गीतकार भुपेन्द्र महतको हिजोका कुरा : हेलिकप्टर छुने रहरले सेनामा गए, रसिया जान जोगिए तर डिभी परेर अमेरिका लागे
काठमाडौं : २०२४ सालमा भक्तपुरमा जन्मिएका भुपेन्द्र महत पेसाले गीतकार तथा भुपु आर्मी हुन्। उनको बाल्यकाल भक्तपुरकै तत्कालीन नङ्खेल गाविसमा बित्यो।
उनी सानैबाट पढाइमा अब्बल थिए। उनले गाउँकै स्कुलमा कक्षा ५ सम्म अध्ययन गरे। त्यसपछि काठमाडौंको विश्व निकेतनमा भर्ना भएर त्यहीबाट एसएलसी परीक्षा दिए। ०४१ सालमा उनले पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे।
त्यसपछि आइए पढ्दा पढ्दै उनी नेपाली सेनामा भर्ती भए। हेलिकप्टर प्राविधिक सेनाको जम्दार भएका उनले क्याप्टेनसम्मको जिम्मेवारी बहन गरेका थिए।
नेपालमा ०४५ सालमा भूकम्प जाँदाताका उनी सेनामै कार्यरत थिए। जिम्मेवारीस्वरूप भुकम्पको उद्धारमा खटिएका उनी अन्ततः सन् २००१ मा अमेरिकाको बासिन्दा हुन पुगे। उनले आफ्नो जीवनका विभिन्न भोगाइ उकेराको कोमल हिजोका कुरामा यसरी सुनाए :
000
मेरो जन्म भएको स्थान हालको सूर्यविनायक नगरपालिका वडा नम्बर ९। त्यतिबेला नङ्खेल गाउँ विकास समितिमा पर्थ्यो। समय अनुसार नाम परिवर्तन हुँदै अहिले नगरपालिका भयो।
मेरो बाल्यकाल गाउँघरमा नै बित्यो। त्यहीँ गाउँकै स्कुल जोरपाटी निम्न माध्यमिक विद्यालयमा पाँच कक्षासम्म पढेँ। त्यसपछि विश्व निकेतन काठमाडौंको त्रिपुरेश्वरमा पढेको हो।
त्यो समयमा बोर्डिङ स्कुल भनेको हातका औँलामा गन्न सकिने थिए। बोर्डिङमा त पहुँचवालाका छोराछोरी मात्रै पढ्थेँ भन्ने सुनिन्थ्यो। अधिकांशका छोराछोरी पढ्ने भनेको सरकारी स्कुल नै थियो। अहिलेको जस्तो शिक्षाको व्यापार त्यो समयमा नहुने हुनाले पढाइ राम्रै हुन्थ्यो।
त्योबेला अधिकांश स्कुल खरले छाएका हुन्थे। टिनको छाना त विरलै पाइन्थ्यो। म पढेका स्कुल नि त्यस्तै थियो। त्यो बेलाको शिक्षा एकदमै कडा। अहिलेको जस्तो आज पढ्यो भोलि बिर्सिने खाल्को हुँदैनथ्यो।
म अहिले ५६ वर्षको भएपनि स्कुलमा पढेका पाठहरू अझै फरर भन्न सक्छु। तर अहिलेको पढाइमा त्यो दम छ जस्तो लाग्दैन।
सात वर्षको उमेरमै बुबा बितेपछि...
