वर्षाका कारण नेपाल र हङहङको खेल प्रभावित

वर्षाका कारण नेपाल र हङहङको खेल प्रभावित

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा नेपाल र हङकङबीचको खेल पौने १२ बजे सुरू हुने तालिका रहे पनि वर्षाको कारण टस हुन सकेको छैन।

अहिले वर्षा रोकिएसँगै खेल साढे १२ बजेबाट सुरू हुने सम्भावना रहेको ओमानबाट खेल पत्रकार सुवास हुमागाईंले जानकारी दिए।

साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो।

हङकङ भने आइतबार साउदी अरबसँग पराजित भयो। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हरायो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको थियो।

हङकङविरुद्धको टी-२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेल हङकङले जितेको छ। एक खेलमा नतिजाविहीन भएको छ।

पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

फाइनल जित्ने टोलीले आगामी वर्ष हुने एसिया कप खेल्नेछ।

३ बैशाख, २०८१, १२:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।