पपुवा न्युगिनीको पहिरोमा ६७० जना पुरिएको संयुक्त राष्ट्रसंघको आशंका

पपुवा न्युगिनीको पहिरोमा ६७० जना पुरिएको संयुक्त राष्ट्रसंघको आशंका

एजेन्सी : संयुक्त राष्ट्रसंघका एक अधिकारीले पपुवा न्युगिनीमा शुक्रबार गएको विनाशकारी पहिरोमा परी ६७० जना भग्नावशेषमा पुरिएको आशंका गरेका छन्।

पपुवा न्यू गिनीमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख सेरहन अक्टोप्राकले देशको दुर्गम एन्गा प्रान्तमा शुक्रबारको पहिरोले निम्त्याएको विनाश सोचेभन्दा धेरै भएको बताए।

उनले भने, ‘एक अनुमान अनुसार १ सय ५० भन्दा बढी घर भग्नावशेषमा पुरिएका छन्।’

अक्टोप्राकका अनुसार त्यहाँ अझै पानी बगिरहेको र जमिन स्खलन भइरहेकाले उद्धारका लागि कठिनाइ भइरहेको बताएका छन्।

पपुवा न्यू गिनी अष्ट्रेलियाको उत्तरमा अवस्थित एउटा टापु हो। पहिरोबाट प्रभावित क्षेत्रहरू यसको उत्तरमा एन्गा प्रान्तको उच्च भूभागमा छन्।

पहिरो प्रभावित क्षेत्रमा करिब चार हजार मानिस बस्दै आएका छन्।

तर, राहत र उद्धार कार्यमा संलग्न एजेन्सी केयर अष्ट्रेलियाले छिमेकी क्षेत्रका आदिवासी जनजातिको द्वन्द्वबाट भागेर धेरै मानिस यस क्षेत्रमा आएकाले यो संख्या बढी हुनसक्ने जनाएको छ।

पहिरोका कारण एक हजार मानिस विस्थापित भएका छन्। अक्टोप्राकले उत्पादन हुने जमिन पूरै डुबेको बताए।

अधिकांश मानिसहरू आफ्नो घरमा सुतिरहेका बेला स्थानीय समय अनुसार शुक्रबार विहान तीन बजे पहिरो गएको थियो।

केयर अष्ट्रेलियाका प्रवक्ताले भने, ‘हामीलाई पहिरोबाट मृत्यु हुनेको सही संख्या थाहा छैन र केहि समयको लागि यो निर्धारण गर्न गाह्रो हुनेछ। यद्यपि पहिरोको समय हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिन्छ।’

पीडितको उद्धारका लागि उद्धारकर्मीले सक्दो प्रयास गरिरहेको अक्टोप्राकले बताए। आइतबारसम्म भग्नावशेषबाट पाँच जनाको मात्रै शव निकाल्न सकिएको थियो।

कतिपय क्षेत्रमा ठूला ढुङ्गा, रुख र डुबेको माटो २६ फिटसम्म गहिरो छ।

एउटा मात्र राजमार्ग एन्गा प्रान्त पुग्छ। केयर अस्ट्रेलियाका अनुसार पहिरोका कारण यस सडकको ठूलो भागमा पहिरो खसेको छ, जसका कारण उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ।

जेठ १४, २०८१ सोमबार ०७:३१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।