जब कलाकार खगेन्द्र लामिछानेले भ्रष्टाचार आरोपी मेयर भरत थापाको बचाउ गरे

जब कलाकार खगेन्द्र लामिछानेले भ्रष्टाचार आरोपी मेयर भरत थापाको बचाउ गरे

काठमाडौँ : कलाकार खगेन्द्र लामिछानेले सर्लाहीको बागमती नगरपालिकाका विवादित मेयर भरत थापाको बचाउ गरेका छन्। शनिबार काठमाडौँमा डिस्कोर्स डबलीले आयोजना गरेको ‘सिनेमा र समाज’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लामिछानेले मेयर थापाको बचाउ गरेका हुन्।

कलाकार लामिछाने मेयर थापाको बायोपिकमा बन्न लागेको सिनेमा ‘मेयर’ का मुख्य भूमिकाका छन्। निर्माण टिमका अनुसार सिनेमाको छायाँकन सकिसकेको छ। 

तर प्रदर्शनमा आउन बाँकी यस फिल्मका वास्तविक चरित्र मेयर थापा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारको अभियोगमा मुद्दा लागेका आरोपित मेयर हुन्। उनलाई आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै गत चैत्र २८ गते थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ। अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

मेयर थापासहित उनकी श्रीमती रेश्मीकुमारी घिमिरे, भाई राम थापा र बुहारी द्धारिका राउतको नाममासमेत सम्पत्ति राखेको अख्तियारको आरोप छ। 

त्यस्तै, २०७६ असार ५ मा कुमार पौडेलको हत्यामा थापाको हात रहेको भन्दै पौडेलका भाई कृष्ण पौडेलले मानव अधिकार आयोगमा उजुरी दिएका थिए।  

यसै सन्दर्भमा शनिबारको कार्यक्रममा प्रश्न उठेपछि कलाकार लामिछानेले मुद्दा दायर हुनु भ्रष्टाचारी हुनु होइन भन्दै थापाको बचाउ गरे। 

उनले भने, ‘एउटा कुरा याद गर्नु कि, यो सिनेमा भरत थापाको बायोपिक होइन। भरत थापाको पोलिटिकल करियर, मान्छेको बच्चा देखिको करियरबाट केही अंश राखेर बनाएको चलचित्र हो। र म कलाकार हो।’

प्रश्नकर्ताले लामिछानेलाई कुमार पौडेलको हत्या आरोप,  भ्रष्टाचार मुद्दा लागेका व्यक्ति, गुन्डा नाइके जस्ता व्यक्तिको बारेमा फिल्म खेल्दा समाजमा कस्तो असर पर्छ भन्दै प्रश्न गरेका थिए। जवाफमा उनले विभिन्न विवादित व्यक्तिको पनि फिल्म बनेको बताए। 

‘भारतमा समेत दाउद इब्राहिम समेतको फिल्म बनेको छ। अरु पनि विवादित व्यक्तिको फिल्म नबनेको होइन। थापाको बन्दा के भयो र?’ उनले भने। 

सम्बन्धित समाचार :

२४ बैशाख, २०८१, १७:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।