आईपीएल : घरेलु मैदानमा बेंग्लुरुमाथि कोलकाताको दबदबा

आईपीएल : घरेलु मैदानमा बेंग्लुरुमाथि कोलकाताको दबदबा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ। शुक्रबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंग्लुरुलाई उसकै घरेलु मैदानमा सात विकेटले पराजित गरेको हो।

टस हारेर पहिला व्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनायो। जवाफी ब्याटिङमा आएको कोलकाताले तीन विकेट गुमाएर १६.५ ओभरमा लक्ष्य पूरा गर्यो।

बेंग्लुरुका कप्तान फाफ डु प्लेसिस जम्मा ८ रन बनाएर आउट हुँदा विराट कोहली र क्यामन ग्रीन मिलेर पारी सम्हालेका थिइ। यी दुई खेलाडीले ४२ बलमा ६५ रनको साझेदारी गरे।

दोस्रो विकेटको रूपमा ग्रीन २१ बलमा ३३ रन बनाएर आउट भए। उनी आउट हुँदा आरसीबीले नौ ओभरमा ८२ रन बनाएको थियो। एक छेउमा डटेका कोहलीलाई साथ दिन ग्लेन म्याक्सवेल क्रिजमा आए। दुई पटक जीवनदान पाएका म्याक्सवेलले १९ बलमा २८ रनको जोडेर आउट भए।

त्यसपछि रजत पटिदार र अनुज रावत समान तीन-तीन रनमा आउट भए। अन्त्यमा विराट कोहली र दिनेश कार्तिकले बेंग्लुरुको स्कोर १८२ रन पुर्याए। कार्तिकले ८ बलमा २० रन बनाउँदा तीन छक्का प्रहार गरे। उनी अन्तिम बलमा रनआउट भएका थिए।

उता, विराट कोहलीले भने ५९ बलमा चार छक्का र चार चौकाको मद्दतले ८३ रनको नटआउट पारि खेले।

कोलकाताका हर्षित राणा र आन्द्रे रसेलले समान दुई-दुई विकेट लिए।

१८३ रनको लक्ष्यसहित मैदान उत्रिएको कोलकताले उत्कृष्ट सुरुवात गर्यो। पहिलो विकेटका लागि फील साल्ट र सुनिल नारेनले ८६ रनको साझेदारी गरे। केकेआरले ६.३ ओभरमा सुनिल नारेनलाई गुमाएको थियो। उनी २२ बलमा ४७ रन बनाएर पभेलियन फर्किए।

त्यसपछि फिल साल्ट दोस्रो विकेटको रूपमा आउट भए। उनले २० बलमा ३० रन बनाउँदा दुई-दुई चौका र छक्का प्रहार गरे।

बेंकटेश अय्यरले ३० बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा कोलकाता जित नजिक पुगेको थियो। उनलाई कप्तान श्रेयस अय्यरले साथ दिए। बेंकटेश आउट हुँदा १५.१ ओभरमा केकेआरले १६७ रन बनाएको थियो।

त्यसपछि श्रेयस र रिंकु सिंहले कोलकातालाई सहज जित दिलाए। श्रेयसले २४ बलमा ३९ रनको नटआउट पारी खेल्दा दुई चौका र दुई छक्का प्रहार गरे। रिंकु सिंह ५ रनमा नटआउट रहे।

बेंग्लुरुका यस दयाल, मयंक डागर र बिजयकुमारले समान एक-एक विकेट लिए।

जारी प्रतियोगितामा कोलकाता लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा रहेको छ। यसैगरी बेंग्लुरु भने तीन खेल खेल्दा दुई हार व्यहोरेको छ।

आईपीएल अन्तर्गत आज लखनऊ सुपर जायन्टस र पञ्जाव किंग्स भिड्दैछन्। लखनऊ पहिलो जितको खोजीमा हुँदा पञ्जाब दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

१७ चैत, २०८०, ०७:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।