ब्याच नम्बर ६९ : सई सूर्यको अनौठो बानीले असम्भव कुख्यात गैँडा सिकारी समात्न सम्भव भयो
अपराध अनुसन्धान भनेको जिम्मेवारी मात्रै हैन प्यासन पनि हो। जसमा प्यासन हुन्छ नि उसले कल्पनै नगरिएको सफलता पाउँछ। मैले धेरै पटक लेखिसके, अपराध अनुसन्धानमा दर्जाले हैन धैर्य र लगनले काम गर्छ। यो घटनाले त्यसैको थप पुष्टी गर्छ।
केन्द्रीय अनुसन्धान ब्युरोमा काम गर्दा यस्तै एक सई भेटिएका थिए। अपराध अनुसन्धानमा उनमा रहेको प्यासनले असम्भव मानिएको अनुसन्धान सफल भयो।
उनी थिए सूर्य श्रेष्ठ। उनको पद सई, त्यो पनि राम्रो काम गरेको भनेर प्रहरी महानिरीक्षकले विशेष बढुवा गर्दा पाएको। नत्र मैले भेट्दा उनी असई नै हुन पनि सक्थे।
उनको बानी अचम्मको थियो। 'एस' या 'नो'मा सवाल जवाफ हुने। धेरै नबोल्ने। एक सुरले आफ्नै तालमा काम गरिरहने।
जे काम लगायो खुरुखुरु गरिहाल्थे। उनले अन्य काम के गरिरहेका छन् भन्नेमा त्यति चासो पनि भएन। आफ्नै सहकर्मीहरूसँग पनि त्यति गफ गरेको देख्दिन्थेँ म।
नेपालको वन्यजन्तु अपराधमा कहलिएको नाम राजकुमार प्रजा। उनीमाथि २० वटा गैँडा मारेकै अभियोग थियो। दुई वटा खाग विक्री गरेको अनि पाँच वटा गैँडा मार्ने प्रयास गरेको।
अदालतमा टनाटन मुद्दा थिए। केही मुद्दामा कैद सजायको फैसला भए पनि उनी कहाँ छन् कसैलाई थाहा थिएन। प्रहरीले बेलाबखत खोजेको पनि रहेछ। तर भेटिएनन् उनी।
राजकुमारको रेकर्डमा पहिलो गैँडा २०६० माघ १० मा चितवनको चप्परचुली क्षेत्रमा मारेको देखियो। अन्तिम पटक २०६७ असोज ५ गते गैँडा मारेपछि उनी भूमिगत भएको भयै भए। कहाँ छन् कुनै निकायमा जानकारी थिएन।
चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीले उनलाई पक्राउ गर्न २० पटक त घरमा छापा मारेको रहेछ। त्यति गर्दा पनि फेला नपरेको।
सिआइबीले वन्यजन्तु सम्बन्धी अपराधको अनुसन्धान गर्न अन्य शाखाजस्तै वाइल्डलाइफ क्राइमको शाखा पनि बनाएको थियो। राजकुमार प्रजाको नाममा इन्टरपोलबाट वन्यजन्तु अपराधमा रेडकर्नर नोटिस जारी गराएर विदेशतिर पनि खोजी भएकै हो। तर पुरै गायब उनी। न नेपालमा कतै देखिए न विदेशमा कुनै देशमा।
एक दिन सई सूर्य एक नम्बर बोकेर आए। नम्बर मलेसियाको थियो। उनले शङ्का गरे कतै यो नम्बर राजकुमार प्रजाको पो हो कि!
