टी-२० विश्वकपमा आतंकवादी आक्रमणको चेतावनी

टी-२० विश्वकपमा आतंकवादी आक्रमणको चेतावनी

एजेन्सी : अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा आतंकवादी आक्रमणको चेतावनी आएको छ।

ट्रिनिडाड एण्ड टोबागोका प्रधानमन्त्री डा. किथ राउलीले यसको खुलासा गरेका हुन्। प्रधानमन्त्री राउलीको यो भनाइलाई आईसीसीले समेत पुष्टि गरेको क्रिकइन्फो समाचार लेखेको छ।

ट्रिनिडाड एण्ड टोबागो विश्वकप हुने वेस्ट इन्डिजका देशहरूमध्ये एक हो।

ट्रिनिडाड डेली एक्सप्रेससँग कुरा गर्दै ट्रिनिडाडका प्रधानमन्त्री राउलीले भने, ‘२१औँ शताब्दीमा पनि आतंकवादको खतरा धेरै रूपहरूमा कायमै छ, जुन दुर्भाग्यपूर्ण छ। टी-२० विश्वकपमा आतंकवादी हमलाको चेतावनी पनि दिइएको छ।"

तर, राउलीले यस चेतावनीको पछाडि कुनै पनि संगठनको नाम भने लिएनन्।

यद्यपि यस्तो कुनै पनि खतरासँग लड्नका लागि आफूहरूसँग पूर्ण सुरक्षा योजना रहेको आईसीसीले बताएको छ।

यस विषयमा आईसीसीले प्रतिक्रिया दिँदै भनेको छ, ‘सबैको सुरक्षा हाम्रो प्राथमिकता हो र हामीसँग यसको सामना गर्नको लागि एक फुलप्रुफ योजना छ। हामी आयोजक देश र स्थानीय अधिकारीहरूसँग धेरै नजिकबाट काम गरिरहेका छौं। हाम्रो नजर कुनै पनि जोखिमलाई हटाउनेमा केन्द्रीत रहनेछ।’

२० टोली सहभागी हुने आईसीसी टी२० विश्वकपमा खेलहरू नौ शहरमा खेलाइनेछन्। जसमध्ये ६ वटा शहर वेस्ट इन्डिज र तीन शहर अमेरिकामा छन्।

क्रिकेट वेस्ट इन्डिजले पनि प्रतियोगिताका क्रममा कडा सुरक्षा दिने कुरा गरेको छ।

२५ बैशाख, २०८१, ०९:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।