आईपीएलमा राजस्थानमाथि दिल्लीको २० रनको जित

आईपीएलमा राजस्थानमाथि दिल्लीको २० रनको जित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ। मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा २ अंक थप गर्दै पाँचौं स्थानमा उक्लिएको छ।

यता  राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थानमै यथावत छ। दिल्लीको जितपछि प्लेअफ समीकरण थप रोचक बनेको छ। शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सको १६ अंक रहेको छ भने राजस्थानको पनि समान १६ अंक रहेको छ।

मंगलबार राति टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२१ रन बनाएको थियो। जवाफमा राजस्थानको टोलीले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाएपछि २० रनको पराजय भोग्न पुग्यो।

जितपछि दिल्ली प्लेअफको दौडमा कायमै रहेको छ भने राजस्थानलाई प्लेअफ पक्का गर्न अझै कुर्नु पर्नेछ।

राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जुन पावर प्लेको क्रममा नै गलत साबित भएको थियो। दिल्ली क्यापिटल्सका लागि इनिङ्स ओपन गर्न आएका जेक फ्रेजरम्याकगुर्क र अभिषेक पोरेलले पहिलो विकेटका लागि ६० रन जोडे।

यस क्रममा म्याकगुर्कले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे र उनी आईपीएलमा २० भन्दा कम बलमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बने। पाँचौं ओभरमा म्याकगुर्कको विकेट गुमेको थियो। अर्को ओभरमा साई होप पनि एक रनमा रनआउट भए ।

त्यसपछि अभिषेक पोरेलले आक्रामक ब्याटिङ गरेपछि दिल्ली क्यापिटल्सले नवौं ओभरमा १०० रनको अंक बनाएको थियो। पोरेलले २८ बलमा अर्धशतक पूरा गरे पनि अक्षर पटेल (१५) र कप्तान ऋषभ पन्त (१५) सस्तैमा पभेलियन फर्किए। १३औं ओभरमा १४४ रनको स्कोरमा आउट हुनुअघि पोरेलले ३६ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६५ रनको उत्कृष्ट इनिङ खेले। डेब्यु खेल खेलिरहेका गुलबदिन नाइबले १९ रन बनाए।

अन्तिम ओभरमा ट्रिस्टन स्टब्सको शानदार ब्याटिङ गरे। उनले टोलीको स्कोर २०० भन्दा माथि पुर्याए। २०औं ओभरमा आउट हुनुअघि स्टब्सले २० बलमा ३ चौका र तीन छक्का सहित ४१ रन बनाए। रसिख सलाम दार ३ बलमा ९ रन बनाएर आउट भए। जबकि कुलदीप यादव ५ रन बनाएर अविजित रहे ।

राजस्थान रोयल्सका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले एक-एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात खासै सुखद रहेन। ओपनर यशस्वी जैसवाल पहिलो ओभरमै ४ रन बनाएर आउट भए। दोस्रो ओपनर जोस बटलर र कप्तान सञ्जु सामसनले स्कोरलाई ५० भन्दा माथि पुर्याएपनि बटलरले ठूलो इनिङ खेल्न सकेनन्। उनी छैठौं ओभरमा ६७ रनको स्कोरमा १९ रन बनाएर आउट भए।

राजस्थानको टोलीले ११औं ओभरमा १०० रन पूरा गरे पनि १०३ रनको स्कोरमा रियान परागको विकेट गुमाए। पराग २२ बलमा २७ रन बनाएर आउट भएका थिए। कप्तान सञ्जु सामसन उत्कृष्ट फर्ममा ब्याटिङ गरिरहेका थिए। यद्यपि शतक बनाउन भने सफल भएनन्।

विवादास्पद क्याच आउट निर्णयका कारण ४६ बलमा ८६ रन बनाएर पभेलियन फर्किएका थिए। उनको इनिङ्समा आठ चौका र छ छक्का सामेल थियो। शुभम दुबेले पनि १२ बलमा २५ रनको इनिङ खेले। डेब्यु गरेका डोनोभान फरेरा १ रन बनाएर आउट भए भने रविचन्द्रन आश्विन २ रन बनाएर आउट भए।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २९ रन जोड्नुपर्ने थियो तर मुकेश कुमारले मात्र ८ रन दिएर रोभमान पावेल (१३) लाई आउट गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए। दिल्ली क्यापिटल्सका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २-२ विकेट लिए। अक्षर पटेलको नाउँमा एक विकेट रह्यो।

२६ बैशाख, २०८१, ०७:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।