जलेश्वरका नगरप्रमुख, उपप्रमुख, कर्मचारीसहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा

जलेश्वरका नगरप्रमुख, उपप्रमुख, कर्मचारीसहित एक दर्जनलाई भ्रष्टाचार मुद्दा

काठमाडौं : महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

जलेश्वर–१ हाटबजार क्षेत्रको ढलानको काम भएभन्दा बढी मूल्यांकन गरि ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

उक्त योजनासँग सम्बद्ध जनप्रतिनिधि, कर्मचारीसँगै उपभोक्ता समिति पदाधिकारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। आयोगले प्रमुख सुरेश साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धीरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार  झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दीपेशकुमार साहविरुद्ध मुद्दा दायर गरेको छ। 

वरुणसर पोखरी नजिकको बजार क्षेत्रभित्र पीपीसी ढलानको उक्त योजना अनुगमन उपप्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर–१ का वडाध्यक्ष अनिलकुमार झाले गरेका थिए। काम सन्तोषजनक भएको भन्दै प्रतिवेदन दिएपछि उपभोक्ता समितिले भुक्तानी पाएको थियो। 

वास्तविकता लुकाएर गलत प्रतिवेदन दिइ उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको कारणबाट बढी रकम भुक्तानी भएको देखिएको भन्दै उनीहरू तीन जनालाई पनि आयोगले मुद्दामा प्रतिवादी बनाएको छ। 

यस्तै, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको आयोगले जनाएको छ। 

२७ बैशाख, २०८१, १८:०६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।