक्तिको नागरिकता र आफ्नो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्‌नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैँमा गैरजिम्मेवार हरकत रहेको र नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले लिखित राय दिए पनि दबाएर प्रहरीबाट पक्राउ गरिएको विज्ञप्तिमा दाबी गरिएको छ।

आफ्नो नागरिकताको प्रतिलिपिमा हस्ताक्षरमा शङ्का गरिएकामा तत्कालीन प्रशासकीय अधिकृतले अरू सरकारी दस्ताबेजमा गरेको हस्ताक्षरसँग भिडाएको भए त्यो प्रश्न तत्कालै निरूपण हुने विज्ञप्तिमा तर्क गरिएको छ।

'तर मैले मेरो नागरिकतामा अक्षर आफैँ थपेको भनेर गम्भीर आरोप लगाइएको थियो। हस्ताक्षर कसको हो भन्ने प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरुन्तै हल हुने थियो,' विज्ञप्तिमा लेखिएको छ' तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन्।'

विज्ञप्तिमा पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्नो वकिलहरूले पटक पटक आग्रह गर्दा पनि आलटाल गरेको दाबी गरिएको छ।

आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने प्रवृत्ति कानुनी शासनका लागि चुनौती रहेको भन्दै विज्ञप्तिमा पटक पटकको ताकेता पछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उनले हस्ताक्षर आफ्‌नो हो भनेर बयान कागज गरिदिएपछि आफ्ना विरुद्धको प्रपञ्च समाप्त भएको र अहिले हाजिरी जमानी भन्दै रिहा गरिएको दाबी गरिएको छ।

उनले थप अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान नगरी पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएको र यो योजनामा संलग्न सबैलाई जबाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

जेठ १६, २०८१ बुधबार २३:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।