आइओएमका आमोद पौडेलको समकक्षता ‘नियमविपरित’, एक वर्षे डिप्लोमालाई देखाएर त्रिविबाट स्नातकोत्तर तहको डिग्री

आइओएमका आमोद पौडेलको समकक्षता ‘नियमविपरित’, एक वर्षे डिप्लोमालाई देखाएर त्रिविबाट स्नातकोत्तर तहको डिग्री

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि), चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगन्जको जनस्वास्थ्य केन्द्रीय विभागमा कार्यरत आमोद कुमार पौड्यालले नियम विपरीत शैक्षिक अध्ययनको समकक्षता लिएको देखिएको छ।

एक वर्षे ‘प्राइमरी हेल्थ केयर’ विषयमा ‘ग्राजुयट डिप्लोमा’ अध्ययन गरेका पौड्यालले सो एक वर्षे डिप्लोमालाई देखाएर त्रिविबाट स्नातकोत्तर तहको डिग्री सरहको समकक्षता लिएको देखिएको हो।

उकेरालाई प्राप्त उनको शैक्षिक विवरण अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा कार्यरत पौड्यालले सन् १९९६ देखि १९९७ मा एक वर्षे डिप्लोमा अध्ययन गरेको उल्लेख छ। सो एक वर्षे डिप्लोमालाई देखाएर स्नातकोत्तर तहको डिग्री भनेर त्रिविबाट पौड्यालले समकक्षता लिएको देखिन्छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पौड्याललाई प्रथम तह (स्नातक तह सरहको) दर्ता प्रमाणपत्र दिएको देखिन्छ।

एक बर्से डिप्लोमालाई त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री भनी समकक्षता लिएको साथै नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रथम  तह अर्थात् स्नातक तह सरहको दर्ता प्रमाणपत्र दिएको देखिछ।

एकातर्फ पौड्यालले अध्ययन गरेको विषयको दर्ता गर्ने क्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा पनि नियम विपरीत दर्ता भएको र त्रिविले समकक्षता दिँदा नियम विपरीत समकक्षता दिएको देखिन्छ।

मानविकी सङ्काय अन्तर्गत तथ्याङ्कशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन गरेका पौड्यालले डिप्लोमाको एक वर्षे ‘प्राइमरी हेल्थ केयर’ विषय अध्ययन गरेकाले त्रिविले उनलाई दिएको (स्नातकोत्तर तहको) समकक्षता नियम सङ्गत नदेखिएको त्रिविका एक जानकारले उकेरालाई बताए।

उकेरालाई प्राप्त तथ्य अनुसार पौड्यालले ‘दी युनिभर्सिटी अफ वेष्टन अस्ट्रेलिया’बाट ‘ग्राजुयट डिप्लोमा इन प्राइमरी हेल्थ केयर’ अध्ययन गरेको देखिन्छ। पौड्यालले त्रिविको पाठ्यक्रम विकास केन्द्र (करिकुलम डेभलोप्मेन्ट सेन्टर)बाट २०७५ मा समकक्षता लिएको देखिन्छ।

त्रिविले उनलाई ‘मास्टर्स डिग्री इन् रिलेभेन्ट सब्जेट (वान एयर्स)’ भन्दै समकक्षता दिएको देखिन्छ। उकेरालाई प्राप्त तथ्य अनुसार त्रिविबाट उनलाई समकक्षता दिनेमा त्रिविको पाठ्यक्रम विकास केन्द्र, ‘इक्युभ्यालेन्स सेक्सन’का तत्कालीन प्रमुख मातृका प्रसाद कोइराला थिए।

त्रिविले उनलाई दिएको समकक्षता पत्रमा नै ‘प्राइमरी हेल्थ केयर’ विषयमा एक वर्षे ग्र्याजुएट डिप्लोमा अध्ययन गरेका पौडेललाई स्नातकोत्तर तहको ‘मास्टर्स डिग्री इन् रिलेभेन्ट सब्जेट (१ यर्स)’ सरहको शैक्षिक अध्ययन मानेर समकक्षता दिएको देखिन्छ।

