अन्तिम ओभरमा २६ रन ल्याउँदा पनि हैदरावादसँग दुई रनले हार्यो पञ्जाब

अन्तिम ओभरमा २६ रन ल्याउँदा पनि हैदरावादसँग दुई रनले हार्यो पञ्जाब

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्समाथि सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित निकालेको छ।

१८३ रनको लक्ष्य पछ्याएको पावर प्लेमा दबाबमा आए पनि मिडल ओभरमा भने राम्रो प्रदर्शन गर्यो। यद्यपि जित निकाल्न भने सकेन। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनमै समेटियो।

जितका लागि अन्तिम ओभरमा २९ रन चाहिएको अवस्थामा पञ्जाबले २६ रन ल्याउन सक्यो। रोमाञ्चक अन्तिम ओभरमा तीन वाइड हुँदा पञ्जाबका ब्याट्सम्यानले तीन छक्कासमेत प्रहार गरेका थिए।

पञ्जाबका लागि अविजित रहँदै शशांक सिंह र आशुतोष शर्माले क्रमशः २५ बलमा ४६ रन र १५ बलमा ३३ रनको विस्फोटक पारी खेले।

त्यसबाहेक साम करण २९, सिकन्दर राजा २८, जितेश शर्मा १९ र शिखर धवन १४ रनमा आउट भए। जोनी बेरिस्टो र प्रभसिमरन सिंहले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमारले दुई तथा प्याट कमिन्स, नटराजन, नीतिश कुमार रेड्डी र जयदेव उनादकटले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको हैदरावादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८२ रन बनायो। उसका लागि नीतिश कुमार रेड्डीले ६४ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक अब्दुल समद २५, ट्रेभिस हेड २१, अभिषेक शर्मा १६, राहुल त्रिपाठी ११ रन बनाएर आउट हुँदा सहबाज अहमदले १४ रन बनाएर अविजित रहे।

पञ्जाबका अर्शदीप सिंहले चार विकेट लिँदा साम करण र हर्षत पटेलले समान दुई–दुई तथा कागिसो रबाडाले एक विकेट लिए।

२८ चैत, २०८०, ०७:४३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।