निर्माणको ६२ वर्षपछि बुटवल-गोरुसिंगे सडक स्तरोन्नति हुँदै, स्थानीय भन्छन्- ‘बुटवललाई घेराबन्दीमा नपारियोस्’

निर्माणको ६२ वर्षपछि बुटवल-गोरुसिंगे सडक स्तरोन्नति हुँदै, स्थानीय भन्छन्- ‘बुटवललाई घेराबन्दीमा नपारियोस्’

बुटवल : पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक खण्ड स्तरोन्नति हुँदैछ। डिपिआर निर्माण सकिएसँगै निर्माणका लागि पहिलो खण्डको निर्माणका लागि टेण्डर समेत आह्वान भइसकेको छ।

विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर (नेपाली ३५ अर्ब रुपैयाँ) उपलब्ध गराउने सम्झौता भएसँगै यो सडक खण्डको स्तरोन्नति हुन लागेको हो।

पहिलो खण्डका लागि आह्वान गरिएको बोलपत्रमा पहिलो प्याकेजको कामका लागि भारत र चीनका कम्पनीहरूसँग मिलेर २२ वटा नेपाली निर्माण व्यवसायी कम्पनीहरूले आवेदन दिएको बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक आयोजनाले जनाएको छ।

सार्वजनिक खरिद नियमावली अनुसार ५ अर्ब रुपैयाँसम्मको ठेक्कामा मात्र नेपाली कम्पनीले आवेदन दिन पाउँछन्। त्योभन्दा बढी लागतका ठेक्कामा नेपाली कम्पनीले अन्तराष्ट्रिय कम्पनीसँग ‘जेभी’ का रूपमा सहभागी हुनुपर्छ।

त्यसैले भारत र चीन लगायतका देशसँग ‘जेभी’ अर्थात जोइन्ट भेन्चर गरेर नेपाली निर्माण कम्पनीले आवेदन दिएको आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठले बताइन्।

पहिलो प्याकेजलाई दुई वटा खण्ड गरेर टेण्डर आह्वान गरिएको हो। उनका अनुसार पहिलो खण्डका लागि १२ र दोस्रो खण्डका लागि १० वटा कम्पनीले आवेदन दिएका छन्।

अहिले आवेदक कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्ने काम भइरहेको र दुई हप्ताभित्र ठेक्का टुंगो लाग्ने उनको भनाइ छ। ठेक्का सम्झौतामा तीन वर्षभित्र सडक निर्माणको काम पूरा गर्ने गरी सम्झौता तयार गरिएको छ।

पहिलो बुटवल-गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे-चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम हुनेछ।

हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर चार लेनको बनाइनेछ। जंगल क्षेत्रमा २४ मिटर र सहरी क्षेत्रमा ५० मिटरको सडक निर्माण हुनेछ। यस परियोजना अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि कपिलवस्तुको चन्द्रौटासम्मको अधिकांशका खण्ड जंगल क्षेत्रमा पर्छ।

बुटवलको तिनाउ खोला पुलपारीदेखि मैनावगर जाने प्रहरी बिटबाट यसको सुरुवाती विन्दु हुनेछ। सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठूला सवारी चलाउन पनि सहज हुने अपेक्षा गरिएको छ। यस सडक भएर दैनिक हजारौं सवारीसाधनहरू ओहोरदोहोर गर्छन्।

सडक स्तरोन्नतिसँगै बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आँकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माण गर्ने सडक कार्यालयको तयारीे छ। तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा निर्माण शुरु भएको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो।

तत्कालीन राजा महेन्द्र शाहले भारत, रुस र बेलायतको सहयोगमा पूर्वपश्चिम राजमार्ग निर्माण गरेका थिए। सोही कारण सडकको नामाकरण समेत महेन्द्र राजमार्ग राखिएको थियो।

बुटवल-नारायणगढ सडक जस्तै हुने चिन्ता
अहिले बुटवल-नारायणगढ सडक निर्माणधीन अवस्थामा छ। समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा सवारीहरू थोत्रा त बनेका छन् नै सवारी चालकहरू आजित भइसकेका छन्। सडक किनारका कतिपय स्थानीयहरू त विस्थापित नै भइसकेका छन्। ११४ किलोमिटर सडक पार गर्न अहिले साढे ४ घण्टा लाग्छ।

लामो समयसम्म सडक नबनेपछि ठेकेदार कम्पनी र सरकारको समेत आलोचना भइरहेको छ। बुटवल-नारायणगढ सडक निर्माण भएकै अवस्थामा बुटवल-गोरुसिंगे सडक भत्काउने भएपछि स्थानीयमा सडक समयमै बन्नेमा शंका उब्जिएको छ।

बुटवल-गोरुसिङ्गे सडक

‘बुटवलबाट नारायणगढ सडक समयमा नबन्दा धेरै यात्रुले दुःख पाएका छन्। फेरि बुटवल-गोरुसिंगे सडक भत्काएपछि पश्चिमको यात्रा गर्दा पनि हैरानी हुनेछ’, बुटवल तामनगरका स्थानिय विनोद आचार्यले भने।

उनले एकतर्फी काम सम्पन्न भएपछि मात्र अर्को तर्फको काम गरेमा मात्र यात्रुलाई सहज हुने भन्दै एकै पटक सडक नभत्काउन आयोजनासँग आग्रह गरे।

बुटवल उद्योग वााणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवल-नारायणगढ सडकको काम सम्पन्न नहुन्जेल पश्चिम तर्फको बुटवल-गोरुसिंगे सडक स्तरोन्नति गर्न नहुने बताए।

‘बुटवल-नारायणगढको बाटो पूर्ण रूपमा नबन्दै पश्चिमको बाटो बनाए बुटवल बन्द हुने अवस्थामा पर्छ,’ उनले भने, ‘बुटवल घेराबन्दीमा पर्छ।’

उनले बुटवलका जनप्रतिनिधि, सांसद र सरोकारवालाहरूले बुटवल-नारायणगढ सडक निर्माण पूरा गरेर मात्र बुटवल-गोरुसिंगे सडक बनाउन दवाव दिनुपर्ने बताए।

‘यदि पूर्वको बाटो नबनाइ पश्चिमतर्फको बाटो बनाउन थालेमा पश्चिमका व्यापारीहरू बुटवल आउँदैनन्, नेपालगञ्ज जान्छन्,’ उनले थपे, ‘त्यसैले बुटवलको बजारलाई कसरी बचाइराख्ने हो। त्यो सोचेर सडक निर्माण वा स्तरोन्नति हुनुपर्छ।’

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सडक स्तरोन्नतिका क्रममा तिनाउ पुलबाट आवतजावत रोकिने भएकाले बाइपासको रूपमा देवीनगर-बुद्धनगर, मगरघाट पुलको प्रयोग गर्ने गरी अघि बढेको बताए। उनले समयमै सडक निर्माण हुनुपर्नेमा जोड दिए।

१६ चैत, २०८०, ०८:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।