‘प्राइमरी हेल्थ केयर’ विषयमा एक वर्षे डिप्लोमा गरेको विषयलाई आधार मान्दै पौड्याललाई सो विषयमा स्नातकोत्तर तहको डिग्री सरहको शैक्षिक समकक्षता कसरी दिइयो भन्ने छानबिनको विषय देखिएको छ।

मानविकी तथा समाजशास्त्र शैक्षिक पृष्ठभूमि (बीए, एमए) का पौड्यालको एक बर्से प्राइमरी हेल्थ केयरको डिप्लोमालाई जनस्वास्थ्य विधाको स्नातकोत्तर डिग्री भनी दिइएको उक्त समकक्षता त्रिवि नियम अनुसार भएको देखिएन।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर डिग्रीलाई विशिष्ट र स्नातकलाई प्रथम तहमा दर्ता गर्ने गरेको छ। उकेरालाई प्राप्त तथ्य अनुसार पौड्यालले अध्ययन गरेको सो विषयको परिषद्मा ‘ग्र्याजुएट डिप्लोमा इन प्राइमरी हेल्थ केयर अफ फस्ट लेभल’ भनेर दर्ता गरेको देखिन्छ।

पौड्यालले स्वास्थ्य विज्ञानमा व्यावसायिक कोर्स एक वर्षको डिप्लोमा मात्रै गरेको प्रस्टै देखिन्छ। तर, चार बर्से स्नातक गरेपछि मात्रै नाम दर्ता गर्न पाउने प्रावधान विपरीत परिषद्ले प्रथम तहमा उनको नाम दर्ता गरेको देखिन्छ।

न्यूनतम योग्यता समेत नपुगेकै कारण नियम नै गोलमटोल बनाएर उनले समकक्षता लिएर त्रिविको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखको जिम्मेवारी पाएको देखिन्छ। पौड्यालले गत असारमा विभागको प्रमुखको चार वर्षे कार्यकाल सकेका हुन्।

पौड्यालको आफ्नो विषय र त्रिविको नियुक्ति तथ्यांकशास्त्रमा भएता पनि आफ्नो न्यूनतम योग्यता नपुग्ने थाहा हुदाँहुदै उक्त समकक्षता र परिषद् दर्ताको दुरुपयोग गरेर जनस्वास्थ्य केन्द्रीय विभागको विभागीय प्रमुख पद हासिल गरेको देखिन्छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को न्यूनतम मापदण्ड बमोजिम त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको विभागीय प्रमुखको पदमा नियुक्त हुनको लागि स्वास्थ्य विज्ञानको स्नातक डिग्री र जनस्वास्थ्य विज्ञानमा स्नातकोत्तर डिग्री गरी दुवै तहमा परिषद्मा दर्ता हुन पर्ने देखिन्छ।

तर,पौड्यालको स्नातक र स्नातकोत्तर दुवै डिग्री मानविकी र समाज शास्त्रमा भएको देखिन्छ।

डिन भन्छिन्थाहा छैनपौड्यालले कुरै गर्न चाहेनन्

यस विषयमा जानकारीका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा.दिव्या सिंह शाहलाई सम्पर्क गर्दा उनले पौड्यालले समकक्षता लिएको जानकारी भए पनि अन्य विषय थाहा नभएको बताइन्।

‘समकक्षता त पाएर उहाँले काम गर्नुभएको हो,त्यो त मलाई जानकारी छ,’डिन डा. शाहले भनिन्,‘अन्य विषयमा मलाई थाहा छैन।’

यस विषयमा जानकारीका लागि उकेराकर्मीले पौड्यालसँग सम्पर्क गर्दा उनले फोनमा कुरा गर्न चाहेनन्। तपाईँले लिएको समकक्षताको समस्या के हो? भन्ने विषयमा पौड्यालले भने,‘फोनमा लामो गफ गर्ने भन्दा पनि भेटेरै कुरा गरौँला नि।‘

२२ चैत, २०८०, १५:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।