गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट, पेशी वैशाख २७ गते

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट, पेशी वैशाख २७ गते

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणा बदरको माग गर्दै कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार रिट दायर गरेका हुन्। उक्त रिटको पेशी वैशाख २७ गतेलाई तोकिएको छ।

आइतबार गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ३१ प्रदेशसभा सदस्यको मत आवश्यक पर्छ। तर, अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका १ सांसद गरी ३० जनाले मत दिएका थिए। सभामुख कृष्णप्रसाद धितालले आफ्नो पनि मताधिकार रहेको भन्दै बलमिच्याइँका साथ ३० मतलाई बहुमत घोषणा गरेका थिए।

 त्यसपछि नेपाली कांग्रेसले विरोध गरेको थियो।

कांग्रेसको उक्त रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेकाले उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश जारी गर्नुपर्ने ठहर छ।

खगराज अधिकारी नेतृत्वको सरकारलाई कामकाजमा रोक लगाउनसमेत रिटमा उल्लेख छ। रिटमा मुख्यमन्त्री खगराज अधिकारी, प्रदेश प्रमुख डिल्लिराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ। 

२५ बैशाख, २०८१, १५:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।