लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको पक्षमा ४८ मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको पक्षमा ४८ मत

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। 

मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन्।  

‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख घर्तीले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।’ 

मुख्यमन्त्री महरा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, एकीकृत समाजवादी पार्टीका १ र स्वतन्त्र एक सांसद गरी ४८ सांसदको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

लुम्बिनीमा मुख्यमन्त्रीमा महरा सहित एमालेका संसदीय दलका उपनेता चेत नारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिर विना विभागीय मन्त्री छन्। गठबन्धन दलभित्र सबैले आ-आफ्नो मागदाबी गरिरहेको परिस्थितिमा मन्त्रालयको भागबण्डा मिलाउनमै मुख्यमन्त्री महरालाई अप्ठ्यारो परिरहेको छ। 

३० चैत, २०८०, १६:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।