नौ दिने चीन भ्रमण सकेर स्वदेश फर्किँदै उपप्रधानमन्त्री श्रेष्ठ

नौ दिने चीन भ्रमण सकेर स्वदेश फर्किँदै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : चीनको नौ दिने औपचारिक भ्रमण सकेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्।

उपप्रधानमन्त्री श्रेष्ठ बिहान ११ बजे छेन्दुबाट सिचुवान एयरलाइन्सको बी-६४२२ विमानबाट स्वेदश फर्किने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

बेइजिङमा रहँदा श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए।

यसै दौरान उनले चीनकै दक्षिण पश्चिमी शहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए। 

मन्त्री श्रेष्ठले चीनको सिजाङ स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल-चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरे।

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो। भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु पुगेका मन्त्री श्रेष्ठले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा लगानीका लागि आग्रह गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख  एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, मन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी छन्।

मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा गएका थिए।

१९ चैत, २०८०, ०८:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।