उत्तरपुस्तिका हराएकोबारे सत्यतथ्य छानबिन गर्न नेविसंघको माग

उत्तरपुस्तिका हराएकोबारे सत्यतथ्य छानबिन गर्न नेविसंघको माग

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

एक विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरू पटक-पटक देखा पर्दै आएको भन्दै समाधानको माग गरेका हुन्।

त्रिविको बीए र बीएड संकायको प्रथम वर्षको जनसंख्या विषयका केही उत्तरपुस्तिकाहरू हराएपछि अहिले त्रिवि टक अफ दि टाउनको विषय भएको छ। तर, त्रिविले भने यसबारेमा कुनैपनि प्रतिक्रिया दिएको छैन।

पछिल्लो समय त्रिवि राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको रणमैदान बनेको भन्दै नेवि‌संघले राज्यसत्तामा बसेकाहरूले पटक-पटक गरेका गैरप्राज्ञिक गैरप्राज्ञिक गतिविधिले यस्तो अवस्था आएको बताएको छ।

नेविसंघले भनेको छ ‘सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वविद्यालयमा दलीय भागवण्डाको अन्त्य हुने र उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नै नियुक्त हुने आश्वासन समेत जनाउनुभयो। तर नियुक्त गर्दा बैमानीपूर्ण ढंगबाट दलीय स्वार्थ बोकेका व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नुभयो। रजिस्ट्रार र रेक्टर नियुक्ति प्रकियालाई पारदर्शी बनाउनु पर्ने सट्टामा उपकुलपतिले सीमित स्वार्थका लागि दलीय भागवण्डालाई नै प्रश्रय दिइरहेको देखिएको छ।’

उत्तरपुस्तिका हराएको र पुनः परीक्षा सञ्चालन गर्न त्रिविले सूचना निकालेकोप्रति आपत्ति जनाउँदै नेविसंघले भनेको छ ‘उक्त विषयमा छानबिन गरी दोषीलाई कारबाहीको सिफारिस समेत भइसकेको तर अहिलेसम्म पनि कारबाहीको कुनै पनि प्रक्रिया उपकुलपति कार्यालयले नचालेको अवस्था छ। यसका कारण उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरूले गुमाउनुपरेको १ वर्षको महत्त्वपूर्ण समय र मानसिक असरको जिम्मा त्रिभुवन विश्वविद्यालयले लिनुपर्छ।’

१६ चैत, २०८०, ०९:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।