हिन्दु-मुस्लिम युवा समूहबीचको झडपपछि सुनसरीका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यू

हिन्दु-मुस्लिम युवा समूहबीचको झडपपछि सुनसरीका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यू

विराटनगर : सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यू जारी गरेको छ।

शुक्रबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको हो।

सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो।

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यू लगाइएको उल्लेख छ।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको भएपछि प्रहरीले ५१ राउण्ड हवाई फायर गर्नुपरेको थियो।

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए।

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यू लगाउने विषयमा छलफल भएको थियो।

त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।

हिन्दु र मुस्लिम समुदायका युवाहरूको झडपले उग्र रूप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको थियो।

दुवै पक्षको हुलका कारण कुरक्षाकर्मी पछि हट्नुपर्ने स्थितिको सिर्जना भएपछि सुनसरी प्रहरीले ५१ राउण्ड बढी हवाई फायर गरेको थियो।

भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। घाइते जीवन मेहता धरानमा उपचाररत छन्।

कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए।

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको थियो।

२३ चैत, २०८०, २०:०५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।