रेशम चौधरीको धम्की : 'सुदूरपश्चिम सरकार ढल्यो भने चारैजनाको हत्या पनि हुनसक्छ'

रेशम चौधरीको धम्की : 'सुदूरपश्चिम सरकार ढल्यो भने चारैजनाको हत्या पनि हुनसक्छ'

काठमाडौं : सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो। केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरे।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो।

उनले भने, 'मिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ। पार्टीका अध्यक्ष (रञ्जीता श्रेष्ठ चौधरी)ले बोलाएपछि हामी जम्मा हुँदै थियौँ। पाँच जना संस्थापन सदस्य त्यहाँ उपस्थित भयौँ। कसले आक्रमण गरेको हो भन्ने रेशम दाइलाई थाहा होला।'

कुटपिटको कारण भने सुदूरपश्चिम सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे केन्द्रीय सदस्यहरूले राखेको मत रहेको बताइएको छ।

केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि संरक्षक चौधरीले नै कुटेको आरोप लगाए।

आजै एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संरक्षक चौधरीले आफूहरू प्रधानमन्त्री भेट्न बालुवाटार जान्छौं भन्दा कुट्ने र हत्या गर्ने धम्की दिएको बताए।

उनले भने- 'गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ। त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँ (रेशमलाल चौधरी)ले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छौँ भन्नुभएको थियो।  त्यसो भन्दा हामीले विरोध गर्यौँ।'

टीकापुरका मेयर थारू, टीकापुर -४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर -५ का वडाअध्यक्ष बलवीर चौधरी समेत उपस्थित रहेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य विश्वकर्माले संरक्षक चौधरीले यसअघि २५/२५ हजार रूपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको आरोप लगाए।

उनले भने, 'उहाँ (रेशमलाल चौधरी)ले यहाँभन्दा अगाडि २५/२५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ, अवैधानिक पत्र दिएर तीनलाई केन्द्रीय सदस्य त बनाउनुभयो। निर्वाचन आयोगमा अद्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गरे।'

विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए।

उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए।

'हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर-४ र वडा-५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ। उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने- यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,' विश्वकर्माले भने।

उनले नेता चौधरीले आफूले आवेशका बोलेको भन्दै माफी मागेको समेत बताए।

उनले पार्टीका नेताहरूको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

उनले थपे- 'हामी चार जना मात्रै नभई संस्थापक केन्द्रीय अध्यक्षसहित २१ जनाको यदि कसैले कुटपिट गर्यौ, कुनै दुर्घटनामा मृत्यु भयो या कुनै समूहले हत्या गर्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी हिजो बोलेको वक्तव्य अनुसार रेशम चौधरीले लिनुपर्छ।'

१९ चैत, २०८०, १६:३२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।