एमाले-कांग्रेसको असहमतिका बाबजुद प्रधानमन्त्रीले गरे त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त

एमाले-कांग्रेसको असहमतिका बाबजुद प्रधानमन्त्रीले गरे त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्। 

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनीहरूलाई नियुक्त गरेको प्रधानमन्त्री सचिवालयले जानेको छ। 

रजिस्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन्।

सरकारले गत फागुन १० गते प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेको थियो। उनले नियुक्ति अघिदेखि नै आफूलाई टिम बनाउन दिनुपर्ने सर्त राखेका थिए।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति बरालले चैत १५ गते रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गर्ने सिफारिस गरेका थिए। 

एमाले र नेपाली कांग्रेसले दुवै जनाको नाममा असहमति जनाउँदै आएका थिए। कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले अध्यक्ष जगत तिमिल्सिना र एमाले निकट प्रगतिशील प्राध्यापक संगठनले अध्यक्ष प्राडा वेदराज केसीलाई बनाउन दबाब दिँदै आएका थिए।

तर, सिफारिस भएको लामो समयसम्म नियुक्त नभएपछि प्रधानमन्त्रीको आलोचना भएपछि उनले आज रिजाल र केसीलाई नियुक्त गरेका हुन्। 

३० चैत, २०८०, २०:३३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।