प्रधानमन्त्रीद्वारा नवप्रवर्तन कोष स्थापना गर्ने घोषणा

प्रधानमन्त्रीद्वारा नवप्रवर्तन कोष स्थापना गर्ने घोषणा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने घोषणा गरेका छन्।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु भइसकेको बताए।

प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे। नवप्रवर्तन कोषको स्थापनासँगै देशभित्रै सूचना प्रविधिमार्फत अरबौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुने र युवा पुस्तालाई देशभित्रै आशा जगाउन सकिने उनको विश्वास छ।

उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि र सार्वजनिक सेवाका क्षेत्रमा पनि नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति लिइनेछ। देशभित्रै केही गर्न चाहने युवाका लागि नयाँ अवसर सिर्जना गरिने र 'स्टार्टअप कार्यक्रम'लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।

सूचना–प्रविधिलाई 'लिडिङ फ्याक्टर'को रुपमा लिएर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैलाई सूचना प्रविधिको क्षेत्रमा विकास गरी आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन अपिल गरे।

२० बैशाख, २०८१, १०:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।