मेरो बुबा म सात वर्षको हुँदा बित्नुभएको हो। हामी तीन दाजुभाइमा म माइलो छोरो। बुबाले मलाई घरमा नै 'क ख, ए बि सि डी' पढाउनुभएको थियो। त्यसैले पनि होला, स्कुलमा म सधैँ पहिलो हुन्थेँ।
म पहिलो हुँदा अधिकांशले अंगेजीमा भन्न नजानेर 'फस्ट वाइ' भन्थे। उनीहरू 'ब्वाई' पनि भन्न जान्दैनथे।
हामी काठमाडौं नजिकैको बासिन्दा भए पनि आर्थिक अवस्था कमजोर नै थियो। जुत्ता हुँदैन थियो, खाली खुट्टै स्कुल जानुपर्थ्यो, पानी पर्दा छाता हुँदैन थियो, युरिया मलका खाली बोरा ओडेर स्कुल जानुपर्थ्यो। स्कुलको ड्रेस नै दसैंको लुगा थियो। यो मेरो मात्र होइन, त्यो समय अधिकांशको त्यस्तै थियो।
चामलको भात खान लालायित हुनुपर्थ्यो। किनभने गहुँको ढिँडो बाहेक अरू पाउन मुस्किल नै थियो। अनि अलिकति चामलको भात खान पाए कस्तो रमाइलो लाग्थ्यो भनेनि शब्दमा कसरी भनौं! अहिले हामी कर्णालीको कथाहरू, भिडियोहरू हेरिरहेका हुन्छौँ नि त्यही अवस्था थियो हाम्रो गाउँघरमा।
अहिले मासु खान मन लाग्यो भने जति बेला पनि पाइन्छ, त्यो समयमा चाडपर्व नै कुर्नुपर्ने। नत्र पाइँदैन थियो। बारीमा जे छ सागसब्जी त्यो बाहेक अरू हुँदैन थियो।
घरमा आगो बाल्न दाउरा पाउन मुस्किल थियो। गहुँको छ्वाली, पराल, मकैको ढोडहरू बालेर खाना पकाउने चलन थियो।
दाउरा भनेको दसैं तिहार यस्तै चाडपर्वको समयमा मात्रै बालिन्थ्यो। त्यसरी आगो बालेर खाना पकाउँदा अधिकांशको घरबाट कुइरिमण्डल धुवाँ निस्किन्थ्यो। अहिले पो मान्छेहरूले गाईवस्तु पाल्न छाडे त, त्यो समयमा हाम्रो घरमा नै थुप्रै गाईभैसीहरू पालेका थियौँ। अहिले सम्झन्छु, ती कुराहरू सपना जस्ता लाग्छन्।
स्कुल जाँदा आधा घण्टाजति लाग्थ्यो। जोरपाटीमा कुखुराको अण्डा लगायतका कुराहरू बेचेर आफूलाई चाहिने किताब कापी लगायत नुन भुटुनहरू किन्ने गरिन्थ्यो। काठमाडौंमा त्यति आइँदैन थियो।
आमाले छुवाछुत मान्नु हुन्नथ्यो
मेरो बुबा बितेको केहि महिनाअघि मात्रै मेरो जेठो दाजुले आर्मीमा जागिर खानु भएको थियो। घरको आर्थिक अवस्था कमजोर भएकाले मेरो दाजुको काँधमा सबै जिम्मेवारी आइपर्यो। हामी सानै। बुबा बित्दा आमा ४९ वर्षको हुनुहुन्थ्यो।
मेरी आमाले एक कक्षा पनि पढ्नुभएको थिएन। तर नपढे पनि आमा एकदमै शिक्षित हुनुहुन्थ्यो। ज्ञान र विवेक फरक कुरा होला, उहाँले त्यो समयमा अनपढ भए पनि जातीय छुवाछुत मान्नुहुँदैन थियो।
मलाई उहाँले भनेको एउटा कुरा अहिले पनि सम्झन्छु, जाँड रक्सी, चुरोट जस्ता कुराहरू नखा है माइला भन्नुहुन्थ्यो। बिहे जोसँग गरे पनि केही फरक पर्दैन भन्नुहुन्थ्यो। त्यति विवेकी हुनुहुन्थ्यो।
