तीन प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षा हुने

तीन प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षा हुने

काठमाडौं : आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदुरपश्चिम र कर्णाली प्रदेशमा बिहानैदेखि आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आइतबार राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

मधेश र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानका तथा लुम्बिनी प्रदेशको तराई भुभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। 

९ बैशाख, २०८१, ०७:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।