मुम्बईसँग हैदराबाद पराजित, सूर्यकुमारको शतक

मुम्बईसँग हैदराबाद पराजित, सूर्यकुमारको शतक

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ।

सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सूर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो। ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउट रहे।

सूर्यकुमारले १२ चौका र ६ छक्का प्रहार गरे। उनलाई क्रिजमा साथ दिएका तिलक वर्माले पनि ३७ रन बनाए। तिलकले ६ वटा चौका प्रहार गरेका थिए।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँचौं ओभरमा पुग्दा तीन विकेटको क्षतिमा ३१ रन बनाएको थियो। इशान किसान, रोहित शर्मा र नमन धिर आट भएपछि क्रिकेटमा पुगेका सुर्यकुमार यादव र तिलक वर्माले १४३ रनको साझेदारी गरे।

चौथो स्थानमा रहेको हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। राम्रो ब्याटिङ चल्न नसकेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। ट्राभिस हेडले ४८ रन बनाए पनि अन्य ब्याटरबाट राम्रो साथ पाएनन्।

सँगै आएका ओपनर अभिषेक शर्मा ११, मयंक अग्रवाल ५, नितिस कुमार रेड्डी २०, हेनरिच क्लासेन २, मार्को यान्सेन १७, शहबाज अहमेद ३ रनमा आउट भए। अन्तिममा कप्तान प्याट कमिन्सले ३५ रन बनाएर हैदराबादलाई बलियो योगफल दिलाएका थिए।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र पियुश चावलाले तीन-तीन विकेट लिए।

प्लेअफमा पुग्ने ढोका बन्द भइसकेको मुम्बईले १२ खेलबाट आठ अंक जोडेको छ। ११ खेल खेलेको हैदराबादको १२ अंक छ।

२५ बैशाख, २०८१, ०७:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।