त्यति बेला जातियताको कुरा निकै उठ्ने गर्थ्यो। बिस्तारै जातका कुराहरू हराउँदै पनि जान थालेका थिए।
गरिब छु भन्ने हीनताबोध
भक्तपुरबाट पढ्नका लागि विश्व निकेतनमा आउँदाको समयमा ट्रलीबसको सुविधा थियो। सूर्यविनायकबाट त्रिपुरेश्वरसम्मको भाडा १ रुपैयाँ। यो ०३६ सालतिरको कुरा हो।
अहिले धेरैलाई एक रुपैयाँ भाडा लाग्थ्यो भन्दा अचम्म लाग्न सक्छ। तर, त्यो बेला पैसा महँगो थियो। १ रुपैयाँ पनि ठुलै रकम थियो। भक्तपुरबाट काठमाडौं आउँदा शहर आएको अनुभुती हुन्थ्यो।
सबै विद्यार्थीहरू सुकिलामुकिला भएर आउँथे। ठुलठुला घरमा बस्थेँ। त्यो बेला त हाम्रो गाउँमा घरहरू टायल, जस्तापाताले छाएको र कसैले छ्वाली हालेका हुन्थे। कमै मात्र मान्छेको निजी सवारी साधन हुन्थ्यो। अनि निकेतनमा पढ्दाको समयमा शहरका मान्छे र गाउँका मान्छेहरुबीचको विभेद देखिन्थ्यो।
म गाउँबाट आएर पढ्ने हुनाले यहाँका (शहरिया) मान्छेहरूले हेर्ने दृष्टिकोण फरक थियो। जग्गा जमिनको कुरा गर्ने हो भने त म उनीहरू भन्दा कमजोर त थिइँन। तर आर्थिक रुपमा अलिक कमजोर नै थिए।
मैले चाहेका कुराहरू तत्काल प्राप्त गर्न सक्दिनँ थिए। त्यसकारण पनि म गरिब छु भन्ने फिल हुन्थ्यो। उनीहरू धनी छन् म गरिब छु भन्ने हीनताबोध ममा पनि पैदा भइरह्यो।
चार वटा सेक्सनमा पढाइ हुन्थ्यो। एउटा सेक्सनमा ८०/९० जना विद्यार्थी हुन्थेँ। मैले यही स्कुलबाट ४१ सालमा एसएलसी फस्ट डिभिजनमा पास गरेँ। हाम्रो समयमा पढ्ने विद्याथीहरूमा केटाकेटी सराबरी नै थिए। विभेद थिएन।
अनि कलेज चाहिँ थापाथलीमा भर्ना भएँ। हामीलाई त्यो बेलामा कुन विषय पढ्यो भने के हुन्छ भन्ने नै थाहा हुँदैन थियो। इन्जिनियर, पाइलट, डाक्टर बन्छु भन्ने सबैको मुखमा हुन्थ्यो। तर कुन विषय पढ्दा के हुन्छ भन्नेमा म चाहिँ अनविज्ञ नै थिए।
लहै लहैमा लागेर अटोमेकानिकल इन्जिनियरमा पढेँ। राम्रै गर्दै थिए तर, आइएको रिजल्ट आउने बितिक्कै म आर्मीमा भर्ती भए।
हेलिकप्टर छुने उत्सुकता
निम्न परिवारको मान्छेले हेलिकप्टर छुने कुरै भएन। मैले अटोमेकानिकल इन्जिनियर पढिरहेको समयमा हेलिकप्टरको प्राविधिक मागिएको थियो। मैले पनि भरेँ। सोही समयमा जम्दारमा नाम निकालेँ र अन्तर्वार्ता पनि पास गरेर जागिर सुरु गरेँ।
हेलिकप्टर प्राविधिकमा किन प्रवेश गरेको भन्दा त्यो बेला हेलिकप्टर छुँदा कस्तो होला, के होला भन्ने उत्सुकता थियो। त्यस कारणले आ..... यसैमा हुन्छ भनेर म प्रवेश गरेको हो।
नेपालमा ०४५ सालमा ठूलो भुकम्प आएको समयमा मेरो जागिर सुरू भएको थियो। प्रवेश गर्ने बित्तिकै भुकम्प पीडितको उद्धारमा खटिएँ। हेलिकप्टरबाट राहत लिएर पूर्वको धरान, धनकुटा, हिले, पाँचथर, ताप्लेजुङ पुगेँ। किनभने त्यो समयमा भुकम्पले यो एरिया बढी ग्रस्त भएको थियो।
