हिरासतको अवधि बढाउन कैलाशलाई अदालत लगिँदै, सरकारी कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी

हिरासतको अवधि बढाउन कैलाशलाई अदालत लगिँदै, सरकारी कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी

काठमाडौँ : नागरिकता कसुरको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको न्यायिक हिरासतको म्याद थप्न आज अदालत पेस गरिँदै छ।

पहिलो पटक जिल्ला अदालत धनुषाले दिएको तीन दिने न्यायिक हिरासतको म्याद आज सकिँदैछ। काठमाडौँमा कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएका उनलाई नागरिकता सम्बन्धी विषयमा अनुसन्धानका लागि धनुषा लगिएको थियो।

उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन्। प्रहरीस्रोतका अनुसार नागरिकता सम्बन्धी कसुर, किर्ते, वंशजको नागरिकता दिन संलग्न तत्कालीन सरकारी अधिकारी, पूर्ण डकुमेन्ट नै नभई राष्ट्रिय परिचय पत्र जारी गर्ने कर्मचारी लगायतकासँगको बयान लगायतको काम बाँकी रहेको भन्दै हिरासतको म्याद बढाउन माग गर्ने तयारी गरिएको छ।

स्रोतका अनुसार सिरोहियाको बाबुले अङ्गीकृत नागरिकता लिएको दाबी भए पनि नागरिकता ऐन २०२० अनुसार २०१९ मा जन्मिएकाले वंशजको नागरिकता पाउन नसक्ने आधार, विभिन्न सरकारी निकायमा पेस गरिएको अलग-अलग चार नागरिकता नम्बरका आधारमा नागरिकता कसुर, ढड्डामा उमेर मात्र उल्लेख भएको तर नागरिकतामा जन्ममिती राखिएको आधारमा किर्ते, राष्ट्रिय परिचय पत्र लिँदा विवाह दर्ताको प्रमाण पत्रको साटो राहदानीको विवरणको आधारमा परिचय पत्र दिएको लगायतका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

सिरोहियाले पहिलो पटक लिएको नागरिकताको विवरण अझेै फेला परेको छैन। प्रारम्भिक नाम दर्तामा जन्मसिद्द लेखिए पनि प्रतिलिपीमा बंशज लेखिएको छ।यसको अनुसन्धान गर्न  प्रतिलिपी  नागरिकतामा नाम उल्लेख भएका तत्कालीन अधिकारी, पूर्ण कागजात नभई राष्ट्रिय परिचय पत्र जारी गर्ने कर्मचारी लगायतलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी छ।

सिरोहियाको तर्फबाट आफ्नो कुनै कैफियत नभएको, कानुनी प्रक्रिया पूरा गरेर लिएको नागरिकतामा आफू जिम्मेवार नहुने धारणा सार्वजनिक भइसकेको छ।

राष्ट्रियसँगै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ लगायतका संस्थाहरूले सिरोहिया पक्राउप्रति चासो व्यक्त गरिरहेका छन्। मिडिया हाउसभित्रै गएर धर पकड गरेकोमा उनीहरूले आपत्ति जनाएका छन्।

सम्बन्धित समाचार

जेठ ११, २०८१ शुक्रबार १०:०४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।