हाजिर जमानीमा छुटे कैलाश, प्रहरीले खोजेको बेलामा उपस्थित हुनुपर्ने सर्त

हाजिर जमानीमा छुटे कैलाश, प्रहरीले खोजेको बेलामा उपस्थित हुनुपर्ने सर्त

काठमाडौँ : नागरिकता कसुरको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन्। स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि धनुषाबाट ललितपुर आएर अस्पताल भर्ना भएका उनी बुधवार हाजिर जमानीमा रिहा भएका हुन्।

अदालतको अनुमतिमा न्यायिक हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राख्न नपर्ने अवस्थामा अनुसन्धान अधिकृतको सिफारिसमा सरकारी वकिलको कार्यालयको अनुमति लिएर हाजिर जमानीमा रिहा गर्न सक्ने कानुनी प्रावधान अनुसार सिरोहिया रिहा भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई हाजिर जमानीमा मुक्त गर्न जिल्ला प्रहरी परिसर ललितपुरमा पत्र पठाएपछि कैलाशका छोरा सम्भवको जमानीमा उनी न्यायिक हिरासतमुक्त भएका हुन्।

सिरोहिया ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनको स्वास्थ्य उपचार गम्भिर भएको धनुषाको काब्या अस्पतालको सिफारिसमा मङ्गलवार उनलाई हेलिकप्टरबाट काठमाडौँमा ल्याइएको थियो।

काव्यका चिकित्सक डा एस के सिंह र डा पङ्कजकुमार शाहले सिरोहियाको स्वास्थ्य अवस्थाको गम्भीरता र संवेदनशीलताको कारण थप उपचार, परीक्षण तथा डायग्नोसिस गर्नुपर्ने देखिएको र उनले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेकाले ललितपुरमा रहेको मेडिसिटीमा रिफर गरेका थिए। 

हाजिर जमानीको सर्त प्रहरीले खोजेको बेलामा उपस्थित गराउने उल्लेख छ। सिरोहिया विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकताबारे जाहेरी दर्ता भएपछि अदालतको अनुमतिमा आठ दिन अगाडि प्रहरीले कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो।

उनीमाथि धनुषा प्रहरीले नागरिकता सम्बन्धी कसुर र सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान गरिरहेको छ। सिरोहिया हाजिर जमानीमा रिहा भए पनि अनुसन्धान भने जारी नै रहन्छ। कुनै आरोपी न्यायिक हिरासतमा नभएको अवस्थामा २५ दिनभित्र अभियोग पत्र दर्ता गर्ने कानुनी म्याद भने लाग्दैन।

सम्बन्धित समाचार

जेठ १६, २०८१ बुधबार २०:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।