कैलाश सिरोहिया प्रकरण : तेस्रोपटक म्याद थप, ३​​​​​​​ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कैलाश सिरोहिया प्रकरण : तेस्रोपटक म्याद थप, ३​​​​​​​ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ : नागरिकतामा देखिएको कैफियतमा अनुसन्धानका लागि धनुषा प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको हिरासतको अवधि तीन दिन थपिएको छ।

यसअघि अदालतले दिएको तीन दिनको म्याद सकिएपछि आज जिल्ला अदालत धनुषाले सिरोहियालाई तेस्रोपटक थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

न्यायाधीश यदुराज शर्माको इजलासले अध्यक्ष सिरोहियामाथि नागरिकता कसुरसम्बन्धी आरोपमा अनुसन्धान गर्न थप ३ दिनको समय दिएसँगै उनी कम्तीमा ९ दिन हिरासतमै रहने भएका छन्। 

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत रहेको बताइएको छ। उनी अदालतमा आउँदा काव्या अस्पतालको एम्बुलेन्समा आएका थिए। फर्कदा पनि एम्बुलेन्समै फर्किए।

प्रहरीले उनको नागरिकतामा देखिएको जन्ममिती ढड्डामा नरहेकाले किर्ते हुनसक्ने र त्यसको परिक्षणको रिपोर्ट नआएको, उनको दाजु र दिदीहरुको अहिलेको नागरिकता जन्मसिद्ध देखिएको तर रेकर्डमा अंगिकृत रहेकाले त्यसबारे अनुसन्धान जारी रहेको र सरकारी कर्मचारीहरुको बयान समेत बाँकी रहेको भन्दै पाँच दिन म्याद मागेको थियो। तर अदालतले तेस्रो पटक पनि तीन दिन न्यायीक हिरासतमा राख्ने अनुमती दियो।

सम्बन्धित समाचार
 
 

जेठ १४, २०८१ सोमबार १९:२८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।