एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित, दीपेन्द्र सिंह ऐरीको कीर्तिमान

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित, दीपेन्द्र सिंह ऐरीको कीर्तिमान

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो। 

साविक विजेता समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो। 

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो। 

उसका लागि कप्तान मोहम्मद तनवीरले ६३ रन बनाए। त्यस्तै, मोहमद अनाफले २३, अदनान मिर्जाले १९ र ओपनर कमरान खानले १८ रन बनाए। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको थियो। 

दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदार इनिङ्स खेले। उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए। 

यो सँगै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बनेका छन्।

दीपेन्द्रअघि पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

युवराजले इंग्ल्यान्डका स्ट्रुड बोर्ड र पोलार्डले श्रीलंकाका अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए। युवराजले सन् २००७ को टी–२० विश्वकप र पोलार्डले २०२१ मा यो कीर्तिमान बनाएका थिए।

१ बैशाख, २०८१, २०:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।