गीतकार बसन्त वित्यासीको हिजोका कुरा : एल्बम निकाल्न म्युजिक कम्पनीको गुलामी गर्नुपर्थ्यो, ढोगेको ढोग्यै गर्नुपर्थ्यो
उमेरले ५३ वर्ष लागेका बसन्त वित्यासी थापाले गीत लेख्न थालेको चार दशक बितिसक्यो। गीतकार संघका अध्यक्ष समेत रहेका उनले गीत लेखन कार्य अहिले पनि निरन्तरता दिइरहेका छन्।
तनहुँको म्याग्दे-७ अर्चलेमा जन्मिएका उनले २०४७ सालमा पहिलो पटक गीत रेकर्ड गरेका थिए। त्यसपछि आफ्नै लगानीमा ‘प्रतिबिम्ब ३’ अविरल एल्बम प्रकाशित गर्दै गीतहरूलाई स्रोतामाझ पुर्याउने काम गरे। पहिलो गीतमार्फत चर्चा पाइरहेका थापाका त्यो समय अहिले जस्तो सहज थिएन।
गीत रेकर्डका लागि केही निजी रेकर्डिङ स्टुडियो भए पनि खचाखच भीड हुन्थ्यो। रेडियो नेपाल नै विकल्पका रूपमा थियो। गीत रेकर्ड गराउनका लागि अनिवार्य सेन्सर पास गर्नुपर्थ्यो। सेन्सर पास भएको लामो समयपछि मात्र रेकर्ड हुन्थ्यो।
गीत रेकर्डपछि एल्बमका लागि म्युजिक कम्पनीका मालिकको गुलामी गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनी सम्झन्छन्। घर परिवारमा सबै लाहुरे भएकाले उनलाई पनि लाहुरे बन्न दबाब नआएको कहाँ हो र? तर उनले बुवाआमाको सुनेनन् र लेखनमा लागे।
गाउँकै स्कुलमा एसएलसी दिएपछि पोखराको पृथ्वी नारायण क्याम्पसमा आइए सम्मको अध्ययन गरेका उनी काठमाडौंलाई अहिले पनि कर्मथलो बनाइरहेका छन्। आफू स्कुल पढ्दाका समयमा स्कुल जाने विद्यार्थी पाउनै मुस्किल रहेको सम्झना उनलाई अझै ताजै छ।
त्यो समयमा स्कुल जानुभन्दा गोठालो र खेतिपातीमा मान्छेहरू लाग्ने गर्थे। तर उनको परिवारले भने उनलाई पढाए। उनै थापाले आफूले देखेभोगेका केही अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’लाई यसरी सुनाए।
स्कुलमा विद्यार्थी नै हुँदैनथे
म तत्कालिन पञ्चायत र पछि गाविस मन पाङ्गमा जन्मिएको हुँ। मेरो समयमा स्कुल पढ्न जानेहरू कमै थिए। म मध्यम परिवारको भएको हुनाले म लगायत केहि साथीहरू भने स्कुल जाने गथ्यौँ। हामी स्कुल जाँदा विद्यार्थीहरू एकदमै न्यून हुन्थेँ।
अलि-अलि हुने खानेले मात्रै छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता राख्थेँ। नत्र पढ्न भन्दा पनि गोठालो र खेतिपातीकै काममा जोड दिन्थे। नजिकैकौ स्कुल प्राथमिक थियो। तीन कक्षासम्म। त्यसपछि अर्को स्कुल जानुपर्थ्यो डेढ घण्टाको बाटो हिँडेर। त्यो समयमा छोरा मान्छे त स्कुल जाँदैन थिए भने छोरी मान्छेलाई झन् पठाउने कुरै भएन।
त्यो समय हरेक घरका मान्छेहरू खेती किसानीमा ध्यान नदिए खान नपाउने अवस्था थियो। गाईवस्तु धेरै हुँदा कोही गोठालो जाने त, कोही घर घन्दाको काममा नै व्यस्त हुन्थेँ। त्यहि भएर होला छोराछोरी पढाउनुपर्छ भन्ने उहाँमा चेतनाको कमी थियो।
