संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री सकरात्मक, ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान कायमै

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री सकरात्मक, ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं : संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकरात्मक भएको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले अघि सारेका मागका विषयमा प्रधानमन्त्री दाहाल सकरात्मक भएको बताए।

‘प्रधानमन्त्रीले गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राख्नुभएको छ,’ उनले भने, ‘कांग्रेसले भने सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकसहितका नेताले छलफल गरेका थिए।

संसद खुलाउने विषयमा आफूहरू सकारात्मक रहेको र प्रधानमन्त्रीलाई पनि सकारात्मक पाएको कांग्रेस नेताहरुले सञ्चारकर्मीहरूसमक्ष प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री दाहाल स्वयम पनि संसदीय समिति बनाउने विषयमा सकरात्मक रहेपनि सत्ता साझेदर दल एमाले भने अस्वीकार गर्दै आएको छ।

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।

जेठ ५, २०८१ शनिबार १४:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।