८० वर्षसम्म पनि नागरिकता नपाएकी नुन्दु कामी : न आफूले राज्यका सुविधा पाइन्, न छोराछोरीले नै

८० वर्षसम्म पनि नागरिकता नपाएकी नुन्दु कामी : न आफूले राज्यका सुविधा पाइन्, न छोराछोरीले नै

मुगु : उमेरले आठ दशक पुगेकी मुगुकी नुन्दु कामीले अझैसम्म नागरिकता पाउन सकेकी छैनन्। 

३५ वर्ष पहिले श्रीमान्को निधन भएपछि बोल्न नसक्ने नुन्दुले वर्षौँदेखि राज्यको निकायलाई गुहार लगाउँदा पनि नागरिकता पाएकी छैनन्।

नागरिकता नहुँदा उनले राज्यबाट पाउने सबै सुविधाबाट बञ्चित हुनुपरेको छ। उनले अहिलेसम्म न एकल महिला भत्ता पाएकी छिन्, न त बुढेसकाल लागेपछि पाउने अन्य सामाजिक सुरक्षा नै। 

उनको नागरिकता नभएकै कारण उनका छोराले पनि नागरिकले पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाउँकी नुन्दुले ३५ वर्ष पहिले नै श्रीमान् सोनाम तेन्जिङलाई गुमाइन्। उनी पहिलेदेखि नै बोल्न सक्दिनन्। उनका दुई छोरामध्ये पनि जेठा छोला शिलाजित खोज्न जाने क्रममा १८ वर्ष पहिले नै भिरबाट लडेर बिते। 

आमाकै नागरिकता बनाउन दशक देखि लागेका नुन्दुका कान्छा छोरा ३२ वर्षीय योदान ग्याम्जो कामीले नागरिकता पाउने कुरै भएन।

हाल न आमा छोराको नागरिकता छ, न त बुहारी छिमेक साग्मु कामी कै। 

नागरिकता नबन्दा राज्यले प्रदान गरेको सेवा सुविधा पाउन नसकेको ग्याम्जो कामीले बताए। 

‘म सानै छँदा बुबाको मृत्यु भयो। उहाँको पनि नागरिकता रहेनछ। पुर्खादेखि नै हामी यही थलोमा बस्दै आएका छौं। आमा बोल्न सक्नुहुन्न। बिहेपछि बुवाले न आमाको बिहे दर्ता गराएछन् न नागरिकता नै छ। अहिले नागरिकता नहुँदा हामीले जति दुख कसले पाएको होला र!’ 

ग्याम्जोले थपे, ‘हामी पढेलेखेको छैनौँ, एउटाले यो गर भन्छ अर्कोले त्यो गर भन्छ। वडादेखि माथिसम्म पुग्यौं, तर नागरिकता बनाउनै नसकेपछि बीचमा धाउनै छोड्या हुम। आमाले ८० वर्षको उमेरमा पनि नागरिकता पाइनन्। अब त बन्छ कि!’
 
उनले आफ्ना तीन बालबालिकाको समेत जन्म दर्ता गराउन नपाएको दुखेसो सुनाए। 

नुन्दुको नागरिकता नहुँदा उनले पाएको दुःखलाई स्थानीयले बुझे र हाल सदरमुकाम गमगढीमा रहेको जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि प्रहरी मुचुल्कासहित आवश्यक विवरण बुझाइएको स्थानीय सोनाम तामाङ लामाले जानकारी दिए।
 
सो बारे वडाध्यक्ष दाना साङ्ग तामाङ भन्छन्, ‘बिगतका वर्षहरूमा के के भयो मलाई थाहा भएन। तर, म वडा अध्यक्ष भएदेखि यो नागरिकताविहीन परिवारलाई जसरी पनि नागरिकता दिलाउन गहनरुपमा उहाँहरूको बारेमा हामीले बुझेर वडा र प्रहरी चौकीको सिफारिस लिएर म आफै जिल्ला प्रशासन कार्यालयमा गएको थिएँ। हामी नागरिकता दिलाउन लागिपरेका छौं।’ 

आठ दशकसम्म नागरिकताविहीन नुन्दुबारे जिल्ला प्रहरी कार्यालय, निर्वाचन कार्यालय लगायतमा भएका अभिलेखबारे अनुसन्धान गरिरहेको र सो बारे विवरण पुष्टि हुनासाथ आफूहरूले नागरिकता उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिए।

-दानबहादुर बुढा (नेपाल न्युज बैंक) 

६ बैशाख, २०८१, १९:११:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।