हाम्रोमा चाहिँ हजुरबुवादेखि बुवा अनि दाजुहरू सबै लाहुरे हुनुभयो। उहाँहरूले मलाई पढाउनुपर्छ भन्ने चेतना आएकाले होला, स्कुल पठाउनुभयो। घरको त्यति काम मैले गर्न परेन। नजिकैको प्राथमिक स्कुलमा पढेपछि मेरो अध्ययन शुरु भयो। त्यहि भएर मैले ४२ सालमा मैले थर्पुमा रहेको मिन माध्यमिक विद्यालयबाट एसएलसी दिएँ र पास पनि गरे।
यो स्कुल पृथ्वी राजमार्गले छुन्छ। त्यतिबेला एसएलसी दिँदाको रौनक नै बेग्लै थियो। मलाई लाग्छ, म नै त्यो वार्डको एसएलसी दिने पहिलो व्यक्ति हुँ। त्यो भन्दा अघि हाम्रो वार्डबाट एसएलसी दिएको खासै सुनिएको थिएन। त्यस्तो थियो जमाना।
स्कुल भएको ठाउँ थर्पुमा हाम्रो घर गाउँका मान्छेहरूका लागि मरमसला, सरसमान किन्ने बजार थियो। मेला भर्न जाने भन्ने हुन्थ्यो। किनभने त्यो बेला अहिलेको जस्तो जताततै बजारहरू थिएनन्। केहि किन्नुपर्यो कि लामो यात्रा गरेर त्यहिँ सामान किन्न जानुपर्थ्यो।
विशेष गरि यो ठाउँमा चार्डपर्वका बेलामा बजार लाग्ने गर्थ्यो। त्यहाँ मेला महोत्सव हुने गर्थेँ, लोक गीत गाउने, जुहारी खेल्नेदेखि लोक सांस्कृतिक झल्काउने काम गरेको देखेँ। आधुनिकता थिएन, एकदमै मौलिक थियो। झ्याउरे, कौडा, ठाडो भाका, रोधी लगायतका भाकाहरू खुब चल्थे। तर, आधुनिक गीतहरू भने न सुनिन्थ्यो, न बजाइन्थ्यो। लोकगीत बाहेक अरु गीतसंगीतको बारेमा अत्तोपत्तो हुँदैनथ्यो।
त्यो समयमा रेडियो नेपाल सुन्ने चलन थियो। त्यहाँका कतिपय कार्यक्रममा पत्रमित्रता चल्थ्यो। अहिलेका पुस्तालाई यो कुरा सायदै थाहा होला। अनि कतिपय गीतहरू, कविताहरू पनि हुलाकमार्फत पठाई माग्थेँ। मैले धेरै पटक त्यसरी हुलाकमा गएर आफूले लेखेको गीत, कविताहरू रेडियो नेपालमा पठाउँथे।
थुप्रै जिल्लाका मान्छेहरूले पठाउँथे। कहिले मेरो पत्र पुग्ला र वाचन होला भनेर रेडियो अधिकांश समय सुनिन्थ्यो। जुन दिन मेरो कविता, लेख वाचन हुन्थ्यो। त्यसपछि म औधि खुशी हुन्थेँ। सबैले मेरो तारिफ गर्नुहुन्थ्यो। त्यसैको हौसलाले मलाई गीतकार बनायो भन्दा पनि हुन्छ। रेडियोले कविता वा गीत वाचन गरेपछि सबैतिर चर्चा हुन्थ्यो।
लाहुरे परिवारमा लाहुरे नै बन्नुपर्छ भन्ने सोच
म मध्यम परिवारमा जन्मिएको। मेरो घरपरिवारका सबैजसो इन्डियन र ब्रिटिस आर्मी थिए। मेरो बुवा, बाजे, बराजु अनि दाइहरू पनि लाहुरे नै हो। चार दाजुभाइमा म साइँलो। मेरा दुवै दाइ अनि कान्छो भाइ आर्मी नै हुन्। अहिले त अवकाश पाए। कान्छो भाइ धनबीर थापा गीत लेखनमा समेत लागेको छ।
मलाई पनि बुवाआमा अनि काकाहरूले लाहुरे बन्नुपर्छ भनेर निकै फोर्स गर्नुभएको थियो। उहाँहरू जुन पेशामा लाग्नुभएको थियो छोरो पनि आफ्नै पेशामा आओस् भन्ने चाहना राख्नुभएको थियो। मेरो घरमा मात्रै होइन, हाम्रो गाउँका अधिकांश मान्छेहरू लाहुर जाने चलन थियो। जुन अहिले पनि निरन्तर नै छ।
