सिरोहिया सिम्रिकको हेलिकप्टर हुँदै धनुषाबाट मेडिसिटी आइपुगे

सिरोहिया सिम्रिकको हेलिकप्टर हुँदै धनुषाबाट मेडिसिटी आइपुगे

काठमाडौँ : नागरिकता किर्ते कसुरमा अदालतबाट न्यायिक हिरासतमा राख्न तेस्रो पटक म्याद थप भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ। काब्या हस्पिटलले थप उपचारका लागि मेडिसिटीमा लैजान रिफर गरेको थियो।

तेस्रो पटक तीन दिनको म्याद थप गर्दा जिल्ला अदालत धनुषाले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकुलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो।

त्यही आदेशमा टेकेर काव्यका चिकित्सक डा एस के सिंह र डा पङ्कजकुमार शाहले सिरोहियाको स्वास्थ्य अवस्थाको गम्भीरता र संवेदनशीलताको कारण थप उपचार, परीक्षण तथा डायग्नोसिस गर्नुपर्ने देखिएको र उनले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेकाले ललितपुरमा रहेको मेडिसिटीमा रिफर गरेका थिए। अस्पतालले एयरलिफ्टको सिफारिस गरे अनुसार प्रहरीको सुरक्षा घेरासहित उनलाई मेडिसिटी पूर्याइएको हो।

जिल्ला अदालतबाट पक्राउ अनुमती पाएपछि उनी जेठ ८ गते काठमाडौँको थापाथलीमा रहेको कान्तिपुरको कार्यालयमा पक्राउ परेका थिए। भोलीपल्ट धनुषा पुगेका उनलाई अदालतले पहिलो पटक तीन दिन हिरासतमा राख्न अनुमती दियो।

पहिलो दिन उनी प्रहरी हिरासतमै बसेका थिए। प्रहरीले बेलुका भने उनलाई हिरासत बाहिर राखेको थियो। दोस्रो पटक पनि तीन दिन म्याद थपिएपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई सरकारीहुँदै नीजी अस्पतालमा भर्ना गरियो।

दोस्रो पटक थपिएको म्यादको अवधी अस्पतालमा रहेका उनलाई सोमबार अदालतमा पेश गर्दा एम्बुलेन्समै अदालत गएर फर्किएका थिए। सोमबार पनि थप तीन दिन म्याद थपियो। तर अदालतको इजलासले सिरोहिया बिरामी भएको र मिसिलमा संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा उनको स्वास्थ्य अवस्थाको प्रतिकुलतालाई बिचार गर्दा अनुसन्धानमा शीघ्रता र उपर्युक्त अस्पतालमा लगेर उपचार गराउनु तथा उनको नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपर्युक्त हुने भन्दै आवश्यक व्यवस्था मिलाउन आदेश दिएको थियो।

सोही आदेशको आधारमा मंगलबार काव्याले उपचार गरिरहेका चिकित्सक रहेको अस्पताल भन्दै एयरलिफ्ट गरेर मेडिसिटीमा राख्न सिफारिस गरेपछि प्रहरीले उनलाई हेलिकप्टरमार्फत ललितपुरमा रहेको अस्पतालमा पठाएको हो।

उनीविरुद्ध फर्जी राहदानीको प्रयोग र किर्तेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

जेठ १५, २०८१ मंगलबार १६:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।