अमेरिकाले युक्रेनलाई सघाउन हतियार पठायो

अमेरिकाले युक्रेनलाई सघाउन हतियार पठायो

एजेन्सी : अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियार पठाएको छ। यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन्। 

यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो। सेनाका अनुसार यी हतियारहरू इरानले यमनका हुथी विद्रोहीहरूलाई पठाएको थियो। 

अमेरिकी नौसेनाले हजारौं असल्ट राइफल र १० लाखभन्दा बढी राउण्ड गोला बारुद बरामद गरेको छ। 

गत वर्षदेखि बाइडेन प्रशासनले जफत गरेको हतियारलाई युक्रेनी सेनालाई कानुनी रूपमा पठाउने काम भइरहेको छ। युक्रेनलाई सहयोग गर्न अमेरिकाले इरानबाट जफत गरिएका पाँच हजारभन्दा बढी एके–४७, रकेट लन्चर र हजारौं राउण्ड गोलीबारी पठाएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घोषणा गरेको छ।  

युक्रेनले रुस विरुद्धको युद्धमा हतियार र युद्ध सामग्रीको गम्भीर अभावको सामना गरिरहेको जनाइएको छ।  

युएस सेन्ट्रल कमाण्ड सेन्टकमले अप्रिल ४, २०२४ मा अमेरिकी सरकारले युक्रेनको सशस्त्र बललाई पाँच हजारभन्दा बढी एके–४७ मेसिन गन, स्नाइपर राइफल, आरपीजी–७ र ५ लाखभन्दा बढी राउण्ड गोलाबारुद हस्तान्तरण गरेको बताएको छ। 

यी हतियारहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन मद्दत गर्ने बताइएको हो।  

मे २२, २०२१ र फेब्रुअरी १५, २०२३ को बीचमा अमेरिकी सेनाले यी हतियारहरू चार वटा जहाजबाट कब्जा गरेको थियो।

२८ चैत, २०८०, २०:४०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।