त्यो बेला निजी हेलिकप्टर थोरै थियो। गाडी नपुग्ने ठाउँमा हेलिकप्टरबाट नै राहत सामाग्री लैजानुपर्थ्यो। पूर्वको विराटनगरमा राहत सामाग्री राख्ने ठाउँ थियो। अनि त्यहाँबाट विभिन्न ठाउँमा लैजानुपर्ने। भुकम्पले क्षति गरेका घरहरू देखिन्थेँ। मान्छेहरूको बिजोग थियो।
आर्मीको जम्दार हुँदै यहीबाट सहसेनानीमा भिडेँ र पास भएँ। यही क्रममा मैले विभिन्न देश घुम्ने र पढ्ने अवसर पाएँ। आर्मीमा हुँदा विभिन्न कोर्स पढ्नका लागि विदेश पठाउँथ्यो।
म भारतको मद्रास,पाकिस्तानसम्म पुगेको छु। पाकिस्तान पुगेको बेला रसियाको लागि एप्लाई गरेको थिएँ। अहिले रसियाको द्धन्दग्रस्त ठाउँ छ नि, हो त्यही ठाउँमा। रसिया छुट्टिने बेलाको समय थियो। त्यसबेलाको समयमा झन् चपेटामा पनि परिन्थ्यो होला। रिजल्ट नआएको हुनाले म जोगिएँ त्यता जानबाट।
यता आर्मीमा हुने प्रतिस्पर्धामा होमिरहेँ र सहसेनानी हुँदै अधिकृतमा नाम निकालेँ। झन्डै ३० महिना तालिम गरेर अफिसर (क्याप्टेन) भएँ। पहिलो पटक भर्ना भएको ठाउँलाई आर्मीको भाषामा मदर युनिट भन्छ।
मेरो एघार बाहिनीमा भएको थियो। आर्मीमा निकै मेहनत गर्नुपर्थ्यो। तर म हेलिकप्टर प्राविधिकमा भएको हुनाले अलिक सहज थियो। त्यही क्रममा सन् २००१ मा डिभी परेर म अमेरिका हानिएँ। मेरो एक श्रीमती र दुई छोराछोरी अमेरिकामा नै छन्।
घर भक्तपुर भएकाले म चैँ बेला बेलामा नेपाल आइरहन्छु। यही मौकामा तपाइसँग भेट भयो।
गीति लेखनको यात्रा
म अमेरिकामा रहँदै गर्दा संगीतकार टीका भण्डारी मेरो साथीको घरमा आउनुभएको थियो। सोही क्रममा उहाँसँग मेरो चिनजान र भेट भयो। त्यही क्रममा मैले पनि गीत लेख्छु भन्ने कुरा गरेँ।
उहाँले मेरो गीतका शब्द रचना हेरेपछि गीत रेकर्ड गर्ने मनसायमा पुगेँ। त्यो समयमा नाम चलेका कलाकारहरुलाई गाउन लगाएर सालिन भन्ने एल्बम निकालेँ। १० वटा गीत र २ वटा गजल गरेर १२ वटा समावेश एल्बम निकालियो। त्यसमध्ये एउटा गीत ‘एक चिम्टी सिन्दुर’बोलको गीतले स्रोतामाझ परिचित गराउने कोसिस गरेको थियो।
यो गीतलाई अनामिका मल्लले गाउनु भएको थियो। त्यतिबेला कर्णदास, राजेश पायल राई लगायत थुप्रैले मेरो गीतमा स्वर भरिदिनुभएको थियो। अहिले पनि नेपाल आएको बखत रचना रिमाल लगायतका पछिल्लो समयमा चलेका गायक-गायिकाहरूले गीत गाउँदै हुनुहुन्छ।
चार पाँच वटा गीत तयार हुँदैछन्। एक साताभित्रमा बजार आउँछन् होला।
चैत २२, २०८० बिहीबार २१:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।