‘अनुगमनको नाममा पटक-पटक परीक्षा केन्द्रमा जाने नगर्नु’

‘अनुगमनको नाममा पटक-पटक परीक्षा केन्द्रमा जाने नगर्नु’

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा(एसईई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ।

बिहीबारदेखि सुरु भएको यो वर्षको एसईई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परीक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको हो।

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक-पटक धेरै संख्यामा मानिसहरु अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ।

‘प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारीक पदाधिकारीहरू बाहेकका अन्य अनुगमनकर्ता र पर्यवेक्षकहरू समूहगत रूपमा र धेरै संख्यामा पटक-पटक परीक्षा अनुगमनमा जाने कार्य नगर्नु’ कायम मुकायम परीक्षा नियन्त्रक नन्दलाल पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरू भएको थियो।

चैत २७ गते सम्पन्न हुने परीक्षामा सहभागी हुन सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए।

परीक्षाको दोस्रो दिन आज परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा दिएका छन्।

१६ चैत, २०८०, १०:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।