सानिमा बैंकको लापरबाही : फरक-फरक फोटो दिँदा पनि केवाईसी प्रमाणित गरेपछि ठगिए दुई सय सर्वसाधारण

सानिमा बैंकको लापरबाही : फरक-फरक फोटो दिँदा पनि केवाईसी प्रमाणित गरेपछि ठगिए दुई सय सर्वसाधारण

काठमाडौं : रामेछाप घर भएका राजन श्रेष्ठले नारायण बहादुर राईको नाममा सानिमा बैंक बानेश्वर शाखामा खाता खोली ठगी गरेको खुलेको छ।

केवाईसी फारममा आफ्नो र नागरिकतामा नारायण बहादुर राईको फोटो राखी श्रेष्ठले बैंकमा खाता खोलेका हुन्।

केवाईसी फरम र नागरिकतामा रहेको फोटो अलग-अलग हुँदा समेत बैंकले प्रमाणित नै नगरी खाता खोलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार राईको नाममा रहेको उक्त खाता जापान जान चाहने मानिसहरूबाट रकम जम्मा गर्नका लागि श्रेष्ठले नै खोलेर चलाउने गरेका थिए।

राजन श्रेष्ठले नारायण बहादुर राईकै नागरिकता प्रयोग गरि नियोनी एजुकेशन कन्सलटेन्सी प्रालि दर्ता गरी सञ्चालन गरेको र सो कन्सल्टेन्सीमार्फत दुई सयभन्दा बढी व्यक्तिलाई ठगी गरेको खुल्न आएको हो।

अनुसन्धानबाट सेवाग्राहीलाई प्रतिव्यक्ति ४ देखि ७ लाख रुपैयाँसम्म लिएको खुल्न आएको छ। श्रेष्ठले फेसबुक मार्फत विज्ञापन गरेर सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।

अहिलेसम्म यो कन्सलटेन्सीले दिप बहादुर तामाङ मार्फत १३ जनाबाट ३७ लाख, सुनिल कुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख लिएको खुलेको छ।

राजन श्रेष्ठविरुद्ध वैदशिक रोजगार विभागमा पनि उजुरी परेको प्रहरीले बताएको छ। माथि उल्लेख गरिएकाबाहेक करिब १ सय जनाको २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको भनी विभागमा उजुरी परेको प्रहरीले जनाएको छ।

नागरिकता धनी नारायण बहादुर राई भने पठाओ चालक हुन्। उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन्।

वैशाख २१, २०८१ शुक्रबार १४:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।