सहकारी छानबिन समितिमा गृहमन्त्री रविको नाम राख्नैपर्ने कांग्रेसको अडान यथावत्

सहकारी छानबिन समितिमा गृहमन्त्री रविको नाम राख्नैपर्ने कांग्रेसको अडान यथावत्

काठमाडौँ : सहकारी घोटालाको छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडिया प्रालीको मात्र नाम राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह नेपाली कांग्रेसले अस्वीकार गरेको छ।

बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीबाट आएको प्रस्तावबारे पार्टीको धारणा बनाउन पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठकले समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नामै उल्लेख गर्नुपर्ने सर्तमा कायम रहने निर्णय भएको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा सोमबार बिहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री लामिछानेको साटो उनी संलग्न गोर्खा मिडिया प्रालीको नाम कार्यादेशमा राखेर संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्डबाट आएको प्रस्तावबारे छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्रीले सहकारीको रकम अपचलन गरेको देखिएको भनेर गोर्खा मिडियाको नाम राखेपछि गृहमन्त्री रवि स्वतः अनुसन्धानको दायरामा आउने भन्दै सहमतिका लागि आग्रह गरे पनि कांग्रेसले समितिको कार्यादेशमा गृहमन्त्री रविको नामै उल्लेख गर्नुपर्ने र नाम उल्लेख नगरी गठन हुने समितिमा आफ्नो सहमति नहुने अडान कायम राखेको हो।

‘संसदीय छानबिन समितिले गोर्खा मिडियामाथि अनुसन्धान गर्छ कि गर्दैन? गोर्खा मिडियाको मालिक रवि लामिछाने पनि हुन्। रवि लामिछानेमाथि अनुसन्धान गर्छ कि गर्दैन,’ बैठकपछि  महामन्त्री गगन थापाले भने,  ‘गोर्खा मिडिया र रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चितता हुनुपर्यो। छानबिन समिति चाहिएको त्यसकै लागि हो।’

डा महतले पत्रकारमाझ संसदीय छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए संसद्मा अवरोध जारी राख्ने बताए।

‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ। नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता खुल्ने गरी आउनुभयो भने ठिकै छ, त्यसरी आउनुभएन सहमति गर्न सकिँदैन। भोलि पनि हाम्रो अवरोध जारी रहन्छ’ उनले भने।

जेठ १४, २०८१ सोमबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।