आईपीएल : धोनीले १६ बलमा ३७ रन हान्दा पनि जित्न सकेन चेन्नई, जारी सिजनमा दिल्लीको पहिलो जित

आईपीएल : धोनीले १६ बलमा ३७ रन हान्दा पनि जित्न सकेन चेन्नई, जारी सिजनमा दिल्लीको पहिलो जित

काठमाडौं : डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई २० रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ।

जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा १ सय ७१ रनमा समेटियो।

दुवै ओपनरलाई तेस्रो ओभरभित्र गुमाएको चेन्नई त्यसपछि खेलमा फर्कन सकेन। कप्तान ऋतुराज गैक्वाड र रचिन रविन्द्र दुवै खलिल अहमदको बलमा क्याच भए।

तेस्रो विकेटका लागि अजिंक्य रहाणे र डेरील मिचेलले ६८ रनको साझेदारी गरे। मिचेल ३४ रन जोड्दै आउट भए। रहाणे  ४५ रन जोडेर पेभेलियन फर्किए।

शिवम दुवेले १७ बलमा १८ रन जोड्दा युवा ब्याटर समिर रिज्भी पहिलो बलमै आउट भए। तीनै विकेट मुकेश कुमारको नाममा रह्यो।

महेन्द्रसिंह धोनी १६ बलमा ३७ रन जोड्दै अविजित रहँदा रविन्द्र जडेजा २१ रनसहित नटआउट रहे।

त्यसअघि कप्तान ऋषभ पन्त र ओपनर डेविड वार्नरको अर्धशतकमा दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो।

वार्नर र पृथ्वी शाले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए।

शाले ४३ रन बनाए भने वार्नर ५२ रन बनाउँदै आउट भए। ऋषभले ५१ रनको योगदान गरे। मिचेल मार्श १८, अक्षर पटेल ७ र अभिषेक पोरेलले ९ रन जोडे।

चेन्नईका मथिसा पथिरानाले ३ तथा रविन्द्र जडेजा र रहमानले १-१ विकेट लिए।

यससँगै चेन्नईको ३ खेलमा ४ अंक छ भने दिल्लीको ३ खेलमा २ अंक भएको छ। आइतबार नै भएको खेलमा सनराइज हैदरबादलाई गुजरात टाइटन्सले ७ विकेटले हरायो।

प्रतियोगिता अन्तरगत आज मुम्बई र राजस्थान खेल्नेछन्। दुई खेल जितेको राजस्थानको चार अंक छ भने दुवै खेल हारेको मुम्बई तालिकाको पुच्छारमा छ। 

१९ चैत, २०८०, ०७:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।