मेरो परिवारका अधिकांश लाहुरे हुँदा मेरो सोचाइ फरक भयो। लाहुरे भन्दा पनि गीतसंगीतमा नै ढल्कियो। त्यता मेरो मनै जान खोजेन। बुबा, दाजु र काकाहरूले सैनिकका लागि कति सोर्सफोर्स गर्नुभो भनेर साध्य छैन। म पनि सैनिकमा लागेको भए यतिबेला अवकाश पाइसक्थेँ होला। महिनामा पेन्सिन थाप्न जान्थेँ होला। तर, खै त्यो बेलामा मनमा गीतकार बन्छु भन्ने हुटहुटी जाग्यो।
अहिलेको देशको अवस्था देख्दा म किन लाहुरे बनिनँ भन्ने पनि लाग्छ। बनेको भए हुने रैछ भन्ने कुराहरू यतिबेला सोचिँदो रहेछ। मान्छेको स्वभाव हो, कहिलेकाँही थुक्क थैया त हुन्छ नै। मान्छेहरूलाई भौतिक सुविधाहरूको पनि आवश्यकता छ।
हिजोको दिनमा एउटा सम्बन्ध, चिनजानको हिसाबले बाच्न सकिन्थ्यो भने अहिले त्यो अवस्था रहेन। अहिले मान्छेहरू स्वार्थमा होमिए। कसैलाई केहि सहयोग गरेबापत उबाट के पाउने र पाउँछु भन्नेमा मान्छेहरू लागेका छन्। त्यो समयमा मैले थाहा पाउँदा त्यस्तो थिएन।
बल्ल-बल्ल गीत रेकर्ड गरेपछि म्युजिक कम्पनीलाई ढोग्नुपर्थ्यो
मैले पृथ्वी नारायण क्याम्पसको अध्ययन सकेपछि गीत रेकर्डका लागि काठमाडौं आउने हुटहुटी चल्यो। अनि ४६ सालतिर काठमाडौं आएर ४७ सालमा पहिलो पटक गीत रेकर्ड भयो। त्यो अरूले कै लगानीमा रेकर्ड भएको थियो।
त्यसपछिका गीतमा आफ्नै लगानीमा गीत रेकर्ड गरेँ। त्यसपछिका अधिकांश गीतहरूमा मेरै लगानी रहेका छन्। अहिलेसम्म मैले ७ वटा एल्बम निकाली सकेँ। त्यो बेला एल्बम निकाल्दा अत्यधिक दुःख पाइन्थ्यो। अहिलेका कलाकारहरूलाई एउटा गीत निकाल्यो युट्युबमा हाल्यो, चल्यो भने ठिकै छ नचले अर्को।
त्यो समयमा गीतको क्यासेटको चलन थियो। गीत रेकर्डिङ स्टुडियो निजीमा थोरै मात्रामा थिए। त्यहाँ नपाए रेडियो नेपालमै पालो कुर्नुपर्थ्यो। त्यहाँ बल्लतल्ल पालो पाएर गीत रेकर्ड गरायो, अब बजार व्यवस्थापनका लागि कम्पनी चाहिन्थ्यो। म्युजिक कम्पनीहरूले नयाँ मान्छेको क्यासेन्ट नै लिन नमान्ने। गुलामी गर्नुपर्ने, ढागेको ढोग्यै गर्नुपर्ने।
त्यति गर्दा पनि कहाँ गीत लिन्थेँ र! आधा एल्बम आफैँले किन्नुपर्थ्यो। त्यस्तो अवस्था थियो। पुराना र चलेका कलाकार भए फ्याट्टै एकै वचनमा लिन्थेँ, उनीहरूले उल्टै एल्बम किनिदिन्थे। तर, नयाँलाई पेल्थेँ।
मैले पनि धेरै पटक त्यस्तो भोगेपछि आफैँले म्युजिक कम्पनी खोलेँ र धेरैलाई सहयोग गरेँ। किनभने मैले जस्तो दुःख नव-कलाकारहरूले नभोगुन् भनेर। म आफैँले पनि लगानी गरिदिन्थेँ। किनभने म त्यसबेला पर्यटन सम्बन्धी जागिर खान्थेँ। त्यहि पैसा गीतसंगीतमा खन्याएँ।
चैत १५, २०८० बिहीबार १४:०६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।