उनलाई ब्युरोले राजकुमार खोज्ने जिम्मा दिएको थिएन। तर उनी आफ्नै पाराले राजकुमारबारे स्क्यानिङ र अनुसन्धान गरेर बसेका रहेछन्। लगातार अनुसन्धान गर्दा पनि केही क्लु फेला नपरेकाले उनले मलाई पनि केही नभनेका रहेछन्।
पहिला त उनको बानी देखेर गजब लाग्यो। असम्भव ठानिएको, अब त अनुसन्धान गर्न सकिन्न भनिएका अपराधका घटनाको अनुसन्धान सम्भव बनाउने सूर्य जस्तै स्वभाव भएकाहरूले नै हो। नत्र त यहाँ जिम्मा दिएको अनुसन्धानमा पनि झारा टार्नेहरू छन्। उनले त जिम्मेवारी पनि नपाएको अनि अनुसन्धानको जिम्मेवारी नभए पनि 'यो राजकुमार गयो चैँ कहाँ?' भन्ने प्रश्नको उत्तर खोज्न आफ्नै पारामा लागेका थिए।
उनले राजकुमारसँग जोडिएका सबै पक्षको निगरानी राखेका रहेछन्। त्यहीबीचमा राजकुमारको श्रीमतीको नम्बरमा मलेसियाबाट एक कल आएको देखिएपछि उनले बल्ल आफूले राजकुमारलाई फलो गरिरहेको खुलाएर नम्बर दिए।
गजब लाग्यो सूर्यको बानी देखेर। उनले नम्बर दिए लगत्तै त्यो नेपालको इन्टरपोल शाखाबाट मलेसियामा रहेको इन्टरपोलको शाखामा यो कसको नाममा छ भनेर पठायौँ।
उताबाट तत्काल जानकारी पनि आयो' गोरखा जिल्लाका भक्तराज गिरी। वैदेशिक रोजगारीका लागि २०६७ असोज २६ मा मलेसियामा आएर ‘हो कु इलेकट्रोनिक्स’ मा काम गरिरहेको।'
विवरण उत्साहजनक आएन। तर शङ्का अझै कायमै भयो।
चितवन, कोरक गाविस कालिखोलाका प्रजा समुदायका अधिकांश वन्यजन्तु तस्करीमा जोडिएका छन्। उनीहरूको सामाजिक रहनसहन अनि सम्बन्ध आफ्नै खालको हुन्छ। परिवारका सदस्यहरू पनि त्यतै चितवनतिरनै बढी छन्।
राजकुमार प्रजा पनि त्यहीँका उनको श्रीमती त्यतै बस्ने। दाइहरू, भान्जा लगायतका परिवारका सदस्यहरू त्यतै छन्। यस्तो बेलामा राजकुमारको श्रीमतीको सम्बन्ध गोर्खाको गिरीसँग कसरी? अनि मलेसियाबाट उनलाई फोन किन?
सूर्यले राजकुमार अनि उनको श्रीमतीबारे अनुसन्धान गरिरहँदा गोर्खा अनि गिरी जोडिएकै थिएनन्। एक्कासि त्यो पनि मलेसियाबाट! शङ्का गर्नुपर्ने आधारहरू टन्नै थिए।
नम्बरको प्रयोगकर्ताको विवरण त भयो नै। एक पटक फोटो पठाएर हेरौँ भन्ने भयो। अनि प्रहरीसँग भएको राजकुमारको फोटो पठाएर 'यो मोबाइल नम्बर चलाउने र यो व्यक्ति एकै हो' भनेर पठायौँ।
उताबाट सकारात्मक जवाफसहित फ्रेस फोटो समेत पठाए। गोर्खाको भक्तराज गिरी बनेर मलेसियामा बसिरहेका नेपालको मस्ट नोटरियस क्रिमिनल राजकुमार प्रजा थिए।
त्यसबारे अझ थप विवरण माग्यौँ। उताबाट आएको जानकारी अनुसार यता खोजी गर्दा २०६७ जेठ १२ मा जिल्ला प्रशासन कार्यालय गोर्खाबाट भक्तराज गिरी बनेर नयाँ नागरिकता बनाएको खुल्यो।
त्यही नागरिकताको आधारमा उनले जेठ २० मा राहदानी बनाएका रहेछन्। अनि असोज २६ मा वैदेशिक रोजगारीका लागि मलेसिया गएर वानतिङस्थित ‘हो कु इलेकट्रोनिक्स’ मा काम गरिरहेको खुल्यो।
मलेसियाबाट गिरी भनेर विवरण आएको व्यक्ति राजकुमार भएको पक्का भएपछि तत्काल राजकुमारबारे भएका जानकारी, अदालतबाट भएका फैसला, कानुनी विवरण सङ्कलन गरेर'भक्तराज गिरी बनेर मलेसियामा बसिरहेका व्यक्ति वन्यजन्तु अपराधमा नेपालमा सर्वाधिक खोजीमा रहेका राजकुमार प्रजा हुन्' भन्ने जानकारी पठायौँ।
जानकारीसँगै उनलाई तत्काल नियन्त्रणमा लिएर नेपाल पठाउन समेत हामीले आग्रह गर्यौँ। इन्टरपोलबाट जारी हुने नोटिसकै आधारमा कुनै पनि देशले कसैलाई पक्राउ गरेर सुपुर्दगी गर्दैन। उनीहरूले कुनै कानुन उलङ्घन गरेको वा अन्य कुनै कारण देखाएर भिसा रद्द गरेर सम्बन्धित देश डिपोर्ट गरिदिने हुन्।
राजकुमार प्रजाको हकमा पनि यही मात्र उपाय थियो नेपाल ल्याउन। प्रजा विरुद्ध मलेसियाको सबैभन्दा ठुलो प्रमाण राहदानी थियो। नक्कली राहदानी प्रयोग गरेर मलेसिया आएको आरोपमा मलेसियन प्रहरीले २०७१ माघ १६ गते राजकुमारलाई नियन्त्रणमा लियो।
उनीहरूले राजकुमार नियन्त्रणमा आएको र नेपाल डिपोर्टको तयारी भइरहेको जानकारी दिए। डिपोर्टको सबै प्रक्रिया पुरा गर्न नौ दिन लाग्यो। माघ २५ गते राजकुमार नेपाल आइपुगे।
त्रिभुवन विमानस्थलमा विमानबाट उत्रिदा पुरै बाहुला भएको टिसर्ट अनि हाफ पेन्टमा पो थिए प्रजा। माघको महिना, जाडै थियो। उता मलेसियाले जस्तो अवस्थामा पक्राउ गरेको थियो त्यस्तै अवस्थामा डिपोर्ट गरेर नेपाल पठाएछ।
विमानस्थलबाट सिधै सिआइबीको कार्यालयमा ल्याएर आवश्यक सोधपुछ लगायतका काम गर्यौँ। उनी विरुद्धको अनुसन्धान लगायतका काम राष्ट्रिय निकुञ्जले नै गरिरहेकाले यताको काम सकिएपछि चितवन पठायौँ।
चितवनमा पत्रकार सम्मेलन गरेर राजकुमारलाई सार्वजनिक गरिएको थियो। पत्रकार सम्मेलन गर्दा पत्रकारले कस्तो लागिरहेको छ भनेर सोध्दा' मलाई गर्व लागेको छ, इन्टरनेसनल मान्छे भएजस्तो लागेको छ' भनेका थिए।
राजकुमार मात्रै हैन त्यो क्षेत्रका अधिकांश प्रजा समुदाय वन्यजन्तु तस्करीमा जोडिएका थिए। राजकुमारकै परिवारका सदस्यहरू अधिकांश यही अपराधमा जोडिएका थिए।
राजकुमारका चार भाइ जेठा दलबहादुर, माइला बलबहादुर, साहिँला भाइ रामकुमार गैँडा सिकारीमै जोडिएका थिए। राजकुमारको श्रीमती कल्पना र छोरा शक्ति पनि यही अपराधमा जोडिए।
यति मात्रै हैन, राजकुमारका चारै मामा पदम प्रजा, वीरबहादुर, देवबहादुर र दीपबहादुर गैँडा सिकार र खाग तस्करीमै जोडिएका थिए। भिनाजु चन्द्र प्रजा, मामाका छोरा राजकुमार, जेठान बिरबल, भान्जा बुद्धिबहादुर पनि गैँडा सिकारमै जोडिएका थिए।
यी सबैको जोड्ने हो भने उनीहरूले चितवन राष्ट्रिय निकुञ्जभित्र ५० भन्दा बढी गैँडा मारेको देखिन्छ। उनीहरूको काम भरुवा बन्दुकले हानेर गैँडालाई घाइते बनाउने वा मार्ने अनि बन्चरोले खाग काटेर लैजाने। कति क्रूर अपराध!
राजकुमारविरुद्धका मुद्धाहरु निकुञ्जसँग रहेकाले उतैबाट बाँकी प्रक्रिया अगाडि बढ्यो। सात मुद्दा छिनिसक्यो क्यार अहिलेसम्म। सबैमा भएको कैद सजाय जोड्ने हो भने ९० वर्ष कट्छ।
राजकुमार नेपालमा मात्रै हैन वन्यजन्तु चोरी सिकारीविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय समुदायमै कहिलिएका थिए। उनी पक्राउ परेको सूचना ती समुदायमा पुग्दा नेपाली प्रहरीको अनुसन्धानको खुब प्रशंसा भएको थियो। वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रशंसा पायो।
यो सबै सम्भव भएको उही सई सूर्यको अनुसन्धानको प्यासनले नै हो। यस्ता अपराधको अनुसन्धान सफल हुने प्यासनबाटै हो।
(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
वैशाख ५, २०८१ बुधबार